१६ चैत्र २०८० शुक्रबार
समाज

भूकम्पीय जोखिम नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास

नमुना अभ्यासका लागि तैनाथ नेपाली सेना, सशस्त्र, प्रहरी र रेडक्रसकर्मीहरू। तस्विरः महेश्वर।

सम्भावित विपतबाट बँच्ने उपायबारे उदयपुरमा नमुना अभ्यास गरिएको छ। विभिन्न किसिमका विपत्मध्ये भूकम्पबाट हुने धनजनको क्षति रोक्ने उपायबारे बुधबार सदरमुकाम गाईघाटमा नमुना अभ्यास (सिमुलेशन) प्रदर्शन गरिएको हो। 

जिल्ला विपत् व्यवस्थापन कार्यालय उदयपुरले ‘२५ औँ भूकम्प दिवस’ को अवसर पारेर नमुना अभ्यास प्रदर्शनीको आयोजना गरेको हो। गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालय प्राङ्गणमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपथ प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीले नमुना प्रदर्शन गरेका थिए। भूकम्पबाट जोगिने तरिका, घाइतेको उद्धार, उपचार सेवा र अन्य विपत् न्यूनीकरणका गतिविधि नमुना अभ्यासमार्फत देखाइएको थियो।

नमुना अभ्यासको क्रममा विद्यालयको खेलमैदानसँग जोडिएको अग्लो भवनको ४ तलमाथि भूकम्पले भत्केको घरमा चेपिएका स्थानीयलाई उद्धार गर्ने अभ्यास देखाइयो। सशस्त्र प्रहरीले डोरीको सहारामा ४ तलामाथि चढेर च्यापिएका घाइतेलाई डोरी र अन्य उपकरणको सहयोगले उद्धार गरी मैदान झारेर एम्बुलेन्स चढाई अस्पताल लगेको दृश्य समेटिएको थियो। विपत्का बेला उद्धारको तयारी, उद्धार कार्यमा खट्ने निकाय र परिचालन हुने कर्मचारीको जानकारी तथा विपत्को सामना गर्ने तरिकाबारे पनि नमुना अभ्यासको क्रममा जानकारी गराइएको थियो।

नमुना अभ्यास कार्यक्रमको क्रममा त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले उदयपुर भूकम्पको उच्च जोखिम क्षेत्र भित्र पर्ने भन्दै त्यसबाट बचाउन आवश्यक जनशक्ति र प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताए।

विपत्का घटना हुनु पूर्व जानकारी नहुने र कुनै पनि बेला आइपर्नसक्ने भएकाले बचाउ र उद्धारमै मुख्य तयारी हुनुपर्ने उनको भनाइ थियो। नगरबासीलाई विपत्बाट बचाउन आवश्यक उद्धार टोली र सचेतना अभियान चलाउने काम गर्ने प्रतिबद्धता मेयर बस्नेतले जनाए।

कतिपय वडा र बस्तीहरू अझै सडक सञ्जालले नजोडिएकाले विपत् आई पर्दा उद्धार र उपचारमा खट्न सक्ने अवस्था नभएको भन्दै उनले त्यस्ता ठाउँहरूमा छिट्टै सडक सञ्जालले जोड्ने योजना रहेको बस्नेतले सुनाए।

विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नेपाल यसअघिका पटक पटकका भूकम्पबाट धेरै क्षति बेहोरिसकेको देश भएकाले अव हुने सम्भावित भूकम्पमा क्षति हुन नदिन नमुना अभ्यास गराइएको बताए।

क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न र विपत्को सामना गर्ने तरिकाबारे जनचेतना जगाउनु महत्त्वपूर्ण ठानेर यो प्रदर्शनी गरिएको उनले बताए। भूकम्पसँगै अन्य दैविक विपत्तिबाट बाँच्न पनि प्रतिकार्य योजना निर्माण गरेर अघि बढ्न आवश्यक रहेको सिडिओ गौतमले बताए।

घर बनाउँदा गुणस्तरीय सामग्रीको प्रयोग गरी बलियो र भूकम्प प्रतिरोधी प्रविधि अपनाएर बनाउन सके भूकम्पबाट मानवीय र भौतिक दुवै क्षति धेरै कम गर्न सकिने उनले बताए। उनले विपत्का बेला जतिसक्दो छिटो उद्धार कार्य गर्नुपर्नेमा जोड दिँदै त्यसो गरे मात्र क्षति न्यूनीकरण गर्न सकिने बताए।

विपत्बाट बाँच्न र बँचाउन सुरक्षा निकाय जहिल्यै तैनाथ बस्ने भए पनि अन्य निकायहरू पनि चनाखो र सतर्क भएर बस्नुपर्ने खाँचो औँल्याए। यसका लागि स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक समाजको विशेष भूमिका हुनुपर्नेमा उनको जोड थियो।

जिल्ला विपत् व्यवस्थापन समिति उदयपुरले ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरेको नमुना अभ्यास कार्यलाई जिल्ला प्रहरी, पशुपतिप्रसाद गण, हुरेन्डेक, जाल्पा एकीकृत विकास समाज, वल्र्डभिजन इन्टरनेशनल र नेपाल रेडक्रस सोसाइटीले साझेदारी गरेका थिए। सशस्त्र प्रहरी बल, नेपाल ५ नम्बर गण हेडक्वार्टर त्रियुगाले कार्यक्रमको संयोजन गरेको जनाइएको छ।

प्रकाशित: ४ माघ २०७९ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App