४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय तहबाट क्षतिको विवरण नआउँदा लागत उठाउन समस्या

विपदमा पूर्ण क्षति भएका घरहरूलाई राहत दिन ढिलाइ भएको छ। कालिकोटका नौवटै स्थानीय तहले विपद्बाट पूर्णरूपमा क्षति भएका घरहरूको पूर्ण लागत विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको हो।

असोज १९ देखिको अविरल वर्षापछिको पहिरोले नौवटै स्थानीय तहमा गरी ६ सय ३२ घर पूर्णरूपले भत्किएका छन्। ७ सय ३२ घरमा आंशिक क्षति पुगेको छ। पहिरोले ७ सय ३८ घर अझै उच्च जोखिममा छन् भने ४ सय २९ घर जोखिममा छन्। पहिरोले पूर्ण क्षति भएका यी घरहरूको विस्तृत विवरण स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिमा अझसम्म पठाएका छैनन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले पटकपटक विवरण पठाउन भन्दै ताकेता लगाउँदा पनि स्थानीय तहले अहिलेसम्म विवरण पठाएका छैनन्। नागरिकको हरेक दुःखमा साथ दिने बाचा खाएका जनप्रतिनिधिले चार महिनासम्म पनि आफ्नो पालिकाको विवरण पठाएका छैनन्। जिल्ला विपद् व्यवस्थापन समितिको कात्तिक ४ मा बसेको बैठकले मंसिर १४ मा क्षति भएका घरहरूको पूर्ण विवरणसहितको फाइल मंसिरभरि पठाउन पहिलो पत्र पठाइयो। विवरण नआएपछि पुस १४ मा पुस महिनाभरि पठाउन भनेर फेरि ताकेता पत्र पठाइयो तर पनि आएन। पुस २६ मा विपद् व्यवस्थापन समन्वय समितिले फेरि निर्णय गरेर माघ १० भित्र त्यो फाइल नपठाउँदा लाभग्राही कायम गर्न समस्या भएको छ।

पालिकाले समयमै पूर्ण विवरणसहित फाइल नपठाउँदा लाभग्राही कायम गर्नसमेत समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। घरहरू भत्किएको तीन महिना बितिसक्दा पनि कालिकोटका स्थानीय तहले वास्ता गरेका छैनन्।

बेमौसमी वर्षाले जिल्लालाई नै अस्तव्यस्त बनायो। पहिरो नगएको ठाउँ नै थिएन। स्थानीयका घर, जग्गा, सडक, खानेपानी केही बाँकी रहेनन्। असोज १९ देखिको अविरल वर्षापछिको पहिरोले पूर्ण क्षति भएका घरहरूको लगत विवरण उठाउन स्थानीय तहले ढिलाइ गरेका छन्।

५१ बस्ती जोखिममा

असोजको पहिरोले नौवटै स्थानीय तहका ५१ वटा बस्ती जोखिममा छन्। सबैभन्दा नरहरिनाथका १३ बस्तीका पाँच सय बढी घर पहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिका तिलागुफा छ। तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती पहिरोको जोखिममै रहेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। रास्कोटका ११, सान्नीत्रिवेणीका ७, तिलागुफाका ७, खाँडाचक्रका ७, शुभकालिकाका ४, महाबैका ५, पचालझरना र पलाँताका सातवटा बस्ती पहिरोको उच्च जोखिममा छन्। ती बस्तीका नागरिक बेलुकी पानी परेका बेला घरमा बस्न सक्ने अवस्था छैन। कतिपय पाल टाँगेर बस्ने गरेका छन् भने कतिपय आफन्तका घरमा सुत्न जान्छन्।

पहिरोमा घर क्षति भएका केही परिवारलाई सरकारले हेलिकोप्टरमार्फत पाल, खाद्यान्नलगायत सामग्री झारे पनि धेरैले पाएका छैनन्। जिल्ला प्रशासनले स्थानीय तहबाट सिफारिससहित कागजात आएकालाई बैंकमार्फत नगद दिने गरेको छ। बेमौसमी वर्षापछि आएको पहिरोले तिलागुफामा १९ सहित २४ को मृत्यु भएको थियो। तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए। अन्य ठाउँमा पाँचजनाको मृत्यु भयो। हालसम्म सातजनाको शव भेटिए पनि १६ जना अझै बेपत्ता छन्।

प्रकाशित: ५ माघ २०७९ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App