१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनहरी दुर्घटनामा एकै गाउँका ४ को मृत्यु

उदयपुर–आइतबार विहान मकवानपुरको मनहरीमा भएको दुई रात्रि बस ठक्करमा परी मृत्यु हुने ९ मध्ये उदयपुरका एकै गाउँका ४ जना रहेको खुलेको छ। काठमाडौंदेखि गाईघाट आउँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायात र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको रात्रि बस एकापसमा ठक्कर खाँदा मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० देउरीकै ४ जनाको मृत्यु भएको हो।

हिमाली यातायात व्यवसायी संघ गाईघाटका अनुसार आइतबार विहान १ः३० बजे मनहरी ३ स्थित रमनटारमा भएको दुर्घटनामा पर्दा देउरीका दुई बालकसहित ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १० वर्षे मणिरत्न चौधरी, २७ वर्षे सन्तोष चौधरी, २५ वर्षे विनोद चौधरी र नाम नखुलेको एक तीनवर्षे बालक रहेको हिमाली संघका दुर्घटना संयोजक सुरेश कार्कीले बताए। इलाका प्रहरी कार्यालय मनहरीलाई उद्धृत गर्दै कार्कीले बताए अनुसार नाम नखुलेका बालक पनि देउरीकै हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनामा परी झापा घर भई अग्निमा कार्यरत सहचालक लक्ष्मी अधिकारीको पनि मृत्यु भएको छ ।

घाइते टीकाराम राउतका अनुसार निन्द्राको सुरमा गाडी चलाउँदा चालकपटिको गाडीको भाग रगडिएर च्यापिएर ६ जनाको घट्नास्थलमै मृत्यु भएको थियो। ‘सबै यात्रु निदाएका अवस्था थिए’ उपचारपछि घर फर्कँदै गरेका त्रिनपा– ३ का राउतले टेलिफोनमा भने ‘चालक पनि निदाएका होलान्, त्यसैले बस जोगाउन नसक्दा च्यापिएर दुवैतर्फ क्षति पुग्यो।’ दुर्घटनामा घाइते ३१ मध्ये दुईजना चालक र २९ यात्रु भएको र त्यसमध्ये ८ जना उदयपुरका रहेका छन्।

८ घाइतेमध्ये एकजना पश्चिमी गाविस रिस्कुका झलक सुबेदी र दक्षिणी गाविस जोगीदहका मौलाही चौधरी छन् भने बाँकी ६ जना त्रियुगा नगरपालिकाका छन्। त्रिनपा– ३ का टीकाराम राउत, ८ की पार्वती चौधरी, ९ का हरिमाया तामाङ र रेजिना मगर तथा १० का सिधनदेवी चौधरी र किशोर चौधरी घाइते रहेको हिमाली संघले जनाएको छ। उनीहरुको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको कार्कीले जनाएका छन् ।

 

प्रकाशित: १६ श्रावण २०७३ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App