६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साम्पाङलाई सयवटा रुद्राक्षका बिरुवा

नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुँदै छ। फिल्मको प्रचारका लागि निर्माण र कलाकार समूह देश दौडाहामा छन्।

फिल्ममा हास्य अभिनेता जितु नेपाल ह्यारीको भूमिकामा छन् भने अभिनेत्री साम्राज्ञी हिरोइन प्यारीको भूमिकामा छिन्। यो फिल्मको प्रचार गर्दै धरान आइपुगेको सो समूहले बिहीबार फरक शैलीमा प्रचारको काम गर्‍यो। कलाकार साम्राज्ञी, जितुसँगै कलाकार विजय वराल, निर्देशक डा. कपिल रिजाल, फिल्मका लेखक तथा कार्यकारी निर्माता सुदीप बराल बिहानै श्रम संस्कृति पार्कमा पुगे। त्यहाँ उनीहरूसँगै मिसिए क्याप्टेन तथा कलाकार विजय लामा, चर्चित मोडल एलिशा राई र निर्देशक मिलन चाम्स।

सुनसरीको झुम्कामा आयोजित आदिवासी चलचित्र महोत्सवमा सहभागी हुन आएका क्याप्टेन लामा, मेडल राई र निर्देशक चाम्स पनि मेयर हर्क साम्पाङ भेट्न बिहानै श्रम संस्कृति पार्कमा पुगे। कलाकारको टोलीले मेयर साम्पाङसँग भेट मात्र गरेनन्, वृक्षरोपण अभियानमा समर्थन जनाउँदै एक सयवटा रुद्राक्षका बिरुवा पनि प्रदान गरे। ह्यारी की प्यारीका कार्यकारी निर्माता बरालले मेयर साम्पाङको कामलाई सम्मान गर्दै रुद्राक्षका बिरुवा प्रदान गरिएको बताए। निर्देशक रिजालले माया के हो र कर्तव्य के हो भन्नेमा आधारित भएर राम्रो फिल्म बनाएको बताए। ‘मेयर साबले जुन काम गरिरहनु भएको छ, अत्यन्तै राम्रो छ। यहाँ आउँदा साना बिरुवा देख्यौं, हामी नरहे पनि यी रुख रहन्छन्, त्यसैले उहाँलाई के दिऊँ ? भन्दा रुख उपहार दिने कुरा भयो,’ उनले भने। नायिका साम्राज्ञीले मेयर साम्पाङको राम्रो कामलाई सहयोग गर्न आएको भन्दै माघ २० गते रिलिज हुने फिल्म हेरिदिन र नेपाली फिल्मलाई माया गर्न सबैलाई आग्रह पनि गरिन्।  

नेपाल वायुसेवाका क्याप्टेन तथा कलाकार विजय लामाले देश बनाउन ठुलो योजना, ठुलो भाषण र कार्यक्रम चाहिँदैन भन्ने प्रमाणित मेयर साम्पाङले गरिरहेको बताए। ‘सानो तर प्रबल इच्छा र सत्यतामा आधारित सोच राख्यो भने हुँदो रहेछ, जनताले विकास चाहन्छन्, सत्य चाहन्छ भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘नेपाली चलचित्रलाई माया गरिदिनुस्, सबैलाई यही आग्रह गर्छु।’ निर्देशक मिलन चाम्सले पनि नेपाली फिल्मलाई माया गरिदिन आग्रह गर्दै ह्यारी की प्यारी चलचित्र धेरै उत्कृष्ट बनेको बताए।

मेयर साम्पाङले जनताको समस्या (खानेपानी) लाई मुख्य अजेन्डा बनाएर आएको भन्दै जहिल्यै पनि काम गरिरहनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। ‘श्रम गरेर काम ग¥यौं, यसका केही फाइदा छन्। श्रमदान हुँदा समाज बनाउँदै छांै। अर्को, सरकारको मुख ताकेर मात्र विकास हुँदैन, आफैंले पनि गर्नुपर्छ भनेर देखाएका छौं। रेडबुकमा परेको योजनाबाहेक श्रमदान गरेर काम गर्दा छिटो पनि सकिएको छ। तेस्रो फाइदा शारीरिक श्रम गर्दा स्वास्थ्य पनि राम्रो हुन्छ,’ उनले भने, ‘फिल्म राम्रो र सन्देशमूलक बनेको छ भन्ने अपेक्षा लिएको छु। सफलताको शुभकामना पनि दिन्छु।’

प्रकाशित: ६ माघ २०७९ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App