१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

किशोर किशोरीलाई कुलतबाट बचाउन उदयपुरमा स्वयंसेवी अभियान

बढ्दो लागू औषधलगायत कुलतबाट किशोर किशोरीलाई बचाउन उदयपुरमा ‘हामी स्वयंसेवी अभियान’ सुरु भएको छ।  शिक्षा विकास तथा समन्वय इकाई कार्यालय उदयपुरले विद्यालय स्तरका बालबालिकालाई लक्षित गरी यो अभियान सुरु गरेको जनाएको छ।  

इकाईको समन्वयमा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरु गरेको अभियानमा सकेसम्म जिल्लाका सबै विद्यालयलाई समेट्ने कोसिस भइरहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।  अभियानको सुरुवात गर्न शुक्रबार ‘लागूपदार्थ दुर्व्यसन तथा विपत् व्यवस्थापनमा हामी स्वयंसेवी’ विषयक कविता प्रतियोगिता आयोजना गरियो।  

बिभिन्न ४५ विद्यालयका प्रधानाध्यापक ९प्रअ०, नायक शिक्षक र विद्यार्थीलाई सहभागी गराइएको कार्यक्रममा अभियानबारे आधारभूत जानकारी गराइएको थियो।  कार्यक्रम संयोजक उर्मिला आचार्यका अनुसार सहभागीहरूलाई बिभिन्न माध्यमबाट लागू पदार्थ दुर्व्यसन र यसका असर तथा त्यसबाट मुक्ति पाउने तौरतरिकाबारे प्रशिक्षण दिइएको छ।  

कविता प्रतियोगितामा जनता मावि देउरीकी शोभा कार्की प्रथम भएकी छिन् भने जनज्योति मावि चुहाडेकी सुदिक्षा मगर दोस्रो भइन्।  पिसजोन एकेडेमीका आयुस पौडेल तेस्रो तथा मावि चिसापानी ताप्लीका कोपिला राई सान्त्वना स्थान पाउन सफल भइन्।   विद्यालय स्तरमा गरिने अभियानको काम, कर्तव्य, अधिकार, उद्देश्य र त्यसको महत्त्वका विषयमा कार्यक्रममा जानकारी गराइएको थियो।  

विद्यालय स्तरका किशोरावस्थाका विद्यार्थीलाई लागू औषध तथा विपत् व्यवस्थापनका सवालमा सिर्जनात्मक अभ्यासमार्फत सचेतना जगाउने उद्देश्यले प्रदेश आन्तरिक मामिला मन्त्रालयले यो अभियान सञ्चालन गर्दै आएको छ।  कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विक, त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, चौदण्डीगढी नगरप्रमुख कालुमान लामा, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायतले अभियानको सार्थकतामाथि प्रस्ट्याउँदै अभियान सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।  

शारीरिक र मानसिक विकास सँगसँगै भइरहेको किशोरावस्थामा चन्चले स्वभाव हुने र त्यस्तो बेला सामान्य कुराको पनि गम्भीर प्रभाव पर्ने हुँदा त्यो अवस्थामा गलत बाटो रोज्नबाट बचाउन अभिभावक, शिक्षक र सामाजिक अगुवाले जिम्मेवार हुनुपर्ने उनीहरुले बताए।  कायक्रममा सहभागीहरूले किशोरावस्थाको उमेरमा गलत बाटोतर्फ जानसक्ने खतरा भएकाले उनीहरुलाई समाजप्रति जिम्मेवार बन्दै योग्य नागरिक बनाउन अभियानले सहयोग पुग्ने अपेक्षा गरेका थिए।  

आचार्यले जिल्लाका सबै मावि तहका विद्यालयसम्म अभियान पुर्याईने बताएकी छिन्।  विद्यार्थीहरूमा लागु औषध र विपत् व्यवस्थापनबारे शैक्षिक जनचेतना जगाउने, नैतिक शिक्षा दिएर चरित्र वान, जिम्मेवार र असल नागरिक बनाएर समाजमा योगदान दिने उद्देश्यले अभियानको रहेको उनको भनाई थियो।  

प्रकाशित: ३० पुस २०७९ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App