९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मधेसमा शीतलहरको कहर

तीन दिनमा पाँचको मृत्यु, स्थानीय सरकारलाई छैन चासो

शीतलहरबाट जोगिन परालको बिछ्यौनामा ज्यान तताउन बाध्य गोलबजार मुसहरी टोलका विपन्न । तस्बिर: मिथिलेश/नागरिक

परालले छाएको सानो छाप्रो। एकातिर दाउरा र अर्कातिर परालको बोझाको बारबेर। चिसो भुइँमा पातलो सुकुल ओछ्याइको। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलका श्यामदेवी सदायको छाप्रोको अवस्था हो यो। यही ओछ्यानमा कठ्यांग्रिएर उनको साताजनाको परिवार थरथर काँप्दै शीतलहरको सिरेटो काट्दैछन्। चार छोराछोरी र वृद्धा आमालाई छाप्रोभित्र राखेर श्याम दम्पती घरबाहिर खुला आकाशमुनि बस्छन्। जाडो छल्न उनीहरूले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर उनीहरू जसोतसो चिसो छल्दैछन्।

मुसहरी टोलकी ७० वर्षीया मलभोगिया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा पराल सिरक–डसना बन्छ। पराल बालेरै चिसो छल्नु उनीहरूको बाध्यता बनेको छ। ‘मजदुरी गरेर कमाएको दुई–चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?’ सुकुम्बासी बस्तीकी जँगली सदाय भन्छिन्, ‘भगवान्ले जाडोरूपी काल पठाउँछन्, थरथर काँप्दै गरेका हामी गरिबलाई सरकारले देख्दैन।’ चिसो सुरु भएपछि अहिलेसम्म योे बस्तीमा सरकार वा सरकारी संयन्त्र नआएको उनीहरू बताउँछन्। गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थालिए पनि यो विपन्न बस्तीसम्म त्यस्तो कुनै वस्तु आइपुगेन, न त संघसंस्थाले बाँडेका कम्बल नै आइपुगे,’ जँगलीले गुनासो पोखिन्। साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ। नरहा गाउँपालिका–२ पानवारीकी सुकुम्बासी ललितादेवी सदा चिसो भुइँमा निदाउनुपर्ने बाध्यताले दुःखी छिन्। ‘कहिलेकाहीँ त मलाई पनि कठ्यांग्रिएर मरिन्छ कि जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छाड्छन्।’ यसपालिको पुस–माघको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ। दैनिक ज्यालामजदुरीबाट गुजारा गर्ने सो बस्तीमा जाडो महिना कहर बोकेर आउँछ।

आर्थिक विपन्नताका कारण उनीहरू बाक्लो कपडा, सिरक–डस्ना केही किन्न सक्दैनन्। दलित समुदायका मानिस बिहानबेलुका घुर तापेर जिउ तताउने गर्छन्। गरिबहरूको बस्तीमा एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनीहरूका लागि जाडोको सहारा नै घुर हो। तीन दिनदेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मधेस प्रदेशका विपन्न बस्तीमा अत्यास बढेको छ। लहान नगरपालिका–२३ गढियाकी सुमित्रा सदा भन्छिन्, ‘हाम्रा लागि जाडोको सहारा नै घुर हो।’ बाँसको टाटीले घेरिएको घरमा चिसो हावा पसेर निदाउन सक्दिनन् उनी। दैनिक मजदुरी गरेर खानुपर्ने उनको दैनिकी शीतलहरले रोकिदिएको छ। शीतलहरका कारण मधेसका विपन्न परिवार छटपटाइरहेका छन्। उनीहरू स्थानीय सरकारसँग बाक्ला लुगाफाटा, दाउरा र ओढ्नेओछ्याउने कपडाको याचना गरिरहेका छन्। तर संघीय, प्रदेश र स्थानीय सरकारले चासो देखाएका छैनन्।

मधेस प्रदेशअन्तर्गतका जिल्लाहरूका स्थानीय सरकार, विपद् व्यवस्थापन समितिहरूले बर्सेनि शीतलहरबाट विपन्नलाई जोगाउन वन कार्यालयसँग दाउरा मागेर बाँड्न पत्राचार गर्नेबाहेक केही गरेको पाइन्न। मुटु कँपाउने चिसोमा मजदुरी गरेर साँझ घर फर्केने विपन्नहरू राति घुर तापेर ओछ्यानमा निदाउन जान्छन्। अधिक चिसोका कारण श्वासप्रश्वास, दमलगायत बिरामीले निदाएकै ठाउँमा ज्यान गुमाउने गरेका छन्।  

कठ्यांग्रिएर र जलेर पाँचजनाको मृत्यु

मधेस प्रदेशका सिरहा, महोत्तरीलगायत चार जिल्लामा चिसोले कठ्यांग्रिएर तीन दिनमा चारजनाको र चिसो छल्न बालेको घुरमा जलेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा भाइजिटोलका ६० वर्षीय कोकवा महराको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। बजारमा मागेर गुजारा गर्दै आएका महराको बुधबार सुतेकै ठाउँमा कठ्यांग्रिएर मृत्यु भयो।  

महोत्तरीको गौशाला नगरपालिका–५ की ६५ वर्षीया रामपरीदेवी पासमानको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ। मंगलबार श्वासप्रश्वासमा समस्या आएपछि स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारका लागि भर्ना भएकी पासवानको बुधबार उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एकल महिला पासवान सामाजिक सुरक्षा भत्ताको सहारामा जीवन निर्वाह गर्दै आएकी थिइन्।  

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी टोलका ५० वर्षीय राजेन्द्र चौधरीको चिसोले कठ्यांग्रिएर सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। चिसोले श्वासप्रश्वासमा समस्या भएपछि नमुना अस्पताल हरिवनमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा चौधरीको मृत्यु भएको थियो। यस्तै सर्लाहीको हरिपुर नगरपालिका–६ बस्ने लक्ष्मीपुरका ८० वर्षीय रामभगत माझीकोे चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। चिसोका कारण श्वासप्रश्वासमा समस्या भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै सर्लाहीको हरिवनमा चिसोबाट जोगिन आगो ताप्ने क्रममा जलेर सोही नगरपालिका–३ की ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो। सोही स्थानमा तुलसी हुमागाईंले सञ्चालन गरेको चिरान मिलमा कुरुवाको काम गर्दै आएकी रखाल बुधबार साँझ मिलभित्रै आगो तापेर बसेकी थिइन्। आगो तापिरहेको अवस्थामा अचानक शरीरको कपडामा आगो सल्केर घाइते भएकी रखालको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। असावधानी र न्यानो कपडाको अभावका कारण मधेसमा बर्सेनि मानिस घुर ताप्ने क्रममा जल्छन्। न्यानो कपडा भएको भए उनीहरूले घुर ताप्नु पर्दैनथ्यो। मधेसमा शीतलहरको मौसममा हुने जलन गरिबी र आर्थिक अवस्थासँग जोडिएको छ।  

स्थानीय सरकार उदासीन

तीन दिनदेखि शीतलहरका कारण मधेसका विपन्न परिवार चिसोका कारण छटपटाइरहेका छन्। उनीहरू स्थानीय सरकारसँग बाक्ला लुगाफाटा र ओढ्नेओछ्याउने कपडाको याचना गरिरहेका छन्। तर स्थानीय सरकार न्यानो कपडा जोरजाम गरिदिन कुनै चासो नदेखाएका उनीहरू बताउँछन्। स्थानीय सरकारको उदासीनताले जाडोमा ज्यान बचाउन विपन्न र गरिबहरूलाई मुस्किल भइरहेको छ। मधेस प्रदेशअन्तर्गतका जिल्लाहरूका स्थानीय सरकार डिभिजन वन कार्यालयसँग दाउराका लागि बल्ल माग पत्र पठाउने तयारीमा छन्।

प्रकाशित: ८ पुस २०७९ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App