२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

प्राविधिक सिप सिकेपछि गाउँमै उद्यम गर्दै युवा

कृषि र पशुपालनमा प्राविधिक सिप सिकेपछि युवा गाउँमै स्वरोजगार बन्न थालेका छन्। रोजगारीका लागि विदेश जान तयार रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले घर–गाउँमै व्यावसायिक बन्ने प्रयासमा लागेका हुन्। 

गाई, बाख्रा, बंगुुर, कुखुरा र मौरीपालन, बेमौसमी तरकारी खेतीलगायतको तालिम पाएपछि विशेषगरी १६ देखि ३० वर्ष उमेरका युवा कृषिमा आकर्षित भएका हुन्। जिल्लाका चुलाचुली, रोङ र माइजोगमाई गाउँपालिका तथा माई नगरपालिकाका युवा अहिले कृषि र पशुपालनमा व्यावसायिक बन्न थालेका हुन्। तालिममात्र होइन, थोरैमात्रामा ‘बीउ पुँजी’समेत पाएपछि ती युवालाई खेतीपाती र पशुपालनमा सहयोग पुगेको छ।

इलामस्थित मानवअधिकार मञ्च नेपालले सञ्चालन गरेको ‘सामाजिक रुपान्तरणका लागि युवा’ परियोजनालाई स्थानीय सरकारहरूले समेत साथ दिएपछि युवा लाभान्वित भएका हुन्। जीविकोपार्जनका वैकल्पिक उपायको खोजी र सिप विकासमार्फत् स्वरोजगार, उद्यम र स्थानीयस्तरमै जीविकोपार्जनका लागि सहयोग उद्देश्यले कृषिमा युवा परिचालन गरिएको हो।

उद्यमशिलता र व्यावसायिक योजनाबारे युवालाई तालिम दिइएको परियोजना संयोजक सन्तोष मगरले जानकारी दिए। ‘कृषि र पशुपालनमात्र होइन, युवालाई सशक्तीकरण, सुरक्षित आप्रवासन, मानव बेचबिखन नियन्त्रण, नेतृत्व विकासलगायतबारे पनि तालिम दिइएको छ,’ उनले भने, ‘युवा भन्नेबित्तिकै व्यवसायमात्रै गर्छन् भन्ने हुँदैन, युवा चौतर्फी क्षेत्रमा जोडिने भएकाले उनीहरूलाई तालिम, सचेतना र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेका हौं।’  

प्रकाशित: १३ पुस २०७९ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App