५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नगरप्रहरीकै मिलेमतोमा मौलाउँदो फुटपाथ व्यापार

काठमाडौं-सुन्धारा, न्युरोड, रत्नपार्क आसपासका क्षेत्रमा हुँदै आएको फुटपाथ व्यापार काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरीकै कमजोरीका कारण मौलाएको पाइएको छ। अनुगमनका लागि खटिने महानगर प्रहरीले नै फुटपाथ व्यापारीसँग रकम लिएर प्रश्रय दिने गरेको फेला परेको हो।
पैदलयात्रीको चाप हुने क्षेत्रका फुटपाथमा हिँड्न नै अवरोध हुने गरी व्यापारीले फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका छन् । ‘कानुनले फुटपाथमा व्यापार गर्न नपाइने भनेको छ । तर व्यापारी भने कानुन मिचेरै व्यापार गर्दै आएका छन्,’ महानगर प्रहरी महाशाखा मध्यक्षेत्र इन्चार्ज डिएसपी विष्णु जोशीले भने, ‘नगर प्रहरीले दैनिक अनुगमन गर्दा पनि आँखा छलेर व्यापार भइरहेको छ ।’ डिएसपी जोशीकानुसार मध्यक्षेत्र महाशाखा न्युरोड क्षेत्रमा ६ बजेसम्म र सुन्धारा, रत्नपार्क आसपासका क्षेत्रमा ५ बजेसम्म निगरानी गर्दै आएको छ । जनशक्तीको कमीले गर्दा प्रभावकारी निगरानी हुन नसकेको भने जोशीले स्विकारे ।
‘मेरो कमान्डमा अहिले १२ जना नगर प्रहरी छन् । न्युरोड, सुन्धारा, रत्नपार्क, बागबजार, माइतीघरलगायत क्षेत्रमा छाडा गाईबस्तु, अवैध विज्ञापन र फुटपाथ लगायतको अनुगमन गर्दै आएका छौं,’ जोशीले भने, ‘थोरै जनशक्तिले ठूलो क्षेत्रको अनुगमन गर्नुपर्छ, अनि कसरी प्रभावकारी हुन सक्छ ?’
फुटपाथमा व्यापार गर्ने व्यापारी भने नगर प्रहरीले आफूसँग रकम लिएर पसल राख्न दिने गरेको दाबी गरेका छन् । ‘५ बजेपछि प्रहरी नआउने भएकाले राख्न पाइन्छ । तर त्यसअघि भने प्रहरी आइरहन्छ,’ नाम नबताउने सर्तमा सुन्धारा अगाडि फुटपाथमा व्यापार गरिरहेका एकजनाले नागरिकसँग भने, ‘प्रहरीलाई त बेलाबेलामा सय÷पचास दिन्छौं, आउँछ जान्छ । गाडी आएका बेला भने भाग्नु भनेर प्रहरीले नै संकेत गर्छन् ।’
‘नगर प्रहरीमाथि आरोप लाग्नु स्वाभाविकै हो,’ डिएसपी जोशीले भने, ‘यस्ता घट्ना हुँदैनन् भनेर सय प्रतिशत ठोकुवा गर्दैनौं, तर यस वर्ष भने भएका छैनन् ।’ जोशीका अनुसार गत वर्ष भने व्यापारीसँग रकम लिने कर्मचारीमाथि कारबाही समेत गरिएको थियो । ‘पैसा लिएर भन्दा पनि जनशक्ति अपुग भएर नै यस्तो समस्या आएको हो,’ जोशीले भने, ‘फुटपाथमा व्यापार गर्दै गरेको नगरप्रहरीले भेटे सामानसहित उठाउने र सामान महिना दिनसम्म राखेर १ सय देखि १५ हजार रुपैयाँसम्म जरिवाना गरी छाड्ने गरेको छ।’
यता महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ पनि सडक अतिक्रमण गरेर व्यापार व्यवसाय चलाउने धन्दा बढेको भने स्विर्काछन् । ‘महानगरभित्र फुटपाथदेखि खाली जमिन समेत अतिक्रमण गरी पहुँचवालाले कमाउधन्दा गरिरहेका छन्,’ अधिकृत तामाङले भने, ‘जनशक्ति नभएकै कारणले यस्तो धन्दा बढेको हो ।’ अतिक्रमणविरुद्ध अभियान नै बनाएर महानगरले अतिक्रमणको अपरेसन थाल्ने गृहकार्य गरिरहेको तामाङले जनाए । ‘नेपाल प्रहरीसँग सहकार्य गरेर अभियान चलाउन छलफल भइरहेको छ,’ तामाङले भने, ‘फुटपाथ तथा जग्गा अतिक्रमणविरुद्ध महानगरले केही महिनाभित्रै अभियान थाल्दैछ ।’
महानगर प्रहरीमा रहेका रिक्त पद पनि चाँडै नै  पदपूर्ति गरिने तामाङको भनाइ छ । ‘९० जना नगर प्रहरीका लागि विज्ञापन खुलाउने तयारी भइरहेको छ,’ उनले भने, ‘यही असारभित्र विज्ञापन खुला गरिनेछ।’ अहिले महानगरसँग ४८ जना करार र १ सय १२ जना स्थायी गरी १ सय  ६० जना नगरप्रहरी छन् ।

 

प्रकाशित: २० असार २०७३ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App