८ वैशाख २०८१ शनिबार
समाज

अपराधीको अखडा बन्दै मधेस

वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोला बस्ने १४ वर्षीय निरजकुमार पासवान अपहरणमा परेको ३५ दिनपछि मृत अवस्थामा भेटिए । निरजको अपहरणपछि हत्या गरी शव उनी पढिरहेको पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको सेप्टिक ट्यांकीभित्र राख्नेमा स्कुलकै भाइस प्रिन्सिपलसमेतको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

निरजको अपहरण तथा हत्यामा उनी पढ्ने स्कुलकै भाइस प्रिन्सिपल धोबिनी गाउँपालिका–१ घोडदौडपिप्रा बस्ने ३० वर्षीय दिलीपकुमार पटेल र वीरगन्ज–१७ अलौ बस्ने २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादवको संलग्नता पाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले बताए। निरज यसै स्कुलमा कक्षा ८ मा पढ्थे। मंसिर ५ गते दिउँसो २ बजेदेखि निरज हराइरहेका थिए। उनी हराएको भोलिपल्ट उनका बुवा श्रीराम हजरा दुसादले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदनसमेत दिएका थिए। निरज हराएको १२ दिनपछि बुवा श्रीराम हजारालाई फोनमार्फत ५० लाख फिरौती माग गरिएको डिएसपी गिरीले बताए। ‘तेरो छोरालाई मारिदिन्छु पनि भनेका रहेछन्,’ डिएसपी गिरीले नागरिकसँग भने, ‘डरले उनीहरू तत्कालै प्रहरीमा आएनन्, केही समयपछि मात्रै खबर गरेका थिए।’

अपहरणकारीबाट फिरौती माग गरेकोबारे पीडित परिवारले प्रहरीलाई मंसिर २५ गते मात्रै जानकारी गराएको डिएसपी गिरीको भनाइ छ। प्रहरीले यसबारे थाहा पाएपछि अनुसन्धानका क्रममा श्यामप्रसादलाई नियन्त्रणमा लियो। उनीमाथि सोधपुछ गर्ने क्रममा प्रहरीले निरजको हत्या भइसकेको पत्ता लगायो। शव व्यवस्थापन गरिएको स्थान पनि खुलायो। श्यामप्रसादसँगको सोधपुछमा घटनामा निरज पढ्ने स्कुलका भाइस प्रिन्सिपल दिलीपको पनि संलग्नता रहेको खुल्यो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। यस घटनामा तेस्रो व्यक्ति पनि संलग्न रहेको प्रहरीले जनाएको छ। तर अहिले ती व्यक्ति फरार छन्।

डिएसपी गिरीका अनुसार यो घटनाको योजनाकार श्यामप्रसाद रहेको अनुसन्धानबाट खुलेको छ। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोपसमेत छ। उनले दिलीपबाट केही समयअगाडि पैसा लिएका थिए। तर उक्त रकम चुकाउन सकिरहेका थिएनन्। सो रकम चुकाउन निरजको अपहरण गरी फिरौतीसमेत माग्ने योजना बनाएका  

रहेछन् । ‘श्यामप्रसादले दिलीपको पैसा चलाएको रहेछ। तर त्यो पैसा फस्यो, फिर्ता पनि गर्न सकेनन्। फेरि दिलीपले मागेको माग्यै रहेछन्। त्यसपछि बरू सँगै मिलेर पैसा आउने काम गरौं न भनेर श्यामप्रसादले योजना बनाएका थिए,’ डिएसपी गिरीले भने, ‘निरजलाई अपहरण गरी फिरौती माग्ने र प्राप्त फिरौती रकमबाट सापटी चुक्ता गर्ने योजना रहेछ।’

यसरी बन्यो योजना

अपहरणको निसानामा निरज परेपछि श्यामप्रसाद र दिलीपले यसलाई अन्तिम रूप कसरी दिने योजना बुन्न थाले। दिलीपले निरजलाई फोन गरी आफ्नो कोठानजिकै बोलाए। निरज भनेकै ठाउँमा आएपछि उनीहरूले कोठामा लगे। त्यहाँ पेटीले उनका आँखा बाँधे, हातखुट्टा र मुख डोरीले बाँधेर कोठामै राखे। बन्धक बनाइसकेपछि निरजका परिवारसँग फिरौती माग्ने योजना बनाए। तर निरजले बन्धकमुक्त हुन बल प्रयोग गरिरहे। चिच्याउने प्रयास गरिरहे। यहाँ फुत्किने हुन् कि भनेर उनीहरू अत्तालिए। तर निरजलाई यहाँबाट उनीहरूले अन्त लैजान पनि सकेनन्। न अन्त लैजान सकिने न यहाँ सुरक्षित राख्न सकिने भएपछि उनीहरूलाई आपत् भयो। निरज फुत्किएर भागे आफूहरूको पहिचानसमेत खुल्ने उनीहरूमा डर थियो। ‘विद्यालयकै सहायक प्रधानाध्यापकसमेत रहेका दिलीपलाई पनि डर भयो। भागेर गयो भने फस्ने डरले उनीहरूले हत्या गरेको हुन सक्छ,’ डिएसपी गिरीले भने। उनीहरूले निरजलाई अपहरण गरेकै दिन घाँटी थिचेर हत्या गरेका रहेछन्। हत्या गरेर उनीहरूले शवलाई स्कुलकै सेप्टिक ट्यांकीमा राख्न भ्याए। यसबारे लामो समयसम्म पनि हल्ला भएन। निरजको शव लामो समयसम्म फेला नपरेपछि श्यामकुमारलगायतले फिरौती माग्ने योजना बनाए।

‘निरजलाई हत्या गरेर व्यवस्थापन गरिसके पनि कसैले सोधीखोजी नगरेपछि उनीहरू फिरौती माग्ने सोचमा पुगे। सुरुमा त बन्धक बनाउने बेलामै फुत्किन खोजेपछि हत्या गरिहाले,’ डिएसपी गिरीले भने, ‘हत्यापछि हल्ला नभएपछि फिरौती माग्न सकिन्छ, पैसा दिई पो हाल्छ कि भन्ने सोचले उनीहरूले मागेका हुन्।’ तर उनीहरूले फिरौती माग्न अर्कै व्यक्तिको सिम प्रयोग गरी फोन गरेको खुलेको छ। प्रहरीले घटनामा संलग्न अर्का व्यक्तिको पनि पहिचान खुलाइसकेको छ। ‘अहिले पक्राउ परेका दुई जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘यो घटना क्रूरताको पराकाष्ठा हो।’

त्यस्तै वीरगन्ज महानगरपालिका–२७ जसौलीमा मंगलबार राति ३० वर्षीया रिंकुदेवी दासको हत्या भयो। प्रारम्भिक अनुसन्धानबाट प्रहरीले रिंकुको हत्यामा उनकै पति ३४ वर्षीय कुशल दास र उनका (कुशलका) भाइ २८ वर्षीय भरत दासको संलग्नता रहको खुलेको छ। मंगलबार मध्यरातमा बिजुलीको नांगो तार हातमा प्रवाह गरी रिंकुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका डिएसपी दीपक गिरीले बताए। आरोपित कुशलले पत्नी रिंकुलाई हत्या गर्नुको कारण ‘परपुरुषसँग लागेको’ प्रहरीसमक्ष बयान दिएका छन्।

हत्यालाई पचाउन कुशलले दुर्घटनाको रङ दिन खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रिंकुको हत्या गरेर कुशलले भाइ भरतलाई बोलाएर उनले चलाउने ना३च ६२४७ नम्बरको गाडीमा शवलाई बाहिर निकालेर टाउको किच्याएको प्रहरीले जनाएको छ। बाटोमै महिला लडिरहेको सूचनापछि प्रहरी सो स्थानमा पुगेर अनुसन्धान गर्दा दुर्घटना नभई हत्या भएको खुलेको डिएसपी गिरीले बताए। त्यसपछि प्रहरीले कुशल र भरतलाई पक्राउ गरी सोधपुछ गरेको थियो। दाजुभाइ दुवैलाई रिंकु हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

त्यस्तै महागढीमाई नगरपालिकाको बरियारपुरमा शुक्रबार अपरिचित समूहले एक भारतीय नागरिकलाई गोली हानी हत्या ग¥यो। कलैया–परियारपुर हुलाकी सडकखण्डमा पर्ने बरियारपुरको भुतही पुलनजिक रहेको एक होटलमा नास्ता गरिरहेका भारत बिहार पूर्वी चम्पारण पिपरानिवासी शिवपुजन यादवलाई अपरिचित समूहले गोली हानी हत्या ग¥यो। यादव दुई दिनअघि मात्र नेपाल प्रवेश गरेका थिए।

त्यस्तै धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीमा भतिजले काकीको हत्या गरेको खुलेको छ। सोमबार विदेह नगरपालिका–७ बेलापट्टी बस्ने ३० वर्षीया कवितादेवी साहको हत्या गरेको आरोपमा उनका आफ्नै भतिज २० वर्षीय दिलीपकुमार साह पक्राउ परेको धनुषा प्रहरी प्रवक्ता (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले बताए।

घरमा कोही नभएको बेला मौका छोपी दिलीप आफ्नी काकी कविताको सुत्ने कोठामा प्रवेश गरी १४ महिने छोरालाई कुटपिट गरी घाइते बनाई काकीको हत्या गरेको डिएसपी क्षेत्रीले बताए। हत्या गरेर दिलीपले नै काकीको करेन्ट लागेर मृत्यु भएको छरछिमेकमा हल्ला फैलाएका थिए। खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुग्दा मृतकको अनुहारमा गम्भीर चोट लागेर रक्ताम्य र अर्धनग्न अवस्थामा शव फेला परेको थियो। तालिमप्राप्त कुकुरसहित पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिलीपको हातको बुढी औलामा तथा घाटीको भागमा सानासाना निचोरिएको जस्तो दाग देखिएको थियो। उनको शरीर खानतलासी गर्दा उनले लगाएको अन्डरवेयरभित्र मृतकले प्रयोग गर्दै आएको मोबाइल बरामद भएको छ। घटनाको समय उनले लगाएको जिन्स पाइन्ट र भेस्टमा रगत लागेको कपडा आफ्नै घरमा ब्यागभित्र लुकाईछिपाई राखेको अवस्थामा पेला पारेको प्रहरीले जनाएको छ।

मृतक कविता पतिसहित तीन छोराछोरीसँगै बस्दै आएकी थिइन्। घटनाको समय कविताका एक छोरी र एक छोरा बाहिर खेल्न गएका थिए। उनी १४ महिने छोरासँग घरमा थिइन्। उनका पति पनि घरबाहिर थिए। कविताकी जेठी छोरी ७ र माइला छोरा ३ वर्षका छन्। दिलीपमाथि कर्तव्य ज्यान मुद्दा अनुसन्धान भइरहेको छ।

त्यस्तै सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–१ नरगी गाउँका रामशंकर यादव, अजय साह र एक युवकको हत्या गरी दुर्घटनाको रूप दिइएको खुलेको छ। नरगी गाउँका ३२ वर्षीय रामशंकर यादवको हत्या गरी दुर्घटनाको रूप दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिरहाको बरियारपट्टी गाउँपालिका–१ नरगीका रामशंकर यादव, दीपेन्द्र यादव र अजय साह मिल्ने साथी थिए। उनीहरू एकै गाउँका घनिष्ठ भए पनि फरक दलमा संलग्न थिए। अरू बेला सँगसँगै भए पनि चुनावका बेला उनीहरू अलगअलग उम्मेदवारका लागि मत माग्न खटिएका थिए।

चुनाव सम्पन्न भयो। परिणाम पनि सार्वजनिक भयो। फेरि उनीहरू सँगसँगै भए। सोही क्रममा मंसिर ९ गते उनीहरू गाउँकै होटलमा सँगै खानपिन गर्न बसेका थिए। खानपिनकै क्रममा उनीहरूबीच चुनावी परिणामको विषयमा विवाद भयो। कुटपिटपछि रामशंकरको हत्या गरेको आरोपमा प्रहरीले अजय साह र दीपेन्द्रकुमार यादवलाई पक्राउ ग¥यो। हत्यालाई दुर्घटनाको रङ दिन रामशंकरको शव नरगी कुसन्डी सडकमा फालिएको थियो। रामशंकरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै दीपेन्द्रले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। घटनास्थल पुगेका प्रहरीले मृतकको शव हतारहतार उठाएर पोस्टमार्टमका लागि लगेपछि शंका लागेर स्थानीयले मृत्युको कारण खोतल्न थाले। रामशंकरको हत्या भएको सुराक पाएपछि आफन्तले अनुसन्धानका लागि प्रहरीलाई जानकारी गरेका थिए।

रामशंकरकी पत्नी चन्द्रिकादेवी यादवले पतिको हत्यारालाई हदैसम्मको दण्ड दिन बिन्ती गरेकी छन्। चन्द्रिका र रामशंकर १० वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। उनका तीन वर्षे छोरा प्रियान्सुर र पाँच वर्षीया छोरी डेजी छन्। चन्द्रिकाको एउटै माग छ, ‘हाम्रो परिवारको सहारा खोस्नेलाई हदैसम्मको सजाय होस्। लालाबालाको पिता खोस्नेमाथि राज्य कठोर सजाय सुनाओस्।’

त्यस्तै सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ भेल्ही गाउँमा जग्गासम्बन्धी विवादमा देवरले भाउजूको कुटपिट गरी हत्या गरेको खुलेको छ। सागर देवीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई प्रहरीले पक्राउ गरेको छ। सागरदेवीलाई कुटपिट गर्न पुकारका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनितादेवी रायसमेत संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। दाजुभाइबीच जग्गाको विषयमा पुरानो विवाद रहेको र सोही विषयमा समयसमयमा दाजुभाइबीच झगडा हुने गरेको थियो। पुरानो जमिनकै विषयमा भएको विवादमा कुटपिट गरी सागरदेवीको हत्या गरेको प्रहरीले जनाएको छ।

सिरहाको मिर्चैया नगरपालिका–२ मलहनिया गाउँकी २६ वर्षीया लक्ष्मी निया कापरको शव अकरहिया सामुदायिक वनमा हत्या भएको अवस्थामा फेला प¥यो। प्रहरीको अनुसन्धानबाट उनको हत्यामा सोही ठाउँ बस्ने चिनजानकै २० वर्षीय राजकुमार कोइरी र नितेशकुमार रजकको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। जबर्जस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि पेटमा खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा कोइरी र रजकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको सिरहाका प्रहरी प्रवक्ता (डिएपी) सुभाष बुढाथोकीले बताए।

धनुषाको बटेश्वरमा एक युवकले बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको खुलेको छ। बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी २७ वर्षीया रीतादेवी यादवको हत्या आरोपमा उनककै पति वीरेन्द्र यादव पक्राउ परेका छन्। बिहान चिया पकाउन भन्दा अटेर गरेको निहुँमा वीरेन्द्रले बन्चरो रितामाथि बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारबाट मृत्यु भएपछि वीरेन्द्रले घटना अन्यत्र मोड्न अज्ञात समूहले पत्नीमाथि बन्चरो प्रहार गरेको हल्ला फैलाएका थिए। उपचारका लागि श्रीमतीलाई अस्पताल पु¥याएका थिए। तर प्रहरीले सोधपुछ गर्न थालेपछि वीरेन्द्रले आफूले नै बन्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको धनुषा प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र क्षेत्रीले बताए। उनले प्रहार गरेको बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेका थिए। उक्त बन्चरो प्रहरीले बरामद गरी वीरेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनका चार वर्षीय र ६ वर्षीय दुई छोरा छन्।

बढ्दो आपराधिक घटनाले मधेसको परम्परागत सामाजिक मिलापलाई खलबल्याइदिएको छ। मधेसी समाजमा पछिल्लो समय यस किसिमका घटना बढ्दै जानुले समाज क्रूरतातर्फ अघि बढिरहेको संकेत दिन्छ। ‘सामान्य कुरामा यस किसिमको क्रोध यस समाजका लागि अस्वाभाविक हो,’ सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा भन्छन्, ‘मिलनसार समाज बिस्तारै ज्यानमारा बन्दै जानु डरलाग्दो संकेत हो।’

पर्साका डिएसपी गिरी भन्छन्, ‘आपराधिक मानसिकताका व्यक्तिले घटाउने अपराध त परिवेशले फरक पार्दो रहेनछ तर पछिल्ला केही घटना समाजलाई नै झस्काउने खालका छन्। क्रूर व्यक्ति जुनसुकै समाजमा हुन सक्छन्। क्रूरताको हद हुँदो रहेनछ।’ पछिल्लो समय समाजमा क्रूरताको पराकाष्ठा नाघ्ने गरी भएका अपराधका घटनाले सामाजिक सद्भाव, सौहार्र्दता, मानवतालाई छोप्दै गएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउनदेखि मंसिरसम्म (पाँच महिना) यस प्रदेशमा २५ जनाको हत्या भएको छ। उल्लिखित घटनाले मधेसी समाजमा गर्मी र ठन्डीको पराकाष्ठा मात्र नभई अतिवादी आपराधिक मानसिकताको पनि पराकाष्ठा नाघेको देखिन्छ। यी घटनाले मधेसको मिलनसार मौलिक छविलाई नै खलबलाई दिएको बुद्धिजीवीहरू बताउँछन्।

प्रकाशित: १५ पुस २०७९ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App