८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

रविको स्पष्टोक्ति: ‘सहकारी ठगीमा संलग्न छैन, गोरखा मिडियाको खर्चको जिम्मा लिन्छु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको पुष्टि संसदीय छानबिन समितिले नै गरेको बताएका छन्।

मंगलबार साँझ फेसबुक लाइभमा बोल्दै लामिछानेले समितिको सिफारिसलाई कार्यान्वयन गर्न तयार रहेको उल्लेख गर्दै, गोरखा मिडियामा आफू कार्यरत रहँदा आएको रकम खर्चको जिम्मेवारी भने लिन तयार रहेको बताए।

लामिछानेले भने, "मैले सहकारीबाट कुनै ऋण लिएको छैन, त्यसैले म निर्दोष ठहर भएको छु। यस विषयमा अब थप बोल्न आवश्यक छैन। तर, कार्यालयमा आएको रकम खर्चबारे कानूनी कारबाही हुनुपर्छ भने, म त्यसका लागि तयार छु।"

उनले सहकारीको रकम अन्य सञ्चारमाध्यमहरूमा पनि गएको खुलासा भएको उल्लेख गर्दै ती संस्थाहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे।

साथै, लामिछानेले पूर्व डिआईजी छविलाल जोशीलाई आफूलाई फसाउनकै लागि पक्राउ गरिएको आरोप लगाए। उनले जोशीलाई आफ्नो पक्राउ सुनिश्चित गर्न नै पक्राउ गरिएको दाबी गरे।

लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा थप कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

साथै, उनले दशैंको समयलाई लक्षित गरेर आफूलाई काठमाडौं सुनसान हुँदा पक्राउ गर्न खोजिको आशंका समेत व्यक्त गरे। "मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन। प्रमाणले देखायो भने म तयार छु, तर छलछाम स्वीकार्य छैन," लामिछानेले थपे।

उनले विगतमा प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको भन्दै सत्यलाई राजनीतिक सत्तासँग मिलाएर तोडमोड गर्न नसकिने बताए। "सत्तापक्ष र प्रतिपक्षको सिट फेरिए पनि सत्य फेरिंदैन, अन्याय गर्न पाइँदैन," उनले भने।

लामिछानेले आफूलाई समर्थन गर्न आएका मानिसहरूलाई भिडको संज्ञा नदिन आग्रह गर्दै भने, "उनीहरू भिड होइनन्, शुभचिन्तक हुन्। अन्याय हुँदा जनताले स्वत: बोल्छन्, मैले अपिल गरेको होइन।"

साथै, उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम गएको प्रतिवेदनमा उल्लेख भएको बताउँदै यो विषयमा मौनता साँधिएको आरोप लगाए। आफूलाई मात्रै टार्गेट गर्न खोजिएकोमा उनले असन्तुष्टि व्यक्त गरे।

प्रकाशित: ८ आश्विन २०८१ १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App