९ असार २०८१ आइतबार
image/svg+xml
समाज

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार

गलकोट नगरपालिका-३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ। गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो।

स्थानीय ढुंगाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताए। गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो। झण्डै १३ लाख खर्चेर पूरा गरिएको पदमार्गमा स्थानीयले तीन लाख बढीको श्रमदान गरेका थिए।

एक सय ४४ सिंढी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायिक वनमा रहेको स्थानीय कालो ढुंगाको प्रयोग गरिएको खत्रीले बताए। ‘पदमार्ग र कोटघर वरपरका संरचना समेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका हौं’ उनले भने, ‘बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुंगा तयार गरिएको थियो।’

कालो रङको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुंगा प्रयोगमा ल्याएका हुन्। पदमार्गमा ढुंगाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुंगाको प्रयोगबाट तयार भएका छन्। चार वर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’ को रूपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारबार तथा पर्खाल निर्माण कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो। ५० लाख रुपैयाँको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारण बिचमै रोकिएर १२ लाख रुपैयाँ फिर्ता भएपछि पदमार्ग अलपत्र थियो।

प्रयोग भएको ३८ लाख रुपैयाँमध्येबाट कोट पूजा व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ। वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम विनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताए।

कोटघरको वरपर पर्खाल तयार गरिएको छ भने सोही बजेटबाट तारजाली लगाएर सुरक्षित गरिएको खत्रीले बताए। ‘मल्लकालीन इतिहास बोकेको कोटघरमा पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, दसैं र चैते दसैंमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भए पनि पदमार्ग नहुँदा जोखिम थियो’, उनले भने, ‘पौराणिक महत्त्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ।’

‘कोटमा बलि पूजाका लागि राँगा, बोका लैजानसमेत कठिन भिरालो जमिन थियो, अहिले सजिलो भएको छ’, स्थानीय तुलसी परियारले भने, ‘अब कोटघरको प्रचारको खाँचो छ।’

तत्कालीन बाइसेचौबिसे राजाका पाला गलकोट राज्यको प्रारम्भ यही कोटबाट भएको इतिहास छ। लामो समय यही कोटमा बसेर राज्य गरेका राजा महाराजापछि गलकोट दरबारमा सरेका थिए। शक्तिपीठको रूपमा गलकोट, ताराखोला क्षेत्रका सर्वसाधारणले यहाँ बर्सेनि पूजाआजा गर्दै आएका छन्। रासस

प्रकाशित: १८ पुस २०७९ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App