पोखरा-हुन त मेरो चाहना धेरै पढेर घुम्ने कुर्सिमा बसेर जागिर खाने होईन, तरपनि अहिले स्कुल पढ्दैछु,’ स्याङजा, फेदीखोलाका दुर्गा बिक, ६९, धेरैलाई यस्तै सुनाउँछन्। बिकले भनेजस्तै पढेर जागिर खाने उनको उमेर कटिसकेको छ। तरपनि अरु विद्यार्थी झैं जोसजाँगरका साथ मन लगाएर छिप्पिदो बुढेसकालमा उनी स्कुल पढ्दैछन्।
बिक घरका एक्ला मान्छे हुन्। डेढदशक अघि श्रीमती चन्द्राकुमारीको मृत्यु भएपछि उनी एक्लिए । चारछोरा र दुई छोरी पनि टाढिएपछि दुर्गा झनै एक्लिए। अनि बुढेसकालको एक्लो जीवन जिउन मुस्किल हुने देखेपछि उनले एउटा अठोट गरे, ‘पाएदेखि स्कुल पढ्छु।’ अनि गाउँकै खहरे प्राविमा ३ कक्षामा भर्ना भए। ६३ वर्षको उमेरमा स्कुल धाउन थालेका उनी अहिले कालाभैरब उच्चमाविमा दशकक्षाका विद्यार्थी हुन्।
सानोमा पढ्न र लेख्न मन भएपनि घरको अवस्थाले अवसर जुरेन । त्यो चाहना पुरा गर्न अहिले एकल जीवनमा विद्यालयलाई साथी बनाएका छन् । अनि झोलाका पुस्तक उनका सहयात्री बनेका छन् । भन्छन्, ‘बुढेसकालमा पढ्छु भन्दा सरहरु (शिक्षक) पनि सुरुमा अचम्म पर्नुभयो, तर मेरो चाहनालाई उहाँहरुले बुझिदिनुभयो । त्यसपछि पढ्ने अवसर पाएँ । अहिले यिनै कापिकलम र किताब मेरा साथी बनेका छन् । सायद किताब,कापि नभएको भए म झनै एक्लो हुन्थे ।’
श्रीमतीको मृत्युपछि एक्लिएका बिकले छोराबुहारीको उत्तिसारो माया पाएनन् । अनि, घरमा दिन काट्न मुस्किल भएपछि उनले विद्यालय जाने अठोट गरे । त्यही अठोटका साथ लागिपरेका उनी अहिले दुईघण्टा दुरीको विद्यालय पुगेर पढिरहेका छन् । ‘मेरो पढाई म जस्ता एकल वृद्धवृद्धाका लागि सिकाइ हुनसक्छ । अनि सरकारका लागि यो अभियान चलाउने आधार बन्न सक्छ । म जस्ता धेरै बुढाबुढी छन् । ती बुढाबुढी घरमा बेकामे बसेका छन्,’ उनले भने, ‘पढ्न जाँदा धेरथोर सिकियो, अनि समय पनि कट्यो । घरमा बसे मन बहलाउँछु । स्कुल जान्छु, दिनभर हासखेलमा बित्छ । मलाई अहिले निकै आनन्द मिलेको छ ।’
बिकको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ । उठ्यो, हातमुख धोयो, अपुरो ‘होमवर्क’ पुरा ग¥यो, अनि खाना पकाएर खाएर ८ बजे विद्यालयतिर लम्कियो । विद्यालय ४ बजे छुट्छ, २ घण्टा हिडेर घर फर्कियो, बिहानको घरधन्दा सक्यो, अनि खाना पकाएर खाने र गृहकार्य गर्ने । ‘बेलुकी दशबज्न नपाउँदै निन्द्राले च्याप्छ, अनि होमवर्क पुरै नगरी सुत्छु, बिहान छिटै उठेर पुरा गर्छु,’ बिक भन्छन, ‘राती अबेरसम्म बस्न सक्दिन । बरु बिहान ४ बजे उठ्न सक्छु । अब त बुढेसकाल पनि लागिसक्यो ।’ विद्यालयको पोशाकमा सजिएर, घाँटीमा टाइ कसेर, ढाडमा पुस्तकसहितको झोला, एउटा हातमा लाठि अर्काे हातमा छाता बोकेर उकाली ओराली गर्दा नचिनेका धेरैले उनलाई टोलाएर हेर्छन । केहीले जिज्ञाशा पनि राख्छन् । जसले सोध्छ, उनको सिधा जवाफ हुन्छ, ‘बुढेसकालमा पनि पढ्छ हुन्छ नि ।’
सानो घरबाहेक सम्पत्ति नभएका उनको आर्थिक अवस्था निकै कमजोर छ । त्यही भएर घरको खर्च जुटाउन बिदाको दिन उनी ज्यालादारी काम गर्छन । अनि त्यही आम्दानीले घरखर्च चलाउँछन् । ‘हुँदा खान्छु, घरमा खाने केही नहुँदा भोकै पनि सुतेको छु । तर, भोकै सुतेपनि अगाडि किताब देख्दा भोकप्यास हराउँछ,’ उनले भने, ‘पाखुराको भरमा पेट भर्ने हो । गाउँको सानोतिनो काम गर्न पाए भने मेरो छाक टरिहाल्छ । बिरामी नभए हातमुखै जोर्न उत्ति समस्या छैन ।’ ‘लेख्न, पढ्नमा माया बसेपछि भोकतिर्खा समेत बिर्सने रहेछ, उनले भने ।
बिकका सहपाठी नातीनातीना सहरका छन् । नातीनातीना सरहका सहपाठी कहिलेकाँही झैझगडा पनि गर्छन । ती साथीहरुलाई मनाउन उनै बिक अगाडि सर्छन, अनि मिलेर पढ्न सुझाउँछन् । ‘नातीनातीना उमेरका साथीहरुसँग पढ्दा रमाइलो लाग्छ । कहिलेकाँही उनीहरु झगडा गर्दा मिलाउन म नै अघि सर्छु,’ बिक भन्छन्, ‘उनीहरु झगडा गर्दा यसो गर्नु हुँदैन भनेर सम्झाउँछु । मैले सम्झाउँदा उनीहरु मान्छन् पनि।’
बिकसँग विद्यालय जाँदाको अर्काे खुशी पनि छ, सबै शिक्षकले उनलाई बुबा भनेर सम्बोधन गर्छन । ‘शिक्षकहरुले पनि मलाई माया गर्नुहुन्छ । अरुले १० वटा प्रश्नको उत्तर लेख्नुपर्दा मलाई ५÷६ वटा मात्र प्रश्न सोध्नुहुन्छ । अनि बुबा भनेर सम्बोधन गर्नुहुन्छ । त्यो बेला मलाई आनन्द लाग्छ,’ उनले भने, ‘डिग्रि गरेका छोरा नाती सरहका शिक्षकलाइ मैले गुरु पाएको छु । मलाई उहाँहरुको मायाले पनि पढ्नमा प्रोत्साहन गरेको छ ।’
आगामी वर्ष एसएलसी परीक्षा दिने तयारीमा रहेका बिकको सबैभन्दा अप्ठेरो बिषय गणित हो । ‘आउने वर्ष एसएलसी परीक्षा दिने हो । राम्रो अंक ल्याएर पास गर्ने धोको छ,’ उनले भने । शरिरले साथ दिएसम्म पढ्ने उनको धोको छ । बिक भन्छन, ‘डिग्री पढ्ने उमेरसम्म त के सकिएला र तैपनि शरिरले साथ र सहयोगीले हात दिएसम्म म पुस्तबाट टाढा हुने छैन ।’
सहपाठी शेरबहादुर थापा निकै नै पाका उमेरका साथीसँग पढ्न पाउँदा खुशी छन् । थापा भन्छन, ‘हामी बरु खेल्न जान्छौं । उहाँको ध्यान पढ्नमा छ । हामीले जानेको उहाँलाई सिकाउँछौं । उहाँबाट पनि हामीले धेरै सिक्छौं ।’ पाका उमेरका साथी पाउँदा आत्मविश्वास जाग्ने गरेको थापाको भनाइ छ ।
शिक्षकहरु पनि बिकको जोसजाँगर देखेर दंग छन् । विद्यार्थी भएपनि बिक आफुहरुको समेत अभिभावक रहेको उनीहरुको भनाइ छ । ‘बुबा सरहको विद्यार्थीलाई पढाउन पाउँदा हामी समेत खुशी छौ । यो सिकाइ अरु वृद्धवृद्धालाई समेत हुनेछ,’ शिक्षक डिआर कोइराला भन्छन, ‘अरु विद्यार्थी जस्तो उत्तिसारो ‘ट्यालेन्ट’ नभएपनि उनको पढाई तुलनात्मक रुपमा ठिकै छ । उनीसँग पढ्न पाउँदा अरु विद्यार्थीलाई पनि हौसला मिलेको छ।’
प्रकाशित: १५ असार २०७३ ०४:५२ बुधबार