१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

वन्यजन्तु आरक्षभित्र शिव धाम, दर्शनार्थीकाे भीड

वीरगंज– साउन महिनाको अन्तिम सोमबार पर्सा वन्यजन्तु आरक्षको बिच भागमा पर्ने भाठा धाम भनिने दुग्धेश्वरनाथ महादेवको दर्शनका लागि लाखौं दर्शनार्थीहरुको भीड लागेको छ। साउनभरी अनावरत चल्ने भाठा मेलामा अरु दिनहरुको तुलनामा दर्शनार्थीहरुको भिड अन्तिम सोमबार अत्याधिक रहेको मेला समितिका विगा महतोले बताए। भगवान शिवको पूजा आरधना गर्ने विशेष महिना भएकोले भक्तजनहरुको भीड लागेको हो।

साउनमा रामभौरी भाठास्थित दुग्धेश्वरनाथ महादेवको दर्शन र पूजाआजाको विशेष महत्व हुने बताइन्छ। भारतको सीमावर्ती राज्य बिहारबाट र नेपालकै बारा र पर्साबाट दर्शनार्थीहरु यस मेलामा सहभागी हुने आउने गरेका छन्। चुरे पहाडको डाँडामाथि रहेका दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा दर्शन गर्दा मनोकामना पूरा हुने उनीहरु बताउँछन्। चुरेको फेद र चारकोसे झाडी बीचको घाँसे मैदानको फाँटमा लाग्ने मेलामा भारतीय दर्शनार्थीहरुको आकर्षण बढ्दै गएको आरक्ष नजिकका गाँउका स्थानीय बासिन्दाको भनाइ छ।

दुग्धेश्वरनाथ महादेवको मन्दिर कति पुरानो हो भन्ने कुराको प्रमाणिकता नभए पनि बाजे पुस्ताका स्थानीहरुले आफ्ना पुर्वजबाट यसको महिमा सुन्दै आएको भन्दै निकै पहिला ‘गोठालाहरुले यो पवित्र स्थान पत्ता लगाएको’ बताउँछन्। आरक्षको जंगल र चुरेको फेदमा छँदा आउने साउने झरीमा रुझेपछि दर्शनार्थीहरु आनन्द मान्ने गर्छन्। स्थानीय चलन अनुसारको नाँच, परम्परागत बाजा, भजन किर्तन् र चारैतिर वनभोजको माहोलले यहाँको रमझम बढाएको हुन्छ।

साउन महिनामा नेपाल र भारतका गरी लाखौं मानिस दर्शनका लागि आएको रामभौरी भाटालाई तराई पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिए पनि यसलाई व्यवस्थित र व्यवसायिक लाभ हुने किसिमको पर्यटकीय गन्तव्य बनाउन सकिएको छैन। भाठाको व्यस्थापनका लागि कुनै किसिमको सरकारी कार्यक्रम पनि छैन्। योजनाबिहीन रुपमै बिकसित हुँदै गएको भाठा भने दुग्धेश्वर माहादेवको दर्शनको लागि भीड अत्याधिक संख्यामा ओइरिने गरेको छ। ‘यसमा ७० प्रतिशत जती भारत बिहारबाट आएका श्रद्धालु हुन्छन्,’ सोनवर्षाका प्रकाश थारुले भने, ‘उनीहरुलाई यहाँको जंगल र पहाडको मनोरम दृष्यले पनि तानेको हो।’

पर्या पर्यटनको दृष्टिकोणले नेपालकै प्रमुख मध्येको गन्तव्य बनाउन सकिने भनिएको भाठाको मेलाले गर्दा पर्सा व्न्यजन्तु आरक्षको पर्यावरणमा भने असर पुग्ने गरेको समाजिक अभियानकर्ता धिरज गुप्ता बताउँछन्। ‘यस ठाँउको विकासका लागि राम भौरी भाठासँग आफैमा प्रचुर साम्भाव्यता छ’, यहाँको पर्यटन पवद्र्धनका लागि अवाज उठाउँदै आएका उनले भने, ‘स्थानीय समुदाय यस अवधारणासँग काम गर्न तयार छ, एउटा बृहद योजना सरकारी स्तरबाट नै बन्नु पर्दछ।’ भौदौ २ गते तिथि (चन्द्रमास) अनुसारको शुक्ल पक्ष पूर्णिमाका दिन साउन महिना सकिएको भोलिपल्ट यो वर्षेनी मेला पनि सकिन्छ।

 

प्रकाशित: ३१ श्रावण २०७३ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App