१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पीडितको सडकमै बास

राप्तीको बाढीले घर भत्काएपछि खुल्ला ठाउँमा बसिरहेका फत्तेपुर–४ पिप्रहवा निवासी मोहन धोबीको परिवार। तस्बिर : अर्जुन ओली

फत्तेपुर (बाँके)- बाँके, फत्तेपुर यतिसम्म कुरूप थिएन। झिँगटीकै सही, घरहरू थिए, बस्ती थियो। साँझबिहान चुलो धुवाउँथ्यो। लालाबाला ठाँटिएर स्कुल जान्थे। खेतखलियानमा पसिनाको बाली लहलहाइरहन्थ्यो। स्थानीयको दैनिकी लयमा चलिरहेकै थियो।

चार दिन भयो, फत्तेपुरले यी सबै गुमायो। राप्तीको भयानक भँगालो जसै गाउँ पस्यो, भएजति सिनित्तै बढार्‍यो। स्थानीय त जोगिए तर सह लुटियो, दैनिकी बिथोलियो। अहिले खण्डहरझैं भएको छ पूरै बस्ती। घरहरू हिलोमा डुबेका छन्। कतिपयको छानै उडेको छ त कतिको भित्तो मात्रै बाँकी छ।

फत्तेपुर–८ निवासी सीतापती थारूको परिवार खुला आकाशमुनि रात कटाइरहेछ। घर ढलिहालेको त छैन तर हिलोले बसिसाध्य छैन। चिसो उत्तिकै। ६० नाघिसकेकी सीतापतीलाई आफ्नो स्वास्थ्यभन्दा सुत्केरी बुहारीको स्वास्थ्यप्रति बढी चिन्ता छ। बुहारी गीता पाँच दिनअघि मात्र सुत्केरी भएकी थिइन्। त्यसको भोलिपल्ट (मंगलबार) गाउँ डुबाउने गरी आएको बाढीले परिवारै विस्थापित गरायो। ‘त्यस दिनदेखि सडकमै खाने, सुत्ने गरेका छौं, धन्न वर्षा रोकिएको छ नत्र हालत खराब हुन्थ्यो,’ उनले भनिन्। घर छाड्नुपर्दा सुत्केरी बुहारीले स्याहार नपाएको सीतापती गुनासो गर्छिन्।

सुषमा थारूका पति वैदेशिक रोजगारीमा छन्। यही बेला बाढी पसेर घरको बिजोग छ। राप्तीको भेलले एकातिरको भित्तै भत्काइदियो। पूरै चिसो छ। फत्तेपुर–८ निवासी सुषमा पनि अचेल छोरी च्यापेर सडकमै रात कटाउँछिन्। ‘घर त ढल्लाजस्तो भएको छ, सडकको भाग उच्च भएकाले त्यही ठाउँमा पकाएर खान्छौं, त्यहीँ खटिया राखी छोरी च्यापेर सुत्छु,’ उनले भनिन्, ‘खुला आकाशमुनि रातभर निद्रा लाग्दैन।’

रातभरि वर्षा भएपछि राप्तीमा पानीको सतह बढेको खबर प्रहरीले गाउँलेलाई समयमै गराएका थिए। त्यसको केहीबेरमै बाढीले गाउँ घेरा हाल्यो। घरमा राखिएको केही अनाज र लत्ताकपडा बोकेर अधिकांश स्थानीय अग्लो स्थानतिर लागे। करिब ३६ घन्टापछि बाढी त घट्यो तर प्रायः बस्ती खण्डहरमा बदलिए। अधिकांश घर हिलोमा डुबेका छन्। कसैको घरै त कसैको भित्ता ढलेका छन्। त्यसैले उनीहरू अझै घर फर्किन सकेका छैनन्।

फत्तेपुर–४, पिप्रहवाका मोहन धोबीको परिवारले केही दिन स्थानीय मदरसामा आश्रय लियो। अहिले पनि उनका केही सदस्य मदरसा त केही खुला आकाशमुनि बसिरहेछन्। राप्तीको किनारमै रहेका उनका दुइटा घर, एउटा गोठ र शौचालय बाढीले भत्काइदियो। त्यसयता धोबीको ६ जनाको परिवार विस्थापित छ। ‘घरमा भएका सामान केही भिज्यो, केही बाढीले बगायो,’ उनले भने, ‘छिमेकीबाट पाएको अनाजले पेट पालेका छौं।’

उनीसहित पिप्रहवास्थित राप्ती किनारमा रहेका कैलाश धोबी, रहमत तुल्ला खाँ र रूपा पण्डितको घर बाढीले भत्काएको छ। सबै परिवार यतिखेर विस्थापित जीवन बिताइरहेछन्। धेरैजसोले चुलो बाल्नै सकेका छैनन्। फत्तेपुर–७, पहाडीपुरनिवासी सावित्री बर्माले बाढी आएको तीन दिनपछि (बिहीबार) मात्र खाना पकाइन्। ‘घरवरिपरि डुंगा चलाउनेजस्तो पानी थियो, तीन दिन बिस्कुट र चाउचाउ खाएर प्राण जोगाइम्, हिजो मात्रै खाना पकाएर बूढाबूढीले खायौं,’ उनले भनिन्। बर्सेनि दुःख दिने बाढी सधैंका लागि समाधान गरिदिन वृद्धा सावित्रीले सरकारसँग आग्रह गरिन्। ‘लौ हजुर, केही उपाय लगाइदिनुपर्‍यो, हाम्रो पीडा सरकारलाई सुनाइदिनुहोला,’ उनले आँसु झार्दै भनिन्।

 कतिपयले घरभित्र जमेको हिलोमा गहुँको भुस राखेर पनि जेनतेन काम चलाएका छन्। पहाडीपुरनिवासी शोभा लामिछानेले भनिन्, ‘गहुँको भुस राखेपछि मुस्किलले भित्र पस्न सकियो, घर एकदमै कमजोर भइसकेछ, फेरि पनि बाढी आए ढल्ने पक्का छ।’ अग्लो ठाउँमा बसेर ज्यान जोगाए पनि घर जीर्ण हुँदा शोभा दुःखी छिन्।

 फत्तेपुर गाविसका कर्मचारी र प्रहरीचौकीको टोली स्थानीयलाई  उद्धार गर्न सक्रिय भयो। तर, बाढीमा उनीहरूकै कार्यालय डुबानमा पर्‍यो। गाविस कार्यालय र प्रहरी चौकीमा पानी सतह करिब डेढ मिटर उठिसकेको थियो। केही महत्वपूर्ण सामान अग्लो ठाउँमा राखेर जोगाए पनि केही भने पूरै नोक्सान भयो। गाविसका खरिदार साबितराम मौर्यले भने, ‘डुबानबाट हाम्रो कार्यालय पनि अछुतो रहेन, चार दिनदेखि सञ्चालन हुन पाएको छैन।’

भारतले दुई दशकअघि अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध निर्माण गर्‍यो। त्यसले राप्तीको प्राकृतिक निकास थुनेपछि बर्खायाममा तल्लो तटीय क्षेत्र होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, बेतहनीलगायत गाविस डुबानमा पर्दै आएका छन्।

यसअघि बाढीले होलिया र बेतहनी गाविसका गाउँमा बढी क्षति पुर्‍याउने गरे पनि पछिल्लो समय फत्तेपुरलाई असर गरेको स्थानीय बताउँछन्। हाम्रो गाउँ सबैभन्दा तल छ, त्यसैले सबैभन्दा पहिले डुब्छ। फत्तेपुरका खल्ला झगडिया, पहाडीपुर र पिप्रहवा गाउँ त राप्ती नदीको सतहसँग बराबर भइसकेका छन्। धार परिवर्तन गरेर आएको नदीले खल्ला झगडियास्थित निम्न माध्यामिक विद्यालय नजिक कटान र पटान तीव्र पारेको छ। बर्खायामभरि नदीले अझै कटान गर्न सक्ने भन्दै स्थानीय त्रस्त र चिन्तित छन्।

‘नदीको सतह बढ्नेबित्तिकै सबैभन्दा पहिले खल्ला झगडिया, पहाडीपुर र पिप्रहवा गाउँमा बाढी पस्छ, त्यसपछि अरु ठाउँ फैलिन्छ,’ स्थानीय टीकाराम थारूले भने। २०७१ को बाढीबाट सचेत भएका कारण यसपटक घरभित्रको अन्नपात केही जोगाउन सफल भएको उनले बताए। २०७१ साउन अन्तिम साता आएको बाढीले पनि फत्तेपुरमा हजारौं घर डुबान गर्नुका साथै हजारौं बिघा जग्गा डुबान र कटान गरेको थियो। भारतीय बाँधका कारण राप्तीको बाढीले धार परिवर्तन गर्दा फत्तेपुरमा बढी क्षति गरेको स्थानीयको बुझाइ छ।

‘उता भारततिरको बाँध धेरै बलियो छ, हाम्रो यतातिर कमजोर छ, राप्ती नदीको भँगालोले उतातिर छाड्दै गयो, यतातिर धार परिवर्तन गर्दा धेरै क्षति गर्न थाल्यो,’ फत्तेपुर–३ की लक्ष्मी बर्माले भनिन्। सरकारले हाम्रोतिर पनि पक्का बाँध बनाइदिनुपर्‍यो। आफ्नो करिब दुई बिघा जमिन नदीमै रहेको उनले सुनाइन्। बाढीले पुर्‍याएको क्षतिविवरण संकलन थालिए पनि यकिन तथ्यांक आएको छैन।

गाविस कार्यालय, रेडक्रस र प्रहरीले संयुक्त रूपमा तथ्यांक संकलन सुरु गरेका छन्। गाविस सचिव दिलाराम रानाका अनुसार फत्तेपुरमा करिब २ हजार घर डुबानमा परेको र ३ हजार बिघाजति खेतीयोग्य जमिन डुबान, पटान र कटान गरेको छ। बाढीले अवरुद्ध गराएको सदरमुकाम नेपालगन्जसँगको सिधा सम्पर्क तीन दिनपछि जोडिए पनि फत्तेपुर गाविसको अवस्था अझै सामान्य हुन सकेको छैन।

बाढीपीडित बिरामी पर्न थाले

फत्तेपुर–७, पहाडीपुरकी मीरा थारूले बाढी आएको समयमा धाराको धमिलो पानी पिइन्। त्यसको भोलिपल्ट बुधबारदेखि उनी बिरामी परेकी छन्। अहिलेसम्म उनलाई निको नभएको पति धर्मलाल चौधरीले बताए। ‘श्रीमतीलाई पेट दुख्ने, बान्ता हुने र टाउको दुख्ने समस्या छ,’ उनले भने ‘स्वास्थ्यचौकीमा देखाएर औषधि खुवाए पनि सन्चो भएन।’ अझै पनि धाराकै पानी प्रयोग गरिरहेको धर्मलालले बताए। घरभित्र जमेको हिलो नसुक्दा बिरामी पत्नीलाई  बाहिरै राख्नुपरेको उनको भनाइ छ।

 बाढीपछि विशेष गरी बालबालिका, वृद्धवृद्धा, सुत्केरीको स्वास्थ्यमा समस्या देखिएको छ। गाउँमा अधिकांशलाई रुघा, ज्वरो र टाउको दुख्ने समस्या देखिएको महिला स्वास्थ्यकर्मीले बताए। एकातिर बाढीको सकस अर्कातिर बुहारी बिरामी भएपछि कुखुरी थारू तनाबमा छिन्। ‘बुहारीलाई सन्चो छैन, घर हिलाम्मे छ, बस्नलायक छैन,’ उनले भनिन्। जिल्ला प्रशासन कार्यालय, बाँकेले बाढीप्रभावित क्षेत्रमा महामारी फैलिन नदिन पानी शुद्धीकारक औषधि वितरण सुरु गरिएको जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले पनि प्रभावित क्षेत्रका स्वास्थ्यचौकीमा पर्याप्त औषधि पठाइसकिएको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७३ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App