पोखरा/म्याग्दी-गत चैतमा पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक भयो। बैठकमा सहभागी विदेशी पाहुनासामु ‘इज्जत जोगाउन’ विमानस्थलदेखि होटलसम्म र केही दायाँबायाँको सडक हतारहतार मर्मत गर्न लगाइयो ।
ठेकेदारले विमानस्थलदेखि होटलसम्मको काम पूरा गरे तर दायाँबायाँ सडकको काम नसकिँदै बैठकको तिथि आइहाल्यो । अधुरै रहेको सडक मर्मत अढाई महिनापछि बल्ल सुरु भएको छ । मध्य बर्खामा नागढुंगा खण्ड चक्ल्याउनेदेखि कालोपत्रे गर्ने काम भइरहेको छ ।
सहिदचोकदेखि हल्लनचोकसम्मको करिब ३ किलोमिटर सडकको दायाँबायाँ नाली, फुटट्र्याक र साइकल लेन बनाउने काम पनि यही बेला थालिएको छ । उक्त खण्डमा विश्वबैंकको सडक सुरक्षा सहयोग कार्यक्रम (आरएसएसपी) अन्तर्गत सडक डिभिजन कार्यालयमार्फत चार करोड रुपैयाँ खर्च गरिँदै छ । योजनाअनुसार सहिदचोक–हल्लनचोक खण्डमा मेमा सुरु भएर ६ महिनामा काम पूरा भइसक्नुपथ्र्यो । यसबाहेक घारीपाटन, बिरौटाका भित्री खण्डमा पनि बर्खा लागेपछि ढल बिच्छयाउने, नाली बनाउने, खाल्डा पुर्नेलगायत काम भइरहेका छन् ।
डिभिजन सडक कार्यालय, पोखरा उपमहानगरपालिका लगायत विकासे अड्डाले सहरका भित्री खण्डमा अहिले साना आकारका कामलाई तीव्रता दिएका छन् । यी निकायले हिउँदमा रोकिएका थाल्न बर्खायाम नै पर्खिए ।
बर्खामा बनाइएका सडक बलियो नहुने प्राविधिकको भनाइ छ । ‘यो सडक कालोपत्रे गर्ने समय नै होइन । तर, नेपालमा वर्षाैंदेखि बजेट सक्न बर्खाका बेला काम थाल्ने प्रवृत्ति छ,’ इन्जिनियर किसान सिंह भन्छन्, ‘यो बेलाको कालोपत्रे सडक र पर्खाल तथा नालीको संरचना बलियो हुँदैन ।’ उनका अनुसार बर्खामा पानीले भिजेर गिट्टी चिसो हुन्छ । अलकत्राले चिसो गिट्टी राम्ररी समाउँदैन । पेलेर र बढी तापक्रम दिएर कालोपत्रे गर्दा माथिल्लो सतह राम्रो देखिए पनि भित्री खण्डको चिसोले सडक बलियो हुन दिँदैन ।
पर्खाल बनाउँदा पनि झरी बाधक हुन्छ । सिमेन्ट र बालुवा मिश्रण गरेर लगाइने पर्खाल सामान्यतया दुई घन्टामा सेट हुने भए पनि बलियो हुनचाहिँ दस घन्टा पानीबाट जोगाउनैपर्छ । पर्खाललाई प्लास्टिकले छोपेर राख्नुपर्ने हुन्छ । ‘सडक किनारको नाली, पर्खाल प्लास्टिकले छोपेर सम्भव छैन । त्यही भएर असारका बेला पर्खाल लगाउने, नाली बिच्छ्याउने काम राम्रो होइन,’ उनले भने, ‘यो बजेट दुरुपयोग गर्ने उपाय मात्र हो ।’ हिउँदमा चुप लाग्ने अनि बर्खा लागेपछि हतारमा काम गर्ने नीति सरकारले रोक्नुपर्ने इन्जिनियर सिंहको भनाइ छ ।
पोखरा उपमहानगरपालिकाका इन्जिनियर शारदामोहन काफ्ले आर्थिक वर्षको अन्त्यमा काम गर्नु बाध्यता रहेको सुनाउँछन् । ‘बजेट नै समयमा आउँदैन । जब आर्थिक वर्ष सकिन थाल्छ, बल्ल बजेट पास हुन्छ । त्यसैले सधैं बर्खायाम सुरु भएपछि काम हुने गरेको हो,’ उनले भने, ‘यसमा स्थानीय तहबाटभन्दा केन्द्रीय तहमै नीति बनाउनुपर्छ ।’
काफ्लेका अनुसार अहिले पोखरामा भित्री सडक टालटुल गर्ने, ढल बिच्छ्याउने, खाल्डाखुल्डी पुर्ने काम भइरहेका छन् । मूल राजमार्गमा समेत नालाको काम भइरहेको छ । ‘यसपटक त नाकाबन्दीले फागुनसम्मै इन्धन अभाव भयो । त्यसलै सबै काम रोकिए । फागुनपछि काम गर्दा ढिलाइ हुन पुग्यो,’ उनले भने ।
डिभिजन सडक कार्यालय पोखराका इन्जिनियर जगत प्रजापति जनताको दबाबले गर्दा पनि यो बेला काम गर्नुपरेको बताउँछन् । ‘हाम्रोमा नीतिगत निर्णय नै गलत छ । अन्तिम समयमा बजेट आउँछ अनि सक्नैपर्ने बाध्यता छ । त्यसले गर्दा ढिलाइ हुन पुगेको हो,’ उनले भने, ‘जनताको दबाब पनि यही बेला पर्छ। अनि बर्खाका बाबजुद काम गर्नुको विकल्प छैन ।’ सरकारले उपयुक्त नीति नल्याएसम्म यो संस्कार कहिल्यै नसुध्रिने उनी बताउँछन् ।
म्याग्दीमा पनि उही रोग
म्याग्दी सदरमुकाम बेनीबजारलाई कालीगण्डकी नदीबाट जोगाउन पक्की तटबन्ध बनिरहेका बेला अचानक बाढी पस्यो । त्यसले तटबन्ध निर्माणमा ढिलाइ हुन पुग्यो । चालू आर्थिक वर्षभित्रै सक्नुपर्ने बाध्यताका कारण बर्खाको अवरोध हुँदाहुँदै निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ ।
बर्खामा काम गरिएकाले ६६ मिटर लामो तटबन्ध बलियो नहुनेमा स्थानीय चिन्तित छन् । तटबन्धका लागि खर्चिंदै गरेको १ करोड ८८ लाख ७५ हजार रुपैयाँ पानीमै बग्ने जोखिम छ । ठेकेदार कम्पनी बिएन कन्स्ट्रक्सन र मुक्तिनाथ पोखराले असार मसान्तभित्र काम सक्ने दाबी गरेका छन् । ‘ठेक्का प्रक्रिया ढिला सुरु भयो । त्यसले गर्दा काम पछाडि धकेलियो, तैपनि हामी समयमै सक्नेछांै,’ बिएन कन्स्ट्रक्सनका प्रमुख नारायण जिसीले भने, ‘तोकेको मापदण्डभित्रै रहेर गुणस्तर कायम गर्नेछौं ।’
जिल्लामा सानो आकारका असारे विकास योजना पनि तीव्र पारिएको छ । ५० हजार रुपैयाँदेखि करोडसम्मका योजनालाई आर्थिक वर्षको अन्तिमसम्म सम्पन्न गर्ने गरी सम्बन्धित निकायले ताकेता गरिरहेकाले उपभोक्ता र ठेकेदार कम्पनी भेल छल्दै काम गरिरहेका छन् । बेनी नगरपालिकाको रत्नेचौरबाट बेनीतर्फ विस्तार भइरहेको सडक कालोपत्रेसहितका योजना छन् ।
जिल्ला विकास समिति, सिँचाइ डिभिजन, भूसंरक्षण कार्यालय, बेनी नगरपालिकासहितका विकासे अड्डाले ढिलो गरी उपलब्ध गराएको योजनाका कारण निर्माणमा असर परेको आयोजना प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ । असारमा धान रोपाइँमा व्यस्त हुनुपर्ने गाउँले विकासनिर्माण कार्य सक्नुपर्ने बाध्यताले उपभोक्ता समितिमार्फत विकासे योजनामा खटिइरहेका छन् ।
स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले वर्षाले केही असर गरे पनि योजना सम्पन्न हुने चरणमा रहेको बताए । ‘विगतमा जस्तो धेरै समस्या अहिले छैनन्,’ उनले भने, ‘नियमित अनुगमन तथा योजनाबारे स्थानीयलाई समेत जानकारी गराइएकाले सहजै काम सकिने अवस्था छ । गुणस्तरमा कमी आउन नदिन नियमित अनुगमन गरिरहेका छांै ।’ आर्थिक वर्षको सुरुआतमा चुपचाप बसेका कार्यालय बल्ल अहिले तातेका छन् । विवादित तथा पूरा हुन नसक्ने योजनाको बजेट रकमान्तर गरेर भए पनि काम गरिरहेका छन् ।
सदरमुकाम बेनीबजारको न्युरोडआसपास नाली विस्तारदेखि विकट मुना, मुदीसम्मका योजनाको काम अन्य महिनाको तुलनामा असारमा तीव्र पारिएको छ । पश्चिम म्याग्दीको मराङ गाविसमा बर्खाले सडक अवरुद्ध पारेको छ, तैपनि बजेट सक्ने हतारोमा विस्तारको काम रोकिएको छैन । ‘बर्खाले अवरुद्ध गर्ने जान्दाजान्दै काम थालिएको छ, यो बजेट सक्ने मेसो मात्रै हो,’ त्यहाँ कार्यरत एक मजदुरले भने।
प्रकाशित: २० असार २०७३ ०२:२४ सोमबार