८ वैशाख २०८१ शनिबार
समाज

खोटाङको बाक्सिलामा आगलागी: ५ करोड बराबरको क्षति

खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्शिला बजारमा आगलागी हुँदा ५ करोड रूपैयाँ बराबरको क्षति भएको छ।

सोमबार साँझ पौने ५ः०० बजे स्थानीय दिपक गुरुङको घरमा आगलागी हुँदा ५ घर र झण्डै दर्जन पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए।

डिएसपी मुकारुङका अनुसार आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्ण नष्ट भएको छ। आगलागीबाट केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको सवा करोड बराबर क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय शुभराज राईको ३ तले घर भाडामा लिएर अध्यक्ष राईले सञ्चालन गर्दै आएको कपडा पसल, किराना र पुस्तक तथा स्टेशनरी सबै जलेको छ भने नगद २ लाखसमेत गरी १ करोड २५ लाख क्षति भएको प्रहरी मुचुल्काले देखाएको छ। सोही घरमा रहेको इन्द्रा राईको ७ लाख ५० हजार बराबरको होटल र होटलका सामान पनि आगाले खाएको छ।  

आगोले दीपकको ३ तले घर, नगद १ लाख, अन्य सरायसी सामान र पसलको सम्पूर्ण सामग्री जलेर ५४ लाख ८५ हजार बराबरको क्षति भएको छ। गुरुङकै घरमा भाडामा चलाइएको रत्ना गुरुङको पसल, नगद ७५ हजार र अन्य सामग्री गरी १३ लाख ७२ हजार बराबर क्षति भएको प्रहरी मुचुल्कामा उल्लेख छ।  

त्यसैगरी रमेश परियारको ३ तले घर र घरभित्रका सामान, नगद १ लाख, टेलर्स, कपडा, मेसिनलगायत सम्पूर्ण सामग्री जल्दा ७१ लाख ९ हजार बराबरको क्षति भएको छ। आगो संक्रमण हुन नदिन स्काभेटर लगाएर भत्काइएको अकबर राईको ३ तले घर तथा घरमा भएका ६३ लाख बराबरको धनमाल पनि क्षति भएको प्रहरीले जनाएको छ। सोही घरमा रहेको नेपाली काँग्रेस केपिलासगढी गाउँ कार्यसमिति कार्यालय जल्दा २ लाखको क्षति भएको पार्टीले जनाएको छ।  

आगोले अर्को डिल्लीकुमार श्रेष्ठको ३ तले घर, नगद ५० हजार, भाँडा पसल तथा कपडा पसल जलेर १ करोड ४१ लाख ७७ हजार बराबर क्षति भएको छ। सोही घरमा सञ्चालित डिल्लीकै छोरा पवनको भाँडा पसल, नगद ४० हजार जलेर २० लाख ४० हजार बराबरको क्षति भएको प्रहरी भनाई छ।  

गाउँपालिकाकाको पुरानोमध्येको बाक्शिला बजारमा परम्परागत ढुंगामाटो, काठ र जस्तापाताको छाना भएका घरहरु लहरै एकापसमा टाँसेर बनाइएको हुनाले एउटामा उब्जेको आगो सहजै अर्को घरमा सल्कन पुग्दा निमेशभरमै क्षति भएको हो। एउटा घर भत्काउनुका साथै नजिकको प्रहरी, नेपाली सेना र स्थानीयबासी जुटेर झण्डै ४ घण्टापछि आगो नियन्त्रण लिइएको छ।  

आगोले ४ करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको ठहर भएको प्रहरीले जनाएको छ। यति ठूलो मात्रामा क्षति गर्ने गरी भएको आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन। आगो विद्युतीय सर्ट भएर लागेको अनुमान गरिएको डिएसपी मुकारुङले बताए ‘यसबारे अनुसन्धान भइरहेको छ।’  

आगलागी पीडितलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न गाउँपालिकाले माग गरेको छ। तत्काल वडा कार्यालय र गाउँपालिकाले छाक टार्ने व्यवस्था गरेको तर, दीर्घकालीन पुनस्थार्पना र उचित राहतका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गाउँकार्यपालिका बैठकले गरेको उपप्रमुख गुरुराज राईले बताए। राहत र पुनस्र्थापनाका लागि स्थानीइ सरकार लागि परेको र संघीय सरकार र प्रदेश सरकारलगायत सरकारी तथा गैरसरकारी संघसंस्थासँग आग्रह गर्ने निर्णय गरेको बताए। गाउँपालिकाले पनि पीडितलाई राहत र क्षतिपूर्तीको व्यवस्था गर्ने तयारी गरिरहेको उपाध्यक्ष राईले बताए।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले पीडितहरुलाई आफन्तको घरमा राखिएको र हाललाई खाने कुराको मात्र व्यवस्था गरिएको बताए। घट्नास्थलमै रहेका सिडिओ सेंढाईका अनुसार मंगलबार रेडक्रस सोसाईटी र जिल्ला बिपत व्यवस्थापन समितिबाट पाउने राहत उपलब्ध गराउने तयारी भइरहेको छ। पीडितहरुले नियमानुसार पाउने राहत र पुनस्र्थापनाको पहल पनि गर्ने उनले बताए।

प्रकाशित: ५ पुस २०७९ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App