पवित्रकुमार शाही
कालिकोट–तत्कालीन भौतिक तथा आवास साहायक मन्त्री धर्मदत्त उपाध्यायको निधन भएको छ। पंचायतकालदेखि राजनीतिमा सक्रिय रहँदै आएका पूर्व सहायक मन्त्री एवं पूर्व राष्ट्रिय पंचायत सदस्य उपाध्यायको शनिबार निधन भएको हो। कालिकोट स्युना गाविस – २ मा विसं १९९४ साल चैत २० गते जन्मिएका उपाध्याय दुई वर्ष अघिदेखि मधुमेह रोगले पीडित उपाध्यायको ७९ वर्षको उमेरमा काठमाडौं उपचारका क्रममा निधन भएको हो। उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उपाध्यायले जिल्ला स्थापनामा अतुलनीय योगदान गरेकाले देशकै कान्छो जिल्ला कालिकोटका जन्मदाता भनेर चिन्ने गरिन्छ। २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणाकालीन वैधानिक कानून २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्ने गरेको जिविसमा अभिलेख छ। २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रीकोटको रूपमा यस जिल्लाको नाम रहन गयो। यस जिल्लालाई कालीकोट भनी २०३२ साल ८ महिना २६ गते नामाकरण गरिएको हो। यसअघि यस जिल्लालाई तिब्रीकोट भनिन्थ्यो। त्यसैले यस जिल्लालाई ‘नेपालको कान्छो’ जिल्ला भनिन्छ।
कालिकोटलाई कान्छो जिल्लाको रुपमा स्थापित गर्न धर्मलत्त उपाध्याले आवश्यक प्रक्रिया पुर्याउन जिल्लामा बसोवास गर्ने आम नागरिकको हस्ताक्षर संकलन गरी केन्द्रसम्म पर्याएका थिए। तिव्रकोट नामक जिल्लालाई समग्र जिल्ला बन्ने गरी जुम्लामा गाभेर पछिमात्रै कालिकोट जिल्ला नामाकंन गरिएको थियो। उनले २०२० सालमा अस्थायी शिक्षकको रुपमा सेवा गरे पनि त्यो भन्दा पछि सकृय भएर राजनीतिमा लागेका थिए।
२०३१ सालमा जुम्ला जिल्लासँगै हँंदा एक पटक राष्ट्रिय पंचायत सदस्य भएका थिए। त्यस्तै कालिकोट जिल्ला स्थापनापछि दुई पटकलगातार राष्ट्रिय पंचायत सदस्य भए। पंचायतकालमा एकतन्त्रीय राजाको शासनकालका वेला तीन पटक राष्ट्रिय पंचायत सदस्य हुने कालिकोटका एक मात्र व्यक्ती उपाध्याय हुन्। पंचायतमा मात्रै नभई बहुदलीय व्यवस्था अनुसार २०५१ सालमा मध्यावधी निर्वाचनको प्रतिनिधि सभाका लागि राष्ट्रय प्रजातन्त्र पार्टी बाट भाग लिए पनि झिनो मतले पराजित भएका थिए।
उनकै पहलमा २०४० मा जिल्ला सदरमुकाम मान्मको लेकको चुचुरो खांडाचक्रमा सारियो। भुरे टाकुरे मल्ल वंशका अन्तिम राजा मलैब्रम्हको दरबार सामरिक हिसावले महत्वपूर्ण यही खांडाचक्रमा थियो भन्ने गरिन्छ, जहाँ पुरानो दरबारको भत्केको जगको भग्नावशेष हाल पनि देख्न सकिन्छ। यस्तै महत्वपूर्ण इतिहास बाकेको ठाउँ भएकाले सदरमुकाम स्थापना गरिएको र यसकाममा पनि महत्वपूर्ण योगदान उपाध्यायको रहेको राप्रपाका प्रवक्ता कालीबहादुर शाहीले बताए।
प्रकाशित: ३ श्रावण २०७३ ०४:१० सोमबार





