४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदै छन्।

आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिष्टियन  महासंघका अध्यक्ष सिबी  गहतराजले बताए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ सालपछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको हो।

दिवसका अवसरमा २०६३ देखि २०७४ सालसम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा २०७५ देखि २०७७ सालसम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। २०७८ सालदेखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ।

हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ। तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, मानव अधिकारवादी लगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।

पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ। रासस

प्रकाशित: १० पुस २०७९ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App