२ असार २०८१ आइतबार
image/svg+xml
समाज

कपन आवतजावतका सबै सडक बेहाल

काठमाडौं- राजधानीको कपनमा पछिल्लो समय तीव्र गतिमा बसोबास बढीरहेकेा छ। चावहिलबाट गोपीकृष्ण वा चुच्चेपाटीबाट महांकाल हुँदै कपन पुग्न सकिन्छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोबीखोला करिडोर वा सुकेधारा चोकबाट निलोपुल हुँदै पनि कपन जाने वैकल्पिक बाटो हो।

कपन पुग्न चारवटा सडक भए पनि यतिबेला कपनवासी भने घरबाट कतै जानु नपरोस् भनेर कामना गर्छौं भन्छन्। विभिन्न बहानामा भत्काइएका कपन जाने सडक हिलाम्मे भएर हिँडिसक्नु छैनन्।

'कपनबाट चावहिल पुग्ने चार वटा सडक भए पनि कुनै पनि सडकमा हिँड्न सकिँदैन,' स्थानीय शिवहरि दाहालले भने, 'घरबाट निस्क्यो कि हिलोमा डुब्नुपर्छ। त्यसैले कहीँ बाहिर निस्कन नपरे हुन्थ्यो भनेर प्रार्थना गछर्ौं।'

कपन आवतजावत गर्ने प्रमुख सडक गोपीकृष्ण हुँदै सरस्वतीनगरबाट हो। यो सडकमा मंसिरयता सवारीसाधन गुड्न सकेका छैनन् भने मनसुन सुरु भएसँगै पैदल हिँड्न समेत सकस छ। यतिबेला उक्त सडक हिलाम्मे छ। ठाउँठाउँमा जमेको पानीले सडक पोखरी बनेको छ।

सडक डिभिजन कार्यालयले विस्तार गर्ने भन्दै गत मंसिरमा सडक भत्काउन थालेसँगै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले डिभिजनलाई रोकी पहिला खानेपानीको पाइप ओच्छ्याउन सडक खनेर खाल्डो पारेको हो। गोपिकृष्णनगरदेखि भृकृटीचोकसम्म डेढ किलोमिटर सडकखण्डमा निर्देशनालयले सात महिना बित्दा पनि अहिलेसम्म पाइप गाडेको छैन।

'हामी काम गरिरहेका छौं। त्यहाँ ढल तथा अन्य विभिन्न समस्याले गर्दा केही ढिला भएको हो,' निर्देशनालयका सिनियर डिभिजन इन्जिनियर हरि पाण्डेले भने, 'अहिले वर्षाका कारण धेरै हिलो भएकाले स्थानीयलाई गाह्रो भएर काम रोकेका छौं।' उनका अनुसार वर्षात् कम भएपछि पाइप गाड्न थालिनेछ। सडक डिभिजनले भने निर्देशनालयले काम सक्नासाथ कालोपत्रे गर्ने जनाएको छ।

'निर्देशनालयले काम सक्ने बित्तिकै हामी कालोपत्रे गर्छौं,' सडक डिभिजन कार्यालय एकका प्रमुख धमेन्द्र झाले भने, 'हामीले कपनवासीको सास्ती देखेरै पटकपटक निर्देशनालयसँग काम छिटो गर्न पनि पत्राचार पनि गर्‍यौं,ं तर अहिलेसम्म सकेको छैन।' उनले पाइपको काम सकिनासाथ डिभिजनले कालोपत्रे गर्ने बताए। तर निर्देशनालयले काम कहिले सक्ने किटान नगर्दा कपनको सडक बन्न हिँउद नै लाग्ने स्थानीय अनुमान गर्छन्।

यतिबेला कपन आवतजावत गर्ने सवारी भृकुटीचोकदेखि एक किलोमिटर तलको धोबीखोला करिडोर भएर चावहिल निस्कने गरेका छन्। निर्माणाधीन करिडोर पनि हिलाम्मे छ। गाडीहरू हिलोमा डुब्दै गुड्ने र हिलोमा फसेर घन्टौंसम्म बसिरहने स्थानीयले बताए। आव ०७५/०७६ मा सम्पन्न हुने निर्माणाधीन करिडोरमा अहिले पर्खाल लगाउने काम भइरहेको धोबीखोला करिडोर सुधार आयोजना प्रमुख रामप्रसाद श्रेष्ठले बताए।

विकल्पको रुपमा कपनवासीले महांकाल–चुच्चेपाटी सडकखण्ड पनि प्रयोग गर्न सक्छन्। तर महांकाल–चुच्चेपाटी सडक भत्काएको पनि तीन वर्ष भइसकेको छ। निर्देशनालयले नै पाइप बिच्छ्याउन सडक खनेको हो। 'काम सुरु गरेको वषौं भए पनि बाहिरबाट ल्याउनुपर्ने पाइप फिटिङका सामान आउन ढिला भएर एक वर्ष रोकियो,' निर्देशनलयका निर्देशक टिरेस खत्रीले भने, '८५ प्रतिशत काम सम्पन्न भएको छ। अब चाँडै नै सक्छौं।' यतिबेला भने वर्षाको समय भन्दै काम रोकेको छ। सडक भने पानी जमेर कतै पोखरी त कतै रोपाईं गर्न तयार खेत बनेको छ। सडकको हिलो छेल्दै सवारी गुडाउनुपर्छ। खत्रीका अनुसार यो सडकमा पाइपको काम चाँडै सकिने र त्यसपछि कालोपत्रे पनि निर्देशनालयले नै गर्नेछ।

सुकेधारा हुँदै निलोपुल भएर कपन जाने वैकल्पिक सडकमा पनि सुकेधारादेखि भल पसेर खाल्डैखाल्डा बनेका छन्। पानी पर्दा धोबीखोलाको जस्तै भल बग्छ। 'सबै सडकको बेहाल छ,' स्थानीय माधव सुवेदीले भने, 'कपनमा बस्न पाए ठूलै मान्छे भइएलाजस्तो गरी घर बनाइयो, अहिले भने कपनवासी भएकोमा चिन्ता लागेको छ।' उनका अनुसार यतिबेला सडकका कारण कपनवासीले कति सास्ती खेप्नु परेको छ शब्दमा व्यक्त गर्न सकिँदैन।

प्रकाशित: ११ श्रावण २०७३ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App