७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्यूठानमा बाढीले बगाएका ४ मृत शव फेला, ५ जना बेपत्ता

प्यूठान- गएरातिदेखि अविरल वर्षाका कारण झिमरुक खोलाले बगाएर ल्याएका ४ वटा मृत शव फेला परेका छन्। जिल्ला प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। प्यूठानको लुङ–६, बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर वेपत्ता भएकी छिन्।

बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा डेरा गरी बस्ने अन्दाजी २५ वर्षीय काली परियार, किरण थापा र अन्य २ जना पुरिएका छन्। पुनको २८ वर्षीय छोरी पवित्रालाई सकुसल उद्वार गरिएको छ।

वर्षाका कारण प्यूठानको जनजीवन रुपमा प्रभावित भएको छ। बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन्। यो खबर तयार पार्दासम्म प्यूठानमा दर्जनौं ठाउँका बस्ती उच्च जोखिममा छन्। झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएर २ वटा शव भेटिएको छ। लगातारको पानी र खोला ठूलो भएका कारण निकाल्न नसकिएको स्थानीयले बताए।

विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन नजिकै पनि अर्का १ जनाको मृत शव खोलाले बगाएर ल्याएको छ। अन्दाजी ४५ वर्षीय पुरुषको शव रहेको उनको पनि सनाखत हुन सकेको छैन। त्यस्तै प्यूठानको बाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षकी एक बालिका पनि मृत फेला परेकी छन्।

प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन्। स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गरिरहेको छ। स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए। स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण अर्खा गाविस वडा नं. ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन्। उनीहरु रातभर जागा बसेको स्थानीय मनोज श्रेष्ठले बताए। बाढी र वर्षाका कारण प्यूठानका सम्पूर्ण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन्।

अहिले पनि पानी परिरहेकोले उद्वारमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। दर्जन बढि बस्तीहरु उच्च जोखिममा छन्। बाढीका कारण पुर्‍याएको खबर संकलन भइरहेका छन् भने क्षतिको विवरण पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।

प्रकाशित: ११ श्रावण २०७३ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App