२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बाक्लिसाका आगलागी पीडितले पाए राहत

खोटाङको केपिलासगढी गाउँपालिका ४ स्थित बाक्सिला आगलागी पीडितहरूलाई राहत वितरणको कार्य सुरु भएको छ।

सोमबार साँझको आगलागी पीडित ९ परिवारलाई प्रदेश मन्त्री तथा संघीय सांसद रामकुमार राई (पासाङ), उद्योग वाणिज्य संघ बाक्शिला, खोटाङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, उपशाखा बाक्शिला र जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले राहत वितरण गरेका हुन्।

प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीसमेत रहेका नवनिर्वाचित सांसद राईले अग्नि पीडित ९ परिवार प्रत्येकलाई १/१ वटा सिरक, १/१ वटा कुकर, ४/४ वटा थाल, ४/४ थान गिलास, १/१ थान ठुलो जग, १/१ थान सानो जग वितरण गरे।

शपथ ग्रहणका लागि राजधानीमा रहेका मन्त्री राई जिल्लामा आगलागी भएपछि सहानुभूति व्यक्त गर्न र राहत वितरण गर्न भनेर मंगलबार साँझ गृह जिल्ला खोटाङको बाक्शिला पुगेका हुन्।

उनले पीडितहरूलाई सहानुभूति दिँदै व्यक्तिगत खर्चमा खरिद गरेको राहत सामग्री वितरण गरे। ‘म त नयाँ सांसदको शपथ खान राजधानी गएको थिएँ’ नागरिकसँगको सम्पर्कमा राईले भने ‘जिल्लामा आगलागीको दुःखद  घटना भएको जानकारी आयो, सहानुभूति व्यक्त गर्न र केही राहत पनि दिऊँ भनेर जिल्ला आएँ।’

बुधवारै जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रस सोसाइटीले पनि राहत सामग्री पनि पीडितहरूलाई दिएका छन्। गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेंढाईले रेडक्रसको तर्फबाट दिइने त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, पुरुषका लागि सर्ट पाइन्ट र महिलाका लागि साडी कपडा वितरण गरे।

गाउँपालिकाले पनि पीडित परिवारलाई राहत दिन भनेर ५ लाख रुपैँया छुटाउने निर्णय गरेको छ। बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले पीडितहरूलाई पुनर्स्थापना र क्षतिपूर्तिका लागि प्रारम्भिक चरणमा सो परिमाणको रकम दिने निर्णय गरेको अध्यक्ष समिर राईले बताए। सो रकम क्षतिको आधारमा नगदै वितरण गर्ने र अर्को चरणमा थप राहत दिने विषयमा बैठकले निर्णय गर्ने अध्यक्ष राईले बताए। अन्य क्षेत्रबाट पनि सक्दो राहत संकलन गर्न पहल र समन्वय गर्ने गाउँपालिकाले गर्ने बैठकको निर्णय भएको छ।

यसैबिच अग्नि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले सामूहिक राहत संकलन अभियान सुरु गरिएको  छ। पीडितहरूको पुनर्स्थापना र राहत वितरणका लागि जिल्ला भरी एक द्वार प्रणालीमार्फत सहयोग संकलन अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

जस अनुसार मंगलबार एकै दिन बाक्शिला बजारबाट ४ लाख ५५ हजार ९५ रुपैंया संकलन भएको छ।

बाक्शिला बजारका व्यापारी दिपक गुरुङको घरबाट उब्जेर फैलिएको आगोले स्थानीय रमेश परियार, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ र अकबर राईको घर नष्ट भएको थियो। आगोले केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको सवा करोड बराबर क्षति भएको थियो भने इन्द्रा राईको ७ लाख ५० हजार, दीपकको ५४ लाख ८५ हजार, रत्ना गुरुङको १३ लाख ७२ हजार बराबर क्षति भएको थियो।

त्यसैगरी रमेश परियारको ७१ लाख ९ हजार, अकबर राईको ६३ लाख, काँग्रेस गाउँपालिका कार्यसमितिको २ लाख, डिल्लीकुमार श्रेष्ठको १ करोड ४१ लाख ७७ हजार, उनका छोरा पवनको २० लाख ४० हजार गरी जम्मा ४ करोड ९९ लाख ३३ हजार बराबर धनमाल नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए।

प्रकाशित: ६ पुस २०७९ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App