१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

साकेला गाउँपालिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने चखेवा भञ्ज्याङ-सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन्।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/ मैनाचुली/ सिद्दिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै वडा नं १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिने गरी ठेक्का सम्झौता रद्द गर्न माग गरेका हुन्।

बाँझे च्यानडाँडाका तीन सय तीनको हस्ताक्षरसहितको ज्ञापन-पत्र आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन/ मैनाचुली/ सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको स्थानीय बासिन्दाले बताएका छन्। मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीय बासिन्दाले सो निर्णयमा फेरबदल नगर्न ध्यानाकर्षण गराएका हुन्।

स्थानीय बासिन्दाको तर्फबाट पूर्व शिक्षक रघुनन्द राईले बुझएको ज्ञापनपत्रमा भारत कन्स्ट्रक्सन/मैनाचुली/ सिद्दिसाई जेभीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रको काम थप अलपत्र पर्ने दावी गरिएको छ। चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको आशा नभएको उनीहरूले बताएका छन्।

भारत कन्स्ट्रक्सन/ मैनाचुली/ सिद्दिसाईले विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी २०७२ साल चैत २ गते चखेवा भञ्ज्याङ-सेखुवा सडकखण्ड कालोपत्रको सम्झौता गरेको थियो। सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेष गरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या भएको जनाइएको छ।

ठेकेदारले चखेवा भञ्ज्याङ-सेखुवा सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको जनाएको छ। कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो।

दिक्तेल-चखेवा भञ्ज्याङ सडक खण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ। दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडक खण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्र सुरु गरिएको थियो।

यस्तै दिक्तेल-चखेवा भञ्ज्याङ सडकखण्डकै पङ्खु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रक्रियामा लगिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख डिभिजन इन्जिनियर दीपेन्द्र बताए। सम्झौता म्याद नाघेको झण्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिएको हो। रासस

प्रकाशित: १८ पुस २०७९ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App