२०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासि दुर्घटना भएको थियो।
यो घटना भएको लगभग २४ वर्ष पुगिसकेको छ। त्यस बखत जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।
क्याप्टेन सुरेन्द्र बहादुर चन्द्र, सह पाइलट हरि बहादुर मल्ल, निरविक्रम शाही, भृकुटी खाँण ठकुरी लगायत ५ जनाको उक्त दुर्घटनामा मृत्यु भएको जुम्लीको मानसपटलमा अझै पनि ताजै छ। सो दुर्घटनापछि जुम्ला विमानस्थलको स्तरोन्नति हुन सकेको छैन्। विमानस्थल स्तरोन्नति चुनावीका एजेन्डा बने तर विमानस्थल बन्न सकेको छैन।
चुनावी एजेन्डा बनाउनेहरू मन्त्री सम्म बने, आश्वासन दिए, तर विमानस्थललाई नयाँ स्वरूप दिन सकेनन्। दशक बितिसक्दा पनि जुम्लाको दुर्भाग्य, विमानस्थले अवसर लिन पाएकाे छैन्। अहिले विमानस्थलमा भने नियमित उडान हुँदै आएको छ।
त्यसपछि २०६३ साल असार ७ गते यति एरलाईन्सको टुईनेटर विमान दुर्घटना हुँदा चालक दलका ३ जनासहित ८ जनाको मृत्यु भएको थियो।
सुर्खेतबाट जुम्ला उडेको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो। ०६३ यता १६ वर्ष बित्दा पनि विमानस्थल सुधारको लागि मेसो अगाडि बढेन्। पछि २०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाको लागि उडेको तारा एयरको नाइएन एइभी विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो।
विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने पुरै ध्वस्तै भएको थियो। जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु विमान दुर्घटनाको मुख्य कारण रहेको जुम्लाका वरिष्ठ पत्रकार नवराज शाहीको भनाइ छ।अहिलेसम्म भएका ३ वटा विमान दुर्घटनाबाट १३ जनाले ज्यान गुमाइ सके पनि सरकारको आँखा भने जुम्ला विमानस्थल सम्म पुग्न सकेको छैन्।
जुम्लीले नेपाल सरकारलाई अर्जुन दृष्टि लगाइ दिन अनुरोध गर्दै आइरहे पनि माग सम्बोधन नभएको नागरिक समाजका जुम्लाका संयोजक राजबहादुर महतले गुनासो गरे। नेकोन विमान दुर्घटना भएको माघ ३ गते मंगलबार २४ वर्ष पुरा भयो।
पत्रकार नवराज शाहीले भन्छन् 'मैले २०५५ सालमा विमान दुर्घटनाको रिपोर्टिङ गरेको थिए। त्यसपछि विमानस्थल स्तर वृद्धि गर्ने, नियमित उडान गर्ने भनिए पनि विमान दुर्घटनाको साढे दुई दशक बित्दासमेत समस्या ज्युँका त्युँ छन्।'
जुम्ला विमानस्थलकाे स्तर वृद्धि गर्न स्थानीय नेतादेखि मन्त्रीसम्मले आश्वासन दिए पनि हालसम्म कुनै सुधार नभएको शाहीको गुनासो छ। २०५५ सालमा जुम्लामा भएको नेकोन एयरको दुर्घटनामा परी स्वर्गीय क्याप्टेन सुरेन्द्र बहादुर चन्दकी श्रीमती पाइलट सन्जु खतिवडाको समेत आइतबार पोखरामा भएको विमान दुर्घटना मृत्यु भयाे।
जुम्ला विमानस्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बनाउन चालु आवमा नेपालका सात विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना अनुसार जुम्ला विमानस्थलमा पनि सुविधायुक्त टर्मिनल भवन निर्माण हुने विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए।
उनले भने 'जग्गा अभावका कारण विमानस्थल स्तर वृद्धि सम्भव छैन, विमान स्थल स्तर वृद्धि आवश्यक छ, तर लगानी छैन।'
उनका अनुसार तत्काल २०५३ सालमा निर्माण भएको जीर्ण टर्मिनल भवन भने निर्माण हुनेछ। टर्मिनल भवन निर्माणका लागि १ करोड बजेट विनियोजन भएको उनले सुनाए। अहिले दिनमा मुस्किलले दुई, नत्र एक उडान मात्र हुने गरेको उनको भनाइ छ। तारा, समिट, नेपाल एयरलाइन्स, सिता लगायतका विमानले उडान भरिरहेका छन्।
बर्सेनि दसैँ, तिहारमा पूर्वतिर विमान उडान गर्दा जुम्लामा ठुलो सास्ती हुँदै आइरहेको पाइन्छ। यात्रुको चाप, भविष्यमा हुन सक्ने विमान दुर्घटना मध्यनजर गर्दै विमानस्थल स्तर वृद्धिको पहलकदमी हुन आवश्यक छ।
वर्षौँदेखि विमानस्थल स्तर वृद्धिको कुरा चले पनि पूर्णता पाउन नसक्नुमा मुख्य समस्या बजेट अभाव हुने गरेको सुनिन्छ। विमानस्थल प्रमुख अधिकारीले तत्कालका लागि सर्वसाधारणलाई राहत दिन नियमित उडानमा जोड दिन जरुरी रहेको र विमानस्थल स्तर वृद्धि पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
प्रकाशित: ५ माघ २०७९ १०:१५ बिहीबार