१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

शिक्षित आमाका नानीको सिकाइ उपलब्धि राम्रो

काठमाडौं- आमा शिक्षित भए उनका नानीहरुको सिकाइ उपलब्धि राम्रो भएको तथ्यांकले देखाएको छ। शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले डेढ वर्ष लगाएर कक्षा ३ र ५ का विद्यार्थीमाझ गरेको अध्ययनले आमा शिक्षित भएका परिवारका नानीको सिकाइ उपलब्धि राम्रो भएको देखाएको हो।

केन्द्रले देशभरिका २३ जिल्लाको १ हजार ५ सय ४२ स्कुलको कक्षा ३ र ५ का विद्यार्थीको सिकाइ उपलब्धिको अध्ययन गरेको थियो। सन् २०१५ मा गरिएको अध्ययनले कक्षा ३ र ५ गरी कुल ७३ हजार ८ सय ७८ विद्यार्थीको सिकाइ उपलब्धिबारे परीक्षा नै सञ्चालन गरेको थियो।

कक्षा ३ का ३३ हजार ८ सय ६३ विद्यार्थीमा नेपाली र गणित विषयको सिकाइ उपलब्धिबारे परीक्षा लिएरै अध्ययन गरिएको थियो भने कक्षा ५ को कुल ४० हजार १५ विद्यार्थीमा नेपाली, गणित र अंग्रेेजी विषयमा सिकाइ उपलब्धि परीक्षण गर्दा आमाको शैक्षिक स्तर बढ्दै जाँदा नानीको सिकाइ उपलब्धि राम्रो पाइएको उपसचिव गोपालप्रसाद भट्टराईले बताए।

कक्षा ३ र ५ मा सञ्चालित विद्यार्थी सिकाइ उपलब्धि राष्ट्रिय परीक्षण २०१५ ले देखाएअनुसार नेपाली विषयमा सिकाइ उपलब्धिको राष्ट्रिय कक्षा ३ मा ५२ र कक्षा ५ मा ४६ प्रतिशत रहेको छ। गणितमा कक्षा ३ मा ४५ र कक्षा ५ मा ४८ प्रतिशत मात्र छ। यसैगरी कक्षा ५ को अंग्रेजीमा ४७ प्रतिशत मात्र सिकाइ उपलब्धि रहेको छ।

भट्टराईले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा निरक्षर आमाबुवाका नानीको सिकाइ उपलब्धि ४२ प्रतिशत पाइएको छ। यसैगरी, साक्षर आमाबुवाको नानीको सिकाइ उपलब्धि ४६ प्रतिशत छ।

उपसचिव भट्टराईले अध्ययन क्रममा बुवाभन्दा आमाको शैक्षिक स्तरले नानीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने गरेको देखिएको जनाए।

 कक्षा १० पढेका आमाका नानीहरुको गणितको सिकाइ उपलब्धि ४८ प्रतिशत छ भने  नेपालीमा ६८ प्रतिशत छ। सोही तहका बुवाका नानीमा सिकाइ उपलब्धि गणितमा ४७ प्रतिशत  र नेपालीमा ५६ प्रतिशत छ। एसएलसी पास भएका आमाका नानीको  गणितको सिकाइ उपलब्धि ५० प्रतिशत र नेपालीमा ६२ प्रतिशत छ।

सोही तह पास गरेका बुवाका नानीको गणितमा ५१ प्रतिशत र नेपालीमा ६१ प्रतिशत छ। कक्षा १२ पास गरेका आमाबुवा दुवैका नानीको गणितमा सिकाइ उपलब्धि ५० प्रतिशत छ भने नेपालीमा क्रमशः ६० र ६१ प्रतिशत छ।

यसैगरी, स्नातक अध्ययन गरेका आमाका नानीको गणितमा ५० प्रतिशत र नेपालीमा ५७ प्रतिशत छ भने सोही तहका बुवाका नानीमा गणितमा ५२ प्रतिशत र नेपालीको सिकाइ उपलब्धि ६० प्रतिशत छ।

स्नातकोत्तर तह पास आमाका नानीमा अध्ययन गर्दा गणितको सिकाइ उपलब्धि ४६ प्रतिशत र नेपालीमा ५३ प्रतिशत छ भने सोही तह पास गरेका बुवाका नानीहरुको गणितको सिकाइ उपलब्धि ५० प्रतिशत र नेपालीमा सिकाइ उपलब्धि ६० प्रतिशत रहेको छ।

'नानीहरु आमासँग नजिक भएको र आमासँग रमाएर सिक्ने भएकाले अध्ययनमा आमाको शैक्षिक स्तरले नानीको सिकाइ उपलब्धिमा सकारात्मक भूमिका खेलेको छ,' उपसचिव भट्टराईले भने, 'विद्यालय शिक्षामा सुधार ल्याउनका लागि अब सरकारले आमाहरुको शैक्षिक स्तर बढाउने कार्यक्रम तय गर्नुपर्छ।'

यसैगरी, आमाको पेसाले पनि नानीको सिकाइ उपलब्धिसाथै चौतर्फी विकासमै महŒवपूर्ण भूमिका खेल्ने गरेको प्रतिवेदनले देखाएको छ। अरुको घरमा काम गरेर नानी स्याहार्ने आमाका नानीहरुको सिकाइ उपलब्धि ३७.८ प्रतिशत छ भने व्यापार र जागिरे आमाका नानीको समग्रमा सिकाइ उपलब्धि ५० प्रतिशत देखाएको छ।

अरुको घरमा न्यून स्तरको काम गर्ने बुवाका नानीको सिकाइ उपलब्धि ४१ प्रतिशत छ भने व्यापार र जागिरे बुवाका नानीको सिकाइ उपलब्धि ५३ प्रतिशत छ। 'बुवाआमाको पेसा र जागिर राम्रो भएकामा नानीहरुको सिकाइ उपलब्धिमा समेत राम्रो भएको हाम्रो अध्ययनले देखाएको छ,' शैक्षिक गुणस्तर परीक्षा केन्द्रका प्रमुख एवं सहसचिव लेखनाथ पौडेलले भने, 'जुन स्कुलमा नानीहरुलाई गृहकार्य दिने र चेकजाँच गर्ने बानी निरन्तर छ। ती नानीको समेत सिकाइ उपलब्धि राम्रो छ।'

पौडेलले थपे, 'तर माथिलो कक्षामा नानीको स्तरोन्नति हुँदै जाँदा क्रमशः कम भएको हामीले पाएका छौं।' यसको मुख्य कारण सरकारले लागू गरेको उदार कक्षा नीतिलाई शिक्षक तथा विद्यालयले गलत रुपमा बुझेकै कारण हो।

सरकारले नानीहरुको कक्षागत सिकाइ उपलब्धि राम्रो बनाउन उदार कक्षा नीति लागू गरे पनि शिक्षकले कक्षामा निरन्तर मूल्यांकनै नगरी स्वतः पास गराउने नीति लिएका कारण प्रभावकारी नभएको सहसचिव पौडेलको बुझाइ छ।

'लैंगिक दृष्टिले सिकाइ उपलब्धि विश्लेषण गर्दा दुवै कक्षामा छात्रको भन्दा छात्राको सिकाइ उपलब्धि तुलनात्मक रुपमा बढी देखिन्छ,' पौडेलले भने, 'जस्तो कक्षा ३ को नेपालीमा छात्रको औसत उपलब्धि ५१ प्रतिशत छ भने छात्राको ५४ प्रतिशत छ। गणितमा दुवैको ४५ प्रतिशतनै छ भने कक्षा ५ मा नेपालीमा छात्राको ४८ प्रतिशत र छात्रको ४६ मात्र छ।' उनका अनुसार गणितमा छात्राको ५० प्रतिशत र छात्रको ४८ प्रतिशत र अंग्रेजीमा दुवैको ४७ प्रतिशत छ।

अध्ययनले घरमा १–२ घन्टा नियमित घरायसी काममा संलग्न हुने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको देखाएको छ। ज्यालादारी काममा संलग्न हुनुपर्ने विद्यार्थीको सिकाइ उपलब्धि कमजोर पाएको छ।

३ करोड खर्चिएर गरिएको सिकाइ उपलब्धि परीक्षणले उपत्यकाको नतिजा अन्य भौगोलिक क्षेत्रको भन्दा सबै विषयमा उच्च रहेको देखाएको छ। (कक्षा ३ मा नेपालीमा ६४, गणितमा ५१ कक्षा ५ को नेपालीमा ५७, गणितमा ५८ र अंग्रेजीमा ६८ प्रतिशत देखाएको छ) भने हिमाली क्षेत्रको सबैभन्दा न्यून छ। कक्षा ३ नेपालीमा ४५ र गणितमा ३९ प्रतिशत मात्र विद्यार्थीको सिकाइ उपलब्धि छ। कक्षा ५ मा नेपालीमा ४१, गणितमा ४२ र अंग्रैजीमा ३७ प्रतिशत छ।

उपत्यकापछि पहाडी क्षेत्रमा विद्यार्थीको सिकाइ उपलब्धि उच्च छ। यसैगरी, जिल्लागत हेर्दा सबैभन्दा कम सिकाइ उपलब्धि रौतहटको छ। 'शिक्षाको कार्यक्रम उपत्यकामा केन्द्रित होइन, अब रौतहट लगायत तराईका जिल्ला र हिमाली क्षेत्रमा नानीको सिकाइ उपलब्धि उच्च बनाउनतर्फ मन्त्रालयले ध्यान दिनुपर्छ,' सहसचिव पौडेलले सुझाए, 'केन्द्रले सबै स्कुलमा यो प्रतिवेदन पठाइसकेको छ। र, सबैलाई सिकाइ उपलब्धि सुधार योजना बनाउन निर्देशन जिल्लाले दिइसकेको छ।'

प्रकाशित: २३ श्रावण २०७३ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App