डडेल्धुरा–परशुराम नगरपालिका–६ कुडाका हर्कबहादुर धामी राति नसुतेको झण्डै एकसाता बितिसकेको छ। एक सातादेखि उनी हरेक राति आफ्नै गाउँ बग्ने डरले ब्युझै रहन्छन्। बिहानको मिर्मिरेमा उनी सुत्छन्। जब महिला र बालबालिका जाग्छन् उनी उनको सुत्ने पालो आउँछ।
असारको अन्तिम सातादेखि लगातार परिरहेको पानीका कारण महाकाली नदीको जल सतह बढेपछि उनीको निन्द्रा हराएको हो। उनी मात्रै होइने परशुराम नगरपालिका–६का दर्जनौं युवाहरु हरेक राति जाग्राम बसेर आफ्नो बाँकी रहेको जमिन कटान भएको हेरिरहन्छन्।
सीमलखेतका युवाहरु मात्र होइन् रंगुन र महाकाली नदी किनाराका झण्डै दुई दर्जन गाउँका युवाको पनि एक सातादेखि एउटै दिन चर्या छ– राति जाग्ने र दिउँसो भएपछि सुत्ने। ‘दिनमा देखिएको सुन्दर गाउँ बिहान उठ्दा बगरमा परिणत भइसकेको हुन्छ,’ परशुराम नपा–६ रमेश पनेरुले भने, ‘कति बेला कँहा बगाउने हो ठेगान नै नभएपछि सर्वसाधारण रातभरी जाग्राम बस्ने गरेका छौं।’
महाकाली र रंगुन नदीले बर्षेनी सयौं रोपनी जमिन कटान गर्ने गरेको छ। नदी किनारमा बसेका हजारौं मानिस रातभर कति बेला खोला बढ्ने हो भनेर जाग्राम बस्ने गरेका छन्।
जिल्लाको भित्री मधेशका तिन वटा गाविसका दर्जनौं गाउँले हरेक बर्ष यही नियती भोग्दै आएका छन्। तीन वर्ष अघिका दर्जनौं गाउँ बाढीका कारण सखाप भएका छन्। ‘श्रीमती छोराछोरीलाई सुत्न लगाएर आफूहरु रातभरी नदी कटानको रेखदेख गरिरहेका छौं,’ परशुराम नपा–६ जयलाल धामीले भने, ‘महाकालीले दैनिक ठूलै कटान गरिरहेको छ।’ महाकालीको कटानले कुन परिवारै लैजाने हो भन्ने चिन्ताले पनि जाग्राम बस्नु पर्ने हुन्छ।’
आलीताल गाविस र परशुराम नगरपालिका अधिकांश उब्जाउ भूमीपनि अहिले बगरमा परिणत भइसकेको छ। ‘एकातिर रंगुन छ, अर्कोतिर महाकाली ,पन्तुरा र सांदनी नदीले बर्षे कटान गरिरहेको छ,’ परशुराम नगरपालिका कार्यकारी अधिकृत लालबहादुर योगीले भने।
ठाउँ ठाउँबाट हरेक वर्ष हुने कटानले ठूलो संख्यामा बस्ती बिस्थापित हुने क्रम बढिरहेको छ। परशुराम नगरपालिकाको वडा नम्बर ६ पुरै बाढीबाट प्रभावित छ । वडाकै कयनपानी , सरकुंणा, ठण्डझाला, सीमलखेत , तातापानी , कराली , भोरकुण्डा जस्ता पुराना बस्तीहरु बगिसकेका छन्।
८ वर्ष पहिले ३३ जनाले ज्यान गुमाएको वडा नम्बर ३का आधा दर्जन गाउँ बगिसकेका छन्। जति बगाउँदै गयो त्यति त्यति बचाउने प्रयास गर्यौं अब त बस्ने यो घर मात्र बाँकी छ स्थानीय बासीन्दाहरुले भने यसपाली यो पनि बग्ने लगभग निश्चित नै छ। बर्षा शुरु हुने बित्तिकै यो क्षेत्रमा आउन सक्ने सम्भावित प्राकृतिक प्रकोपका लागि जिल्ला स्तरमा ठूलो तयारी शुरु हुन्छ।
‘१० वर्ष यता दर्जनको घरबार सखाप भइसकेको छ,’ परशुराम नगरपालिका–६का पुर्व वडा अध्यक्ष दलबहादुर धामीले भने, ‘बर्षा भएको दिन रातभरी जाग्राम बस्नु पर्ने बाध्यता हो।’
‘राज्यले जति लगानी गर्यो त्यती नै बढी बस्ती बिस्थापित हुने क्रम बढेको छ। जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रबाट यो क्षेत्रमा नदी नियन्त्रणका लागि पांच बर्ष यता मात्र दुई अर्व भन्दा बढी खर्च भईसकेको तथ्यांकले देखाएको छ। गाउँ बिकास समितिदेखि राज्यका बिभिन्न निकाय हुँदै संयुक्त राष्ट्रसंघीय कार्यक्रमसमेतले यो क्षेत्रमा लगानी गरेको देखिन्छ तर तीन वर्षमै यो क्षेत्रको आधा भन्दा बढी भूगोल नदी बगरमा परिणत भइसकेको छ।
प्रकाशित: ८ श्रावण २०७३ ०९:४० शनिबार