२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीयद्वारा घरमै आएर नेपालीमाथि कुटपिट

भारत र नेपालको सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका– ९ जुगेडामा गोली चलेको छ। दुई वर्षअघि तस्कर समूहले दुई प्रहरीको वीभत्स हत्या गरेर मोहना नदीको बीचमा गाडेको जुगेडोको सीमा क्षेत्रमा मंगलबार बिहान ३ बजेतिर गोली चलेको हो। गोलीको खोका मिलेको भए पनि कसले कसमाथि गोली प्रहार गरेको भनेर खुल्न नसकेको प्रहरीले बताएको छ।

दुई देशका तस्कर गिरोहले यस क्षेत्रबाट नियमित तस्करी गर्ने गरेको स्थानीय बताउँछन्। सीमा क्षेत्रमा बन्दुक पड्केको अवाज सुनिएको स्थानीयले बताए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सीमा क्षेत्रमा दुई राउन्ड गोली चलेको बताए। गोलीका दुई खोका फेला परेको उनले बताए। गोली कसले कसमाथि चलाएको हो भन्ने नखुलेको उनको भनाइ छ। कसैलाई गोली लागेको अहिलेसम्म जानकारी प्राप्त भएको छैन।

राती पौने ३ बजेतिर ४–५ जनाको समूह वडा नं ९ जुगेडाका प्रजापति बिष्टको घरमा प्रवेश गरेको थियो। उक्त समूहमा रहेका युवाले भारतीय भाषा बोलिरहेका स्थानीयले बताएका छन्। उक्त समूहले घरको ढोका फोड्न खोज्दा थाह पाएर बाहिर निस्केका बिष्टमाथि उनीहरूले हातपात गरेका थिए। बिष्ट घाइते भएका छन्। उक्त समूह चोरी गर्न आएको प्रहरीको भनाइ छ। सीमापारि भारतबाट उक्त समूह घरमै आएर कुटपिट गरेको स्थानीयले बताए।

बिष्टको घरमा आएको समूह त्यहाँबाट गएपछि सीमा क्षेत्रमा गोली चलेको आवाज सुनिएको स्थानीयले बताए। सीमा क्षेत्रमा गोली चलेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। तस्करहरूको सक्रियताले जुगेडाको सीमानाका जोखिमपूर्ण मानिने स्थानीय बताउँछन्। दुई वर्षअघि प्रहरी सहायक निरीक्षक र एकजना जवान गरी दुईजनाको हत्या गरेर नदीको बीचमा गाडिएको यो नाकामा तस्करी नरोकिएको स्थानीयको भनाइ छ।

कैलालीमा असुरक्षा बढ्दै गएकोमा स्थानीय चिन्तित बनेका छन्। आइतबार साँझ कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार गरिएको थियो। गोली प्रहार गर्नेको अझै पत्तो लाग्न सकेको छैन। अत्तरियाको पूर्वरोड सशस्त्र प्रहरीको वाहिनीनजिकै सुन व्यवसायी विकास सुनारमाथि गोली प्रहार गरेर उनीसँग रहेको सुन र नगद लुटेर लगेका थिए।

प्रकाशित: ६ पुस २०७९ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App