१६ चैत्र २०८० शुक्रबार
समाज

विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा भएको विमान दुर्घटनामा निधन भएको छ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटीआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा ३७ वर्षे पत्रकार सदस्य पौडेलको निधन भएको हो।

२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा काम गरेका पौडेलले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका थिए। अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक र सम्पादकका रूपमा कार्यरत थिए।

पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ। पत्रकार पौडेलको निधनको शोकमा नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले छुट्टा छुट्टै शोक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन्। केन्द्रीय महासचिव रोशन पुरीले पौडेलको निधनमा एक दिन कार्यालय बन्द गर्ने र १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको उल्लेख गरेका छन्।  

त्यस्तै, प्रतिष्ठान प्रदेश समितिका महासचिव रामकुमार शाहीले पनि शोक विज्ञप्ति जारी गर्दै प्रतिष्ठान शाखा कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्न अनुरोध गरेका छन्। साथै, नेपालमा पटक पटक हुने यस्ता दुर्घटनाको सरकारले केवल छानबिन आयोग बनाउने तर हवाई सुरक्षामा ध्यान नदिने र समयक्रमसँगै बिर्सिने गरेको स्मरण गराएका छन्। दुर्घटनाको छानविन गर्न आयोग गठन गरेर 'झारा टार्ने' काम मात्र नगर्न सरकारलाई आग्रह गर्दै भनेका छन्,‘हवाइ सुरक्षाका लागि विशेष ध्यान दिन र नागरिकको जिउधनको सुरक्षामा पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं।’

प्रकाशित: १ माघ २०७९ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App