१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कालोपत्रे नगर्नेसंग ठेक्का तोड्न स्थानीयको माग

ठेक्का तोड्न मागगरेको हस्ताक्षरसहित सिडिओलाई ज्ञापनपत्र बुझाउँदै राई। तस्बिरः महेश्वर

खोटाङको साकेला गाउँपालिकाबासीले मध्यपहाडी लोकमार्गको काम नगरेको ठेक्का तोड्न माग गरेका छन्। लोकमार्गको चखेवाभञ्ज्याङ–सेखुवा खण्डको १० किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको ठेकेदारले वर्षौँसम्म काम नगरेको भन्दै ठेक्का तोड्न स्थानीयले माग गरेका हुन्।

सदरमुकाम दिक्तेलदेखि साकेला १ चखेवाभन्ज्याङसम्मको ४६ किलोमिटर मध्ये १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाही जेभी, काठमाडौँले सम्झौता अवधि सकिएको ४ वर्ष बित्न लाग्दासम्म काम नगरेपछि स्थानीय आक्रोसित हुँदै ठेक्का तोड्न माग गर्ने निर्णयमा पुगेका हु्न्। साकेला १ नं. वडा बाँझेच्यानडाँडाबासीले साविक ठेक्का रद्ध गरी नयाँ ठेकेदारमार्फत काम गर्न ३ सय ३ जना स्थानीयले हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी (सिडिओ)मार्फत लोकमार्ग आयोजना कार्यालय धुलीखेललाई ज्ञापनपत्र बुझाएका हुन्।

संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र स्थानीय पूर्व शिक्षक रघुनन्द राईले खोटाङका सिडिओ सूर्यप्रसाद सेंडाईमार्फत मध्यपहाडी लोकमार्ग कार्यालयलाई बुझाएका छन्। ज्ञापनपत्रमा कालोपत्रे गर्ने ठेक्का पाएको भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाही जेभीले वर्षौँ बित्दासम्म काम नगरी अलपत्र छाडेकाले ठेक्का तोड्नुको विकल्प नभएको जिकीर गरेका छन्। समयमा काम नगरेकै कारण ठेक्का तोड्न मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले पनि यसअघि नै सडक विभागलाई सिफारिस गरिसकेको पनि ज्ञापनपत्रमा उल्लेख छ।

आयोजना कायालयलेसमेत ठेक्का तोड्न सिफारिस गरेको र गाउँलेहरुले पनि समयमा काम नगर्ने ठेकेदारको ठेक्का रद्ध गर्न चाहे अनुसार स्थानीयको हस्ताक्षर संकलन गरी योजना कार्यालयलाई बुझाएको राईको भनाइ छ। प्रजिअमार्फत योजना कार्यालयको ध्यानाकर्षण गराउँन स्थानीयबासीको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको राईले बताए। जेभीलाई काम गर्न दिए सडक कालोपत्र कुनै हालतमा नहुने ठहर पनि ज्ञापनपत्रमा गरिएको छ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय धुलीखेलका अनुसार २०७५ फागुन ३० गतेभित्र कालोपत्रे गरिसक्ने गरी २०७२ चैत २ गते सम्झौता गरेको जनाएको छ। १० किलोमिटर खण्डमा स्तरोन्नतिसहित कालोपत्रे गर्नुपर्ने काम म्याद नाघेको ४ वर्ष पुग्न लाग्दासम्म नगरेपछि ठेक्का तोड्न सडक विभागलाई सिफारिस गरेको आयोजना प्रमुख (डिई दीपेन्द्र पाण्डेले बताए। उनका अनुसार ठेक्का तोड्ने सिफारिस गत मंसिर दोस्रो साता नै गरेको तर, अहिलेसम्म सो बारे विभागले निर्णय गर्न भने बाँकी छ।

वर्षौँअघि गर्नुपर्ने कालोपत्रे अहिलेसम्म नगर्दा स्थानीयबासीलाई सदरमुकाम आउजाउ गर्न र दुःख बिमार पर्दा उपचार गर्न स्वास्थ्यचौकी तथा अस्पताल जान नसक्ने अवस्था छ। कालोपत्रे गर्नुअघि खनेको ट्र्याक पनि वर्षायाममा पानीले बगाएर सडक झन् हिड्नै नमिल्ने अवस्थामा पुगेको वडाध्यक्ष हेमन राईले बताए। सडक नभएका कारण वर्षौँ पहिले जस्तै गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल लानुपर्ने बाध्यता रहेको पनि उनले बताए। तर, ठेक्का तोड्न स्थानीयले हस्ताक्षर संकलन गरेर बुझाएको विषयमा भने जानकारी नभएको वडाध्यक्ष राईले बताए।

साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले पनि ठेक्का तोड्न हस्ताक्षर संकलन गरेर बुझाएको विषयमा जानकारी नभएको बताएका छन्। निर्माण कम्पनीले समयमा काम नगरेको र छिटो काम गर्न ताकेता गरिरहेको भन्दै अध्यक्ष राईले तर, सिडिओ र योजना कार्यालयमा ज्ञापनपत्र बुझाउँदा गाउँपालिकासँग कुनै समन्वय र सहकार्य नभएको बताए। उनले ठेक्का तोडेर अर्को ठेक्का लगाउदा लामो प्रक्रिया चल्ने हुँदा काम गर्न झन् ढिला हुने भएकाले यही कम्पनीलाई छिटो काम गर्न गाउँपालिकाले ताकेतासहित आग्रह गरिरहेको बताए।

‘कालोपत्रेको काम ढिला भएकै हो तर, ठेक्का तोडेर अर्कोलाई दिने प्रक्रियामा जाँदा झन् ढिला हुन्छ’ अध्यक्ष राईले भने ‘त्यसैले यही ठेकेदारलाई छिटो काम सक्ने गरी कायलनामा पत्रमा सही गराएर काम लगाउने मेरो लक्ष्य छ। कसले किन ठेक्का तोड्न ज्ञापनपत्र बुझाए, मलाई थाहा भएन। यसबारे गाउँपालिकालाई केही जानकारी छैन।’ सेवीमा संलग्न सिद्धिशाही र मैनाचुली दुवै कम्पनी सञ्चालकलाई बोलाएर यसबारे छलफल गरिरहेको र चाँडै काम सुचारु गर्नेपक्षमा आफु रहेको अध्यक्ष राईले बताएका छन्।  

प्रकाशित: १९ पुस २०७९ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App