१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मधेसका यातायातमा हिन्दी सिनेमाको प्रभाव

रौतहट- भारतीय सिनेमाको प्रभाव रौतहटको यातायात व्यवसायमा स्पष्टै देखिन्छ। कुनै हिन्दी सिनेमा रिलिज भएपछि हिट हुने सम्भावनामै रौतहटका यातायात व्यावसायीले नयाँ बसको नाम नै फिलिमको नाम राख्दछन्।

सलमान खानको नयाँ फिलिम आएको दुई हप्ता भएको छैन तर रौतहटबाट काठमान्डौको लागि चल्ने एक जोडी बसको नाम सुल्तान टाइगर राखिएको छ। यात्रुहरुले नयाँ फिलिम हेर्न मन पराउने र सुपर हिट बसको नाममा चढ्दा गर्व गर्ने भएकोले बसको नाम नै सुल्तान राखिएको बसका सञ्चालकले बताएका छन्।

रौतहट सदरमुकाम गौर र अन्य बजारबाट काठमाडौं चल्ने अधिकांश बसको नाम हिन्दी सिनेमाको नाउँमा राखिएको छ। धूम थ्री, क्रिस थ्री, जन्नत, बाहुबली, बाहुबली टू लगायतका बसहरुको नाम हिन्दी सिनेमाको नाउँबाट नै जुराइएको छ।

जय हो, दबंग, बडीगार्ड, हैप्पी न्यु इयर, वान्टेड, परदेशी बाबु, महाराजा, परदेशी कान्छा, राजाबाबु जस्ता हिन्दी सिनेमाको नाममा पनि रौतहटबाट चल्ने बसको नाम जुराइएका छन्।

हिट हिन्दी सिनेमाको मात्र नभई हिट हिरोइनको नाममा पनि बसको नाम राख्ने गरिएको पाइएको छ। जुही, मीनाक्षी, माधुरी, रानी ट्राभल्सका बसहरु रौतहटका विभिन्न स्थानबाट चल्ने गर्दछन्।

हिन्दी फिलिमको नामका साथै विभिन्न देवदेवीको नाउँमा पनि सार्वजनिक बसको नाम राखिएका छन्। माँ कल्याणी, हर हर महादेव, राजदेवी, वैष्णो देवी, मनकामना, महाकाली, भोलेनाथ, बाराही ट्राभल्सहरु सदरमुकाम गौरबाट काठमान्डौ, वीरगंज, पोखरा, जनकपुर, नारायणगढ लगायतका स्थानसम्म चल्ने गर्दछन् ।

रौतहटबाट सबै रुटमा चल्ने बसहरुमध्ये असी प्रतिशतको नाम फिलिम, हिरोइन र देवीदेवताको नामबाट राखिएका छन् । फिलिमको नाउँबाट बसको नाम राख्दा नवयुवा यात्रीहरु बढी आकर्षित हुने गरेको तथा देवीदेवताको नाउँबाट बसको नाउँ राख्दा बस व्यावसायीको आत्मविश्वास बढ्ने गरेको यात्रुहरु बताउँछन्।

युवा बस व्यावसायीले आफूलाई मन पर्ने हिरो तथा प्रौढ व्यावसायीले आफूले मान्ने गरेको देवीदेवताको नामबाट बसको नाम राख्ने गरेको प्रवृत्ति देखिएको माँ कल्याणी एसी ट्राभल्सका गौर काउन्टर इन्चार्ज विष्णु मिश्र बताउँछन्।

जिल्लावाट राजधानी लगायत मुलुकको अन्य सहरमा चल्ने तीन दर्जन भन्दा बढी बसको नाम हिन्दी फिल्मी सिनेमासँगै जोडिएर चलाइरहेकोले मैलेपनि गौरवाट राजधानी चलाउनको लागि निकालेको दुईवटा यात्रुवाहक बसको नाम “कृष थ्रि” राखेर सञ्चालनमा ल्याएको बसका मालिक महेश साहले बताए।

प्रकाशित: ९ श्रावण २०७३ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App