१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ।   ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।  

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतका क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले उक्त नारा तय गरिएको हो।  विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ।  भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो।  

 दिवसका अवसरमा मूल समारोह समितिले माघ २ गते कमलपोखरीमा कार्यक्रम आयोजना गर्ने भएको छ।  कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौँ महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियता रहने छ।    

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २९३ वटै नगरपालिकामा आर्थिक मानवीय स्रोतका अभावमा भवनसंहिता लागू गर्न नसकिएको बताए।  यसका लागि सरकारबाट छुट्टै अनुदान आउन नसक्दा समस्या भएको उनको भनाइ थियो।  

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले यस अवसरमा दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको जनचेतनामूलक प्रदर्शनीलाई पनि यसै पटकदेखि निरन्तरता दिन लागिएको बताए।  

विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो।  आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए।  नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए।  सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो।  अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो।

 यसको पुनःनिर्माणका लागि सात वर्ष अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गर्नुभयो।  रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण गत वर्ष सम्पन्न भएको छ।  भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकिएको अवधिमा काम नसकेपछि पुनःनिर्माणका बाँकी काम सम्बन्धित विभागलाई हस्तान्तरण गरिएको छ।  भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ।  

दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान शुरु गरेको छ।  यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ।  यसै वर्ष लमजुङ, डोटीलगायत जिल्लामा गएको भूकम्पले पनि मानिस प्रभावित भएका छन्।  त्यसको लगत सङ्कलनको काम भइरहेको विभागले जनाएको छ।  

प्रकाशित: २९ पुस २०७९ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App