महोत्तरीको रामगोपालपुर नगरपालिका–५ डा. पंकज चौधरीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। मंगलबार राती ११ बजे चौधरी आफ्नै घरबाट पक्राउ परेको महोत्तरीका प्रहरी एसपी कृष्ण पंगेनीले जानकारी दिए।
डा.चौधरीमाथि उनको श्रीमती नेहा चौधरीले घरेलू हिंसा र दाइजोविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत महात्तरीले सोमबार घरेलू हिंसा मुद्दामा सुनवाइ गर्दै नेहालाई घर प्रवेश गर्न दिन आदेश दिएको थियो। नेहा जिल्ला अदालतको आदेशसहित मंगलबार साँझ श्रीमान्सँग बस्न उनको घर पुगेका थिइन्।
तर डा.पंकजसहित उनको परिवारले नेहालाई घर प्रवेश गर्न नदिएपछि रातीनै पंकजलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याएको छ। पंकज पक्राउपरेपछि उनको घरपरिवारका अन्य सदस्यहरु घरमा ताल्चा लगाएर फरार भएको छ। नेहाले श्रीमान्सहित ६ जनामाथि मुद्दा दर्र्ता गराएकी छन्। तर प्रहरीले पंकजलाई मात्रै पक्राउ गरेको भन्दै आजपनि पंकजको घर पुगेकी हुन्।
श्रीमान्सँग बस्न घर पुगेकी नेहासँग पंकजकोे परिवारले विवादसमेत गरेका थिए। विवादपछि केहि समय नेहा घरको गेटमै धर्ना दिएका थिइन्। उनले स्थानीय जनप्रतिनिधिसँग घर प्रवेश गराइदिन गुहार मागेका थिइन्। तर कसैले चासो नलिएपछि उनी त्यहाँबाट फर्केका थिइन्।
नौ महिनाअघि औरही नगरपालिकाकी–१ नेहाको विवाह पंकजसँग भएको थियो। चिकित्सा पेशामा रहेका पंकज काठमाण्डौं ग्रान्डी र नर्भिक अस्पतालमा कार्यरत्त थिए। श्रीमतीमाथि हिंसा गरेको आरोपमा मुछिएपछि पंकजलाई जागिरबाट निकालिएको छ।
नेहा र पंकजको घटनामा सात वटा मुद्दा दर्ता भएको छ। पाँचवटा मुद्दा नेहाले पंकजमाथि गरेका छिन् भने दुई मुद्दा पंकजले नेहामाथि दिएका छन्। पंकजले जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विच्छेद र उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दिएका छन्। सम्बन्ध विच्छेद मुद्दामा सुनवाई सुरु भएको छैन्। निषेधाज्ञा मुद्दामा एक वटा पेशी चढेको छ। मंगलबार उक्त मुद्दामा पेशी राखिएको थियो। तर स्थगीत बेञ्चमा परेपछि सुनावाई हुन सकेन्। निषेधाज्ञा मुद्दाको अर्का पेशी पुस १९ गते तोकिएको नेहाको तर्फबाट निःशुल्क वकालत गरिरहेकी वकिल रिंकु कुमारीले जानकारी दिइन्।
नेहाले पनि श्रीमान् पंकजमाथि पाँचवटा मुद्दा दिएकी छिन्। अंश मानाचामल,घरेलू हिंसा,जलसाजी, लिखित बदर र दाइजो सम्बन्धी कसुर मुद्दा पंकजमाथि दिएको वकिल यादवले जानकारी दिइन्। दाइजो मुद्दामा ५१ लाख नगदसहित सरसमान र पाँचवर्ष कैद दाबी गरिएको छ। तर यी सबै मुद्दा दर्ता गराएपनि नेहा मिलापत्र गरी श्रीमान्सँग बस्न तयार रहेको वकिल यादवको भनाइ छ। पंकज मिलापत्र गर्न सकारात्मक भए नेहाले सबै मुद्दा फिर्ता लिएर श्रीमान्सँग बस्ने मनसायमा छन्।
प्रकाशित: २८ मंसिर २०७९ ०७:५५ बुधबार