इटहरी– सुनसरीको लौकहीबाट आइतबार राति इटालियन पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतबाट फर्कंदै गर्दा प्रहरीले इटहरी वडा नं. २१ का ३७ वर्षीय छेदनलाल चौधरी र ३९ वर्षीय अरविन्द चौधरीलाई पक्राउ गरेको हो। जनपथ र सशस्त्र प्रहरीको संयुक्त टोलीले छेदन र अरविन्दलाई इटालियन पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद घिमिरेले बताए। उनका अनुसार अरविन्दले चलाएको को ७ प ६४१७ नम्बरको मोटरसाइकलको सिट मुनी लुकाई राखेको अवस्थामा पेस्तोल फेला परेको थियो।
प्रहरीले को ७ प ६४१७ र को ४ प ४७७३ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको छ। सुनसरीमा २०७२ साउनदेखि अहिलेसम्म ७ वटा हातहतियार तथा खरखजाना ऐनमा मुद्दा चलाइएको छ।
प्रकाशित: २४ श्रावण २०७३ १३:५६ सोमबार