काठमाडाैं-काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भैरहेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले असार पाँच गते काठमाडौंबाट पक्राउ गरेका नर्भिकका चिकित्सक अरुणकुमार गुप्ता र गणेश शाहलाई जनही एकलाख धरौटी माग गरेको हो । न्यायाधीशद्वय ध्रुबकुमार पियाँको इजलासले गुप्ता र रामप्रसाद अधिकारीको इजलासले शाहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
धरौटी बुझाउने कागजी प्रकृयामा दुबै चिकित्सक रहेका छन । ब्युरोले गणेश शाहलाई ११ लाख १३ हजार र गुप्ताबाट पीडित तीनजनाको क्षतिपूर्ती बापत साढे दुईलाख बिगो मागदाबी गरेको थियो ।
अदालतका शाखा अधिकृत माधव लोहनीका अनुसार बुद्धिमान श्रेष्ठसाग मागदाबी गरिएको ७० लाख र विनिता मण्डलबाट एकलाख १९ हजार मागदाबी गरिएको मुद्दाको थुनछेक बहस भैरहेको छ ।
प्रकाशित: २० असार २०७३ ११:४१ सोमबार