१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

रातभर कटान हेर्दै जाग्राम

बरुण पनेरु/टेकेन्द्र बस्याल

डडेलधुरा/कोहलपुर- केही दिनयता निरन्तर वर्षाले विभिन्न ठाउँमा बाढी र डुबान जोखिम बढेको छ। पहाडी क्षेत्रका बासिन्दा पहिरोको त्रासमा अनिदो छन्। बैतडी, डडेलधुरालगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। नेपालगन्ज, कोहलपुर, नवलपरासीजस्ता तराई क्षेत्रमा भने डुबान समस्या देखिएको छ।

डडेलधुरा परशुराम नगरपालिका–६ कुडाका हर्कबहादुर धामी राति नसुतेको झन्डै एक साता बितिसकेको छ। एक सातादेखि उनी हरेक राति आफ्नै गाउँ बग्ने प्रतीक्षामा ब्युझैं रहन्छन्। बिहानको मिर्मिरेमा उनी सुत्छन्। जब महिला र बालबालिका जाग्छन्, अनि उनको सुत्ने पालो आउँछ।

असारको अन्तिम साताबाट लगातार परिरहेको पानीले महाकालीमा जलसतह बढेपछि उनको निन्द्रा हराएको हो। उनी मात्र होइन, परशुराम नगरपालिका–६ का दर्जनौं युवा रातभर आफ्नो बाँकी जमिन काटेको हेरिरहन्छन्।

सिमलखेत, रंगुनलगायत महाकाली किनाराका झन्डै दुई दर्जन गाउँका युवाको सातादेखि एउटै दिन चर्या छ, रातमा जाग्ने र दिउँसो सुत्ने। 'दिनमा देखिएको सुन्दर गाउँ बिहान उठ्दा बगरमा परिणत भइसकेको हुन्छ,' परशुराम नपा–६ का रमेश पनेरु भन्छन्, 'कति बेला कहाँ बगाउने हो, ठेगान नभएपछि सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका छौं।'

महाकाली र रंगुन नदीले बर्सेनि सयौं रोपनी जमिन कटान गरिरहेेको छ। नदीकिनारका हजारौं रातभर कति बेला खोला बढ्ने हो भनेर जाग्राम बस्ने गरेका छन्। भित्री मधेसका तीन गाविसका दर्जनौं गाउँ हरेक वर्ष यही नियति भोग्दै छन्। तीन वर्षअघिका दर्जनौं गाउँ बाढीका कारण सखाप छन्।

'श्रीमती, छोराछोरीलाई सुत्न लगाएर आफूहरु रातभर नदी कटानको रेखदेख गरिरहेका छौं,' परशुराम नपा–६ जयलाल धामीले भने, 'महाकालीले दिनहुँ ठूलै कटान गरिरहेको छ, कुन रात कुन परिवारै लैजाने हो भन्ने चिन्ताले जाग्राम बस्छौं।'

आलिताल गाविस र परशुराम नगरपालिकाका अधिकांश उब्जाउ भूमि अहिले बगरमा परिणत भइसकेको छ। एकतिर रंगुन, अर्कोतिर महाकाली, पन्तुरा र साँदनी नदीले बर्खे कटान गरिरहेको परशुराम नगरपालिकाका कार्यकारी अधिकृत लालबहादुर योगी बताउँछन्। 

ठाउँठाउँबाट हरेक वर्ष हुने कटानले ठूलो संख्यामा बस्ती विस्थापित हुने क्रम बढिरहेको छ। परशुराम नगरपालिकाको वडा नम्बर ६ पूरै बाढीबाट प्रभावित छ। वडाकै कयनपानी, सरकुंणा, ठन्डझाला, सिमलखेत, तातापानी , कराली, भोरकुन्डाजस्ता पुराना बस्ती बगिसकेका छन्। आठ वर्षपहिले ३३ जनाले ज्यान गुमाएको वडा नम्बर ३ का आधा दर्जन गाउँ पनि बगिसकेका छन्। जति बगाउँदै गयो, उति बचाउने प्रयास गर्‍यौं अव त बस्ने यो घर मात्र बाँकी छ,' स्थानीयले भने, 'यसपालि यस पनि बग्ने लगभग निश्चित छ। वर्षा सुरु हुनेबित्तिकै यस क्षेत्रमा आउन सक्ने सम्भावित प्राकृतिक प्रकोपका लागि जिल्लास्तरमा ठूलो तयारी सुरु हुन्छ।

'१० वर्षयता दर्जनको घरबार सखाप भइसकेको छ,' परशुराम नगरपालिका–६ का पूर्व वडाध्यक्ष दलबहादुर धामीले भने, 'वर्षा भएको दिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता हो।' 

जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रबाट यस क्षेत्रमा नदी नियन्त्रणका लागि पाँच वर्षयता मात्र दुई अर्बभन्दा बढी खर्च भइसकेको तथ्यांकले देखाएको छ।

गाविसदेखि राज्यका विभिन्न निकाय हुँदै संयुक्त राष्ट्रसंघीय कार्यक्रमले समेत यस क्षेत्रमा लगानी गरेको देखिन्छ तर तीन वर्षमै यहाँको आधाभन्दा बढी जमिन बगरमा परिणत भइसकेको छ।

महाभारत र चुरे मध्यभागमा अवस्थित यो सानो उपत्यकामा डडेलधुरा जिल्लाका एक नगरपालिका र एक गाविस पर्छ। जिल्लाको कुल जनसंख्या १ लाख २६ हजारमा झन्डै ६० हजार यहीँ बसोबास गर्छन्। हरेक वर्ष बर्खामा बाढी आउँछ, दर्जनौंको ज्यान जान्छ, नेताहरु आउँछन्, अर्को वर्ष बाढी आउन नदिने प्रतिबद्धता व्यक्त गर्छन्, सिद्धनाथ उच्च माविका प्राचार्य नारायणदत्त भट्ट भन्छन्, 'यो क्रम चलेको सात वर्ष भइसकेको छ तर ठोस योजनासहित यो क्षेत्रको संरक्षण भने कहिले हुन सकेन। 'हरेक वर्ष बर्खामा रातभर जाग्राम बस्ने र गाउँ बग्ने प्रतीक्षाबाहेक सर्वसाधारणसँग अर्को कुनै विकल्प छैन,' प्राचार्य भट्टले दुखेसो पोखे।

झुपडीमा ओत

दुई वर्षदेखि बाँकेको होलिया–६ स्थित नरेन्द्र प्राथमिक विद्यालयको मैदानमा अस्थायी टहरामा बस्दै आएकी जलवर्षा मौर्याका लागि वर्षायाम कालझैं लाग्छ। जब आकाश गड्गडाउँछ, उनी चैयनले निदाउन पाउँदिनन्। सानो वर्षामै फुसको अस्थायी टहराबाट पानीका थोपा खस्न थाल्छन्। आठ जनाको परिवार ओत लाग्दै आएको टहराका कर्कट पाता र फुसले पानी थेग्दैन। बिस्तारादेखि गाँस चुलोसम्म जलाम्य हुन्छ। तब उनको मन बेचैन हुन्छ। ‘वर्षा भयो कि न खाना पकाउन मिल्छ न सुत्नै,’ मौर्याले फुसको घरबाट छिरेको पानीले भिजेका लत्ताकपडा, भान्सा र खटिया देखाउँदै भनिन्, दुई वर्षदेखि चिसो र पानीसँग लडेर बाँचिरहेका छौं।'

 २०७१ साउन २९ र ३० गतेको बाढीपछि  टेपरी र घोडियनपुरका १ सय ८ घरपरिवार यहाँको विद्यालय भवन र मैदानमा बस्छन्। विस्थापितलाई २०७१ भदौ २ गतेदेखि जिल्ला दैविक प्रकोप उद्धार समितिले विद्यालयमा अस्थायी रुपमा राखेको थियो। १ सय ८ विस्थापित परिवार उनकै हालतमा विद्यालयको भवन, शौचालय र खेलमैदान प्रयोग गर्दै बसिरहेका छन्। झरी परिरहेकाले यहाँका बाढीप्रभावितलाई यति बेला चिसो पानी र हावाहुरीसँग लड्नुपरिरहेको छ। एकतले माटो, फुस र कर्कट पाताको अस्थायी टहरामा झरी छेकिँदैन।

जंगलको बीचमा बस्ती रहेकाले सर्पजस्ता विषालु जीवजन्तु, कुकुरसम्मको जोखिम छ। एकतले छाप्रो भुइँमा पानीको ताल, चिसो जमिन र आकाशबाट वर्षेनि पानीको थोपाले छाप्रा चिस्यान बनाएको छ। हावाको बैयलसँगै आउने वर्षात भित्ता उछिनेर पानीभित्रै पस्छ।

‘न जमिनले पानी सोस्छ, न आकाश र हावासँगै आएको झरी छानो र भित्ताले छेक्छ,’ बाढीपीडित तिलकराम राँडले दुखेसो पोखे। उनको पाँच जनाको परिवार विद्यालयको खुला मैदानको अस्थायी टहरामा बस्छ। ‘सानो कटेरोमा आकाश र भित्ताबाट आउने पानी गर्छ,’ उनले भने, ‘दिनरात कटाउन मुस्किल छ।’

टेपरीबाट दुई वर्षअघि विस्थापित भएर आएका भगवानद्दिन मौर्या राजनीतिक दल, सरकारी र संघसस्थाका व्यक्तिले बेलाबेला स्थायी बसोबासका लागि व्यवस्था गर्ने आश्वासन दिए पनि काम नगरेको बताउँछन्। ‘हामीलाई यहाँ बाँच्नै गाह्रो भइरहेको छ, सरकारले देखेन,’ उनले भने, ‘छिटोभन्दा छिटो स्थायी बसोबासको व्यवस्था गरियोस्।’

विस्थापितलाई राहत रकम आए पनि गाविस सचिवले डेढ वर्षदेखि वितरण नगरेको उनले बताए। ‘हामीलाई राहतस्वरुप रकम दिने र स्थायी बसोबासका लागि जग्गा र घर बनाउने सामग्री सहयोग गर्ने कुरा थियो,’ उनले भने, ‘अहिलेसम्म काम नगर्दा बस्न गाह्रो भयो।’  टेपरी र घोडियनपुरमा खेतीयोग्य जमिनमा बालुवा थुप्रिएको र बस्तीमा कटान जारी राखेकाले फर्कन नसकिने उनीहरु बताउँछन्।

छिटोभन्दा छिटो जग्गाको व्यवस्था गरी घर निर्माणमा सहयोग गर्न उनीहरुको आग्रह छ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ विस्थापितको घरजग्गा व्यवस्थाका लागि गत वर्षै बजेट आउने भनिए पनि नआएकाले स्थायी बसोबास व्यवस्था गर्न नसकिएको बताए। ‘भवन डिभिजन कार्यालयमा बजेट आएर काम सुरु हुनुपर्ने हो, अहिलेसम्म बजेट आएन,’ उनले भने, ‘बजेट आउनासाथ काम सुरु हुन्छ।’

होलियालगायत अन्य स्थानमा बसोबास गर्ने बाढीप्रभावितको बसाइ वर्षामा समस्याग्रस्त रहेको उनले स्वीकार गरे। जंगलछेउ, खुला स्थानमा बस्दा समस्या रहेको उनले जनाए। विद्यालय छोडेर अन्यन्त्र जान तयार रहेपनि सरकारी पक्षबाट बास बस्ने स्थान नदिएको बाढीप्रभावितको गुनासो छ।

प्रकाशित: ९ श्रावण २०७३ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App