घटना–१
मंसिर २० गते हराएकी काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली (पतुवार बस्ती) की ९० वर्षीया डिल्ली पतुवार हत्या गरिएको अवस्थामा फेला परिन्। मंसिर २२ गते तारकेश्वर–३ पारीवनको एक खोल्सामा उनको शव फेला परेको थियो।
त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले अनुसन्धान थाल्यो। अनुसन्धानबाट प्रहरीले मृतक पतुवारका छिमेकी रहेका तारकेश्वर–६ कै ३९ वर्षीय नरेन्द्र शिवभक्तिको संलग्नता रहेको पत्ता लागेको छ। पतुवारसँग रहेको ५० हजार लुट्ने नियतका साथ नरेन्द्रले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। जसका लागि नरेन्द्रले ‘राहत बाँडिरहेको ठाउँमा लैजाने’ भन्दै फकाएर पारीवनको जंगलमा पुर्याएको र त्यहाँ ढुंगाले टाउको र गर्धनमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
घटना–२
मंसिर २१ गते सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म सुर्खेतको एक बीभत्स घटनाको तस्बिर ‘भाइरल’ भयो। एक पुरुष प्लास्टिक झोला बोकेर बजारमा हिँड्दै गरेको तस्बिर थियो त्यो। ती पुरुष सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अमरबहादुर आलेमगर थिए। उनले बोकेको प्लास्टिक झोलामा उनकै पत्नी मीना आलेमगरको छिनाइएको टाउको थियो।
वैदेशिक रोजगारबाट फर्किएका अमर र मीनाबीच सम्पत्तिको हिनामिना सम्बन्धमा झैझगडा भइरहन्थ्यो। त्यही रिसमा अमरले पत्नीको टाउको छिनालेर हत्या गरेको बयान दिएका छन्। हत्यापछि पत्नीको टाउको बोकेर प्रहरी चौकी जान लागेका उनको बयान रहेको प्रहरीले जनाएको छ। सोही अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
घटना–३
मंसिर २६ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका एक वृद्ध दम्पती मृत फेला परे। आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र उनकी पत्नी ६७ वर्षीया नीरमाया आलेमगर हत्या भएको अवस्थामा घरमै फेला परेका थिए। दुवैको हत्यामा कक्षा ८ र कक्षा ६ मा अध्ययनरत दुई बालकको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको छ। मोबाइलमा गेम खेल्ने लत बसेका ती दुई बालकले वृद्धवृद्धासँग रहेको मोबाइलका लागि हत्या गरेको खुलेको छ।
घटना–४
यसैगरी मंसिर १३ गते बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फेउलीकी २१ वर्षीया माया लुहार र भदै नाता पर्ने १५ वर्षीया नेहा लुहार लुगा सिलाउन भन्दै नजिकै रहेको कुलाउ बजार गएका थिए। दुवैजना अर्को दिन बिहानसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ मन्दिरनजिकै मायाको शव फेला पर्यो। नेहा भने गम्भीर घाइते अवस्थामा भेटिइन्। मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो भने नेहामाथि पनि धारिलो हतियार प्रयोग भएको थियो।
त्यसपछि प्रहरी अनुसन्धानले हत्यामा सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीको संलग्नता भएको पुष्टि ग¥यो। कोलीले पनि आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। माया र आफू प्रेममा रहेको र मायाले प्रेममा धोका दिएपछि हत्या गरेको उनको बयान छ। मायाले अरूसँग पनि प्रेम सम्बन्ध राखेको भन्दै हत्या गरेको उनले स्विकारेका छन्। उनले सँगै रहेकी नेहाले हत्याबारे अरूलाई जानकारी गराउन सक्ने भन्दै उनीमाथि पनि ज्यान मार्ने नियतका साथ चक्कु प्रहार गरेको स्वीकार गरिसकेका छन्।
घटना–५
२०७७ साउन २५ गते गोंगबु गणेशस्थाननजिकै स्थानीयले रगतले लतपतिएको एउटा सुटकेस देखे। त्यसपछि प्रहरीलाई खबर भयो। प्रहरीले सुटकेस खोलेर हेर्दा त्यसभित्र टाउको र खुट्टा नै नभएको शव फेला पर्यो। त्यसपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहाराले खोजी गर्दा झन्डै तीन सय मिटर टाढा ‘जेब्रा ब्याग’भित्र मृतकको टाउको र खुट्टा फेला पार्यो। जसबाट मृतकको सनाखत भयो। मृतक दाङका कृष्णबहादुर बोहोरा थिए।
प्रहरी अनुसन्धानमा बोहोराको हत्यामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलको संलग्नता देखियो। दुवै जनाबीच विवाहेतर सम्बन्ध थियो। यौन र लेनदेनका विषयमा विवाद हुँदा कल्पनाले रक्सीमा निन्द्राको औषधि खुवाएर बेहोस पारेपछि अन्डकोषमा हिर्काएर हत्या गरेकी थिइन्। पछि छोरीको सहारामा टाउको र खुट्टा छिनालेर सुटकेस र जेब्रा ब्यागमा हालेर फालेको बयान प्रहरीलाई दिएकी छन्।
घटना–६
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का ६ जना युवाको बीभत्स हत्या भयो। गैरदलित समुदायकी युवतीसँग प्रेमसम्बन्ध राखेकै कारण नवराज विश्वकर्मासहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको घरेलु हतियारको प्रयोग गरेर हत्या भएको थियो।
उल्लिखित यी घटनाले नेपाली समाजको फेरिँदै गएको डरलाग्दो स्वरूपको चित्रण गर्छन्। यी र यस्तै तमाम घटनाले नेपाली समाजको पुरानो स्वाभावमा परिवर्तन आउन थालेकोतर्फ संकेत गरिरहेका छन्। ‘नेपाली जति वीर छन्, त्यति नै मिलनसार र दयालु छन् भन्ने विश्वसमुदायको बुझाइ छ। विगतका उदाहरण केलाएर हेर्ने हो भने त्यो सत्य पनि थियो,’ समाजशास्त्री एवं त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दीपेश घिमिरे भन्छन्, ‘तर पछिल्ला घटना र अपराधजन्य गतिविधिले नेपाली समाजको बदलिँदो स्वरूपले डरलाग्दो बनाउँदै लगेको देखिन्छ।’ यसले विश्व समुदायमा रहेको छवि धुमिल हुने चिन्ताका साथै नेपाली समुदायको सुरक्षामा समेत गम्भीर संकट देखा पर्न थालेको उनी बताउँछन्।
समाजशास्त्री घिमिरेको भनाइसँग नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बमबहादुर भण्डारीको धारणा पनि मिल्दोजुल्दो छ। ‘पछिल्लो समय देखिएका अपराधको शृंखला हेर्दा भयावह स्थिति नै छ। हुन त विश्वभर नै त्यस्तै छ,’ उनले भने, ‘नेपाली समाजको पुरानो मिलेर बस्ने, आपसमा सहयोग आदान–प्रदान गर्ने, जाति, धर्म र सम्प्रदायबीच सद्भाव सँगालेर बस्ने प्रचलनमा कहीँ न कहीँ क्षति पुगेको हो कि भन्ने चिन्ता गर्नुपर्ने बेला आएको छ।’
पाँच वर्षमा ३१३१ हत्या
नेपाल प्रहरीमा रेकर्ड हुन आएका हत्याका घटना हेर्ने हो भने पछिल्लो पाँच वर्षमा दैनिक दुईजनाको हत्या भएको छ। त्यसअघिको अवस्था हेर्दा दुई दिनमा एक जनाको हत्या हुने गरेको तथ्यांकले देखाउँछ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७३÷७४ मा देशैभर १७७ जनाको हत्या भएको थियो। त्यसको अर्को वर्ष २०७४÷७५ मा ३५६ प्रतिशत हत्याको दर बढेको देखिन्छ। उक्त वर्षमा ६३० जनाको हत्या भएको प्रहरीको आँकडाले देखाउँछ। त्यसयता लगातार ५ आर्थिक वर्षमा हत्याको दर घटेको छैन, लगातार बढेको बढ्यै छ।
प्रहरीको आकडाअनुसार आव २०७५/७६ मा ६५९ जना, २०७६/७७ मा ५५५ जना, २०७७/७८ मा ६९७ जना र २०७८/७९ मा ५९० जनाको हत्या भएको छ। यसरी पछिल्लो पाँच आवमा मात्रै ३ हजार १ सय ३१ जनाको हत्या भएको तथ्यांकले देखाउँछ।
नियतवश हत्या बढ्दै
हत्याका घटना संख्यामा मात्र बढेका छैनन्, यस्ता घटनाले स्वरूपमा झन् बीभत्स रूप धारण गर्दै छन्। विगतमा घट्ने हत्याका घटनामा प्रकृतिमा ‘नियतवश’भन्दा ‘भवितव्य’ले बढी हत्या हुने गरेको नेपाल प्रहरीका पूर्व अधिकारीहरूको अनुभव छ। तर, अहिले भने ठ्याक्कै उल्टो छ। अधिकांश हत्याका घटना नियतवश नै हुने गरेको पाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राई बताउँछन्।
‘विगत र अहिलेका हत्या घटनाको प्रकृति र प्रवृत्ति हेर्दा निकै फरक देखिएको छ। हुन त अपराधको पनि आफ्नै डाइमेन्सन (आयाम) हुन्छ,’ उनले भने, ‘अहिले समाजको परिवर्तित रूप, प्रविधि, मनोविज्ञान, सामाजिक तथा आर्थिक समस्या कारण छन्। यस्ता यावत् कारणले अपराधका घटनाको प्रकृति र प्रवृत्तिमा ठूलै परिवर्तन ल्याएको देखिन्छ।’
निर्दयी बन्दै समाज
समाजशास्त्री, नेपाल प्रहरीका पूर्व अधिकारी तथा वर्तमान अधिकारीहरूको अनुभवले भन्छ– नेपाली समाज निकै निर्दयी बन्दै गएको छ। जसको प्रमुख कारण नेपाली समाजको परम्परागत संरचना भत्कँदै जानु प्रमुख रहेको नेपाल प्रहरीका पूर्व एआइजी भण्डारीको तर्क छ।
‘गाउँमा हुँदा परम्परादेखि नै सामाजिक, सांस्कृतिक र सद्भावयुक्त संरचना हुन्थ्यो। जसका आफ्नै मौलिक मूल्यमान्यता हुन्थे। अपराध गरे समाजले के भन्ला ?, इस्टमित्रले के भन्ला ? भन्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले सहरीकरण बढ्दै गएको छ। सहर पसेपछि मान्छेसँग एक्लिने, स्वार्थी हुने, समस्यामा साथ सहयोग नपाउने भएपछि आपराधिक सोच विकसित हुने रहेछ।’ हत्या र अपराधमा शिक्षित-अशिक्षित, धनी÷गरिब सबै समुदायका व्यक्तिको संलग्नता रहने गरेको उनी बताउँछन्।
बढ्दै गएको गरिबी र बेरोजगारीले मुख्य कारण पनि आपराधिक बीभत्स किसिमका आपराधिक घटना घट्ने गरेको उनको बुझाइ छ। ‘गरिबी र बेरोजगारीले परिवारका आवश्यकता पूरा नहुने, परिवारमै बेमेल हुने, विदेश जानुपर्दा विवाहेतर सम्बन्धले प्रश्रय पाउनेलगायत समस्याले सिर्जना गर्ने विवादले हत्याका घटना बढिरहेका देखिन्छन्,’ पूर्व एआइजी भण्डारीले थपे।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी राईका अनुसार सूचना प्रविधिको गलत प्रयोगले पनि अपराध र हत्याका घटनामा वृद्धि हुँदै गएको देखिन्छ। ‘सूचना प्रविधिका नकारात्मक पक्ष पनि छन्। जसले आपराधिक मानसिकतालाई मलजल गरिरहेका छन्,’ उनले भने, ‘विश्वव्यापी रूपमा देखिएको यो समस्या नेपालमा पनि पछिल्लो समय द्रुतगतिबाट बढिरहेको देखिएको छ।’
सहरीकरणले परस्पर एक्लिँदै गएको व्यक्ति, विभिन्न आर्थिक तथा सामाजिक समस्या र सूचना प्रविधिको गलत प्रयोगले मानवको मानसिक स्वास्थ्यमा समेत आपराधिक सोच विकसित हुँदै गएको समाजशास्त्री घिमिरेको तर्क छ। उनले भने, ‘सहरीकरणले व्यक्ति एक्लिँदै गयो। दुःख–सुखमा सहकार्य गर्ने प्रवृत्ति हराउन थाल्यो। त्यसैमा आर्थिक समस्याले तनाव थप्न थाल्यो। यसरी तनावमा रहेको व्यक्तिलाई सूचना प्रविधिले आपराधिक सोचका लागि कु–सूचित गर्ने काम गर्दा अपराध बढेको देखिन्छ।’
समुदायमा नयाँ बालबालिकामा नैतिक शिक्षाको अभाव, मानिसमा नैतिकतामा हुँदै गएको क्षयीकरण, दण्डहीनता, अपराधको राजनीतिक संरक्षणजस्ता क्रियाकलापले पनि अपराधलाई प्रश्रय दिइरहेको समाजशास्त्री घिमिरेको बुझाइ छ।
पूर्वएआइजी भण्डारी आधुनिक सुरक्षा चुनौतीलाई ध्यान दिएर राज्यले अपराधविरुद्ध संरचनाहरू, कानुन र मानसिक स्वास्थ्य स्थितिलाई पनि ध्यान दिनुपर्ने बताउँछन्। ‘आधुनिक सुरक्षा चुनौतीलाई घटाउन प्रहरीलाई पूर्वाधार र प्रविधिले सम्पन्न बनाउनुपर्छ। अनुसन्धान गर्ने निकायलाई पनि सोहीअनुसार विकसित गर्नुपर्छ। आधुनिक सुरक्षा चुनौतीलाई नै हेरेर कानुन पनि निर्माण गर्नुपर्छ,’ उनले भने, ‘सँगै सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नागरिकको मानसिक स्वास्थ्यप्रति पनि राज्यले ध्यान दिने हो भने हत्या र अपराधका घटना घटाउन सकिन्छ।’
प्रकाशित: ३ पुस २०७९ ०१:३७ आइतबार