२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

वृद्धाश्रममा गुरुपूर्णिमा

भक्तपुर-भक्तपुर, भेलुखेलस्थित सिद्धी शालिग्राम वृद्धाश्रममा मंगलबार यहाँका कलाकार तथा साहित्यकार रामशेखर नकर्मीप्रति श्रद्धा व्यक्त गर्न आउने कलाकारको लर्को लाग्यो। अहिले वृद्धाश्रममा आश्रय लिइरहेका नकर्मीप्रति गुरु पूर्णिमाका दिन श्रद्धा व्यक्त गर्न उनका शिष्यहरूको लर्को लागेको हो ।

नकर्मीलाई वृद्धाश्रममा स्थान दिलाउन भूमिका खेल्ने राजेन्द्र श्रेष्ठ पनि यो लर्कोमा थिए । ‘म पनि एउटा शिक्षक हुँ र गुरुको महत्व बुझेको छु,’ उनले भने, ‘त्यसैले उहाँप्रति सम्मान व्यक्त गर्न म यहाँ आएको हुँ।’ नकर्मीले रचना गरेका नाटकमा अभिनय गरेका राजेन्द्रले नागरिकसँंग सुनाए, ‘उहाँ मेरो मात्रै होइन, धेरै कलाकारको गुरु हुनुहुन्छ ।’

नकर्मी चिरपरिचित कलाकार हुन् । उनले अभिनय गरेकामध्ये सबैभन्दा चर्चित फिल्म ‘राजमती’ हो । देशभर नै चर्चित फिल्म  राजमतीका गीत अहिले पनि नेपालीका जिब्रामा झुन्डिएको छ– राजमती वा मतिना या वा अर्थात् ‘राजमती आऊ माया गरौं’ भन्ने बोलको गीत । यो चलचित्रका उनी पटकथा लेखक हुन् । साथै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडीद्वारा निर्मित ‘१५ गते’ टेलिफिल्ममा नकर्मीले शर्मिला मल्लको बाबुको चरित्र निर्वाह गरेका छन् । अर्को टेलिफिल्म ‘लक्ष्मी’मा पनि उनको प्रभावशाली भूमिका छ ।

भक्तपुर नगरपालिका–६ इनाचोस्थित पुख्र्यौली घर भत्किएपछि उनी महेश्वरी खेलमैदानमा निकै कष्टकर अवस्थामा बस्दै आएका थिए । पालमा बस्दा मधुमेह, दमका साथै हिँड्न समेत मुस्किल पर्ने उनको स्वास्थ्यस्थिति नाजुक बन्दै गयो । गुरुको स्वास्थ्यस्थिति देखेर उनका चेला राजेन्द्र र श्यामसुन्दर शिल्पकारले उनलाई भक्तपुर नगरपालिका–११ भेलुखेलस्थित सिद्धी शालिग्राम ज्येष्ठ नागरिक आश्रममा राख्ने प्रबन्ध मिलाए ।

बृद्धाश्रम पुगेका ख्यालिगुलु गुथि (प्रहसनको लेखक कलाकार निर्देशकको समूह) एवं किकंपा कल्चर एकेडमीका सदस्य श्यामसुन्दर शिल्पकार रामेशखर कलाकार मात्रै नभई देशकै गुरु रहेको बताउँंछन् । राजेन्द्र श्रेष्ठ, श्यामसुन्दर शिल्पकारसहित मंगलबार आफ्ना गुरु नकर्मीप्रति श्रद्धानत हुन अर्णेश्वरी शिल्पकार, हरिमान देवाकर, कृष्णराम दुवाल, लक्ष्मीप्रसाद चवाल, पदमा खयरगोली, हरिसुन्दर पोतामाहा, राजाराम बासी, हरिकृष्ण दुवाललगायत कलाकार वृद्धाश्रम पुगेका थिए ।

प्रहसन, नाटक, कथासंग्रह, उपन्यास लेखिरहने उनको कलम अझै बन्द भएको छैन । तर भूकम्पपछिको नाजुक अवस्था र उमेरका कारण उनलाई गाह्रो बनाइरहेको छ । मुलुकमा राणाविरोधी आन्दोलन भित्रभित्रै चलिरहेको बेला विसं १९९४ माघमा भक्तपुरको इनाचोमा जन्मेका रामशेखर अहिले सामान्य हिडदुल मात्रै गर्न सक्छन् ।

उनले नेपाल भाषामा ‘भजगोविन्द’, ‘जनताजनार्दन’ लगायत दुई दर्जन जति नाटक लेखेका छन् । ‘नसङ्फागु चा’ (विहानीले चिरेको रात जुन जापानी भाषामासमेत उल्था गरी प्रकाशित छ), नामक उपन्यास र ‘सिमातः फः फः स्व’ (रुखहरु मोडिएका छन् ) नामक कथासंग्रह उनले लेखेको चर्चित कथासंग्रह हुन् । उनको ‘नसङ्फागु चा’ ले गंकी–वसुन्धरा पुरस्कार नै पाएको थियो ।

उनले नेपाल भाषाको चलचित्र ‘१२ बजे’, ‘झोकमनिम्हाः’, ‘न्हीसुतु’ लगायत टेलिफिल्मको लेखन÷निर्देशन पनि गरेका छन् । यी टेलिफिल्म अहिले पनि भक्तपुरमा लोकप्रिय छन् । उनले ‘धिन्ताल’ जस्ता तीन दर्जन प्रहसन लेखेका छन् । ‘राजमती’ को पटकथा भने खोजी अनुसन्धान गरी कवि दुर्गालाल श्रेष्ठसँग मिलेर तयार पारेका थिए उनले ।

भूकम्पले घर भत्काएपछि उनको सपना छ आत्मकथा लेख्ने। काजीभाइ र विवेकमानको सहयोगमा मैले विसं २०११ मा पहिलोपटक नाटक खेलेका थिए, रामशेखरले स्मरण गरे।

 

 

प्रकाशित: ५ श्रावण २०७३ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App