६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द: भारतीय अस्पताल धाउँदै मिर्गौला पीडित

तीन वर्ष देख नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा नियमित ‘डायलाइसिस’ गर्दै आएका दैलेख, भैरवी गाउँपालिका–७ का हेमराज कठायत अचेल साताको दुई दिन भारतको बहराईच धाउँछन्। बहराईचस्थित बद्री शुक्ला हस्पिटलमा महँगो रकम तिरेर भएपनि उनी डायलाइसिस गराउन बाध्य छन्। 

डायलाइसिस गराउनकै लागि कोहलपुरमा तीन वर्ष देखी २६ वर्षीय कठायत डेरा गरेर बस्न थालेका हुन्। डेरामा उनीसँग श्रीमती, वृद्ध अवस्थाकी आमा र दुई नाबालक छोरी छन्। शिक्षण अस्पतालको डायलाइसिस अहिले बन्द नै भएपछि महँगो रकम तिरेर भारत जानुपर्दा डेरामा दैनिक छाक टार्न समस्या भइरहेको उनी सुनाउँछन्। 

‘शिक्षण अस्पतालको डायलाइसिस एक महिनादेखी बन्द भएपछि बहराईच पुगेर हप्तामा दुई पटक मेरा डायलाइसिस गराइरहेको छु, एक पटक त्यहाँ जाँदा सबै खर्च जोड्ने हो भने ९ हजार जति पुग्छ,’ उनले नागरिकसँग भने।

‘कोहलपुरमा डायलाइसिस गराउँदा खेरी धेरै राहत मिलेको थियो, अहिले भारत जानुपर्दा धेरै नै आर्थिक समस्या परिरहेको छ, परिवारलाई भोकै राखेर भएपनि बाँच्नका लागि डायलाइसिस गर्नु परेको छ।’

भारतमा मजदुरी गर्न पुगेका बेला कठायतको दुवै मिर्गौला काम नलाग्ने भएको थियो। नेपाल फर्केर करिब १६ लाख रकम खर्च गरेर पनि मिर्गौला प्रत्यारोपणको प्रयास असफल भएपछि कोहलपुरमा डेरा गरी डायलाइसिस गर्न थालेका थिए। ‘अस्पताल भित्रको आन्तरिक समस्या हामीलाई थाहा भएन, तर चलिरहेको डायलाइसिस सेवा अचानक बन्द गरेर हामीलाई सिधै मार्न खोजेको जस्तो लागिरहेको छ, यसरी अब भारत गएर डायलाइसिस गर्न हाम्रो क्षमताले भ्याउँदैन र सम्भव पनि छैन,’ उनले भने।

डायलाइसिस बन्द हुँदा घोराही उपमहानगरपालिका–१२ दाङ निवासी टेकबहादुर बिस्टको मनोबल अहिले धेरै घटिसकेको छ। शिक्षण अस्पतालमा डायलाइसिस सेवा चल्दा उनी हप्तामा दुई पटक (आइतबार र बुधबार) नियमित रूपमा डायलाइसिस गराउथ्ये। कोहलपुरमा विगत साढे ४ वर्ष देखी नियमित रूपमा डायलाइसिस गराउँदै आएका ४० वर्षीय विष्टले अहिले भने डायलाइसिस नियमित गराउनै छाडिसकेका छन्।

कोहलपुर–११ शान्तिनगरमा आफन्त कहाँ साहारा लिएर बसेका उनी आर्थिक समस्याले गर्दा बाहिर (भारत) गएर डायलाइसिस गराउन नसकेको बताउँछन्। ‘यसअघि मैले कोहलपुरमा हप्ताको दुई पटक डायलाइसिस गराउथ्ये, अहिले यहाँ बन्द भइसकेपछि डायलाइसिस गराउन भारत जानुपर्ने बाध्यता छ,’ उनले भने। 

‘ऋण सापटी गरेर दुई पटक मात्रै भारत गएर डायलाइसिस गराएको छु, अहिले डायलाइसिस नगराएको धेरै दिन भइसक्यो, शरीर सुन्निएर सहनै नसक्ने भइसक्यो, बाँच्नै गाह्रो भयो, ऋण माग्दा कसैले पत्याउँदैन।’

आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि लाखौँ रुपैयाँ खर्च गरेको उनले दुखेसो पोखे। ‘नेपाल सरकारले व्यवस्था गरिदिएपछि निःशुल्क रूपमा डायलाइसिस गराउन पाएका थियौँ, तर अचानक बन्द गरिँदा हामी समस्यामा पर्यौं,’ उनले थपे। आफ्नो उपचारका लागि सबै सम्पत्ति बेच्नु परेको दुखेसो पोख्दै उनले भने, ‘बरु एक छाक नखाएर भोकै बस्न सकिन्छ, तर डायलाइसिस रोकिँदा शरिरलाई सहन गाह्रो हुँदो रहेछ, अहिले मलाई धेरै गाह्रो भइसकेको छ।’

कोहलपुर–२ का बाँके, भरतबहादुर शाहीको समस्या पनि उस्तै छ। बाँच्नका लागि अहिले ऋण सापटी गरेर पनि डायलाइसिस गराउन भारतको बहराइच पुग्नु परेको बाध्यता उनी सुनाउँछन्। ‘कोहलपुरको डायलाइसिस बन्द भएपछि एक महिनादेखी भारत जान थालेको हुँ, भारतको डायलाइसिसे ज्यान त बचेको छ, तर आर्थिक रुपले धेरै समस्या भइसक्यो,’ उनले भने ‘हामी मिर्गौला पीडितको ज्यानसँग किन खेलबाड गरिरहेका होलान् ?’ अत्यावश्यक र संवेदनशील रहेको डायलाइसिस सेवा बन्द गर्नु सामान्य कुरा नभएको शाही बताउँछन्।

शिक्षण अस्पतालमा नियमित रूपमा डायलाइसिस गराउँदै आएका थुप्रै पीडितहरूको दुखेसो अहिले यस्तै सुनिन्छ। अस्पतालमा पुग्दा अचेल मिर्गौला पीडित बिरामीको बिजोग देखिन्छ।  

अस्पतालको डायलाइसिस सेवा बन्द भएको विषयमा आफूहरूले इलाका प्रशासन कार्यालय कोहलपुरमा निवेदन दिए पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ। 

कोहलपुरमा डायलाइसिस सेवा बन्द हुँदा कतिपय मिर्गौला पीडितहरू ऋण सापटी गरेर भएपनि भारतीय अस्पतालमा पुगेका छन्, भने भारत जान नसक्नेहरू बाँच्नका लागि अनेक संघर्ष गरिरहेका छन्।  

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा सञ्चालन गर्ने जिम्मा निजी सेवा प्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.ले लिएको छ। नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता गरेर विरंगले विगत तीन वर्ष देखि डायलाइसिस विभाग चलाउँदै आएको छ। तर, पछिल्लो समयमा सम्झौता अनुसारको भुक्तानी नपाएको भन्दै विरंगले सेवा नै बन्द गरेको हो। सरकारले मिर्गौला पीडित बिरामीका लागि डायलाइसिस सेवा निःशुल्क प्रदान गर्दै आएको छ। 

सरकारले २०७८ साउन महिनाबाट भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई डायलाइसिस बापतको रकम उपलब्ध गराएको छैन। जसले गर्दा अस्पतालले पनि विरंगलाई सम्झौता अनुसारको रकम भुक्तानी नगरेको पाइएको छ।

पछिल्लो समयमा निजी कम्पनीलाई डायलाइसिस सञ्चालन गर्न नदिएर सोझै सरकारसँग सम्झौता भएका सरकारी अस्पताल र मेडिकल कलेजलाई मात्र डायलाइसिस सेवा चलाउन पाउने निर्णय सरकारले गरेपछि कोहलपुरको डायलाइसिस विभाग झन् अस्तव्यस्त बन्न पुगेको यहाँ कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। 

‘डायलाइसिस जस्तो संवेदनशील सेवा ठेक्कामा अर्को कम्पनीलाई दिनु नै गलत थियो, परिणाम स्वरूप अहिले बिरामीको ज्यानमाथि खेलबाड गरेर विरंग हेल्थ केयरले सेवा बन्द गर्ने सम्मको हर्कत गर्‍यो, यो सामान्य लापरबाही होइन,’ एक चिकित्सकले नाम नछाप्ने सर्तमा भने।

अस्पतालमा यसअघि विरंग हेल्थ केयरले चार वटा मेसिन सामान्य मिर्गौला फेल भएका बिरामीका लागि र दुई वटा मेसिन ‘हेपाटाइटिस सी’ सङ्क्रमित मिर्गौला पीडितका लागि सञ्चालन गर्दै आएको थियो। तर, गत साउन महिना यता विरंग हेल्थ केयरले भुक्तानी नपाएको र मेसिन मर्मत गर्नका लागि प्राविधिक तथा अन्य सामाग्री खरिद गर्न आर्थिक कठिनाइ परेको भन्दै बिचमा पनि डायलाइसिस सेवा बन्द गर्न खोजेको थियो।

अस्पताल स्रोतका अनुसार हाल चार वटा ‘नेगेटिभ मेसिन’ मध्ये एउटा मात्रै चालु अवस्थामा छ। त्यही मेसिन पनि बेला–बेलामा बिग्रिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

‘मिर्गौला पीडित बिरामीलाई नियमित रगत चढाइरहनु पर्नेहुन्छ, रगत चढाउँदा हेपाटाइटिस सी संक्रमणको सम्भावना एकदमै धेरै हुने गर्दछ, काठमाडौँ र शिक्षण अस्पताल कोहलपुर बाहेक अन्यत्र कतैपनि हेपाटाइटिस सी संक्रमितका लागि डायलाइसिस सेवा उपलब्ध छैन,’ ति स्वास्थ्यकर्मीले भने ‘हेपाटाइटिस सी सङ्क्रमित बिरामीका लागि डायलाइसिस गर्न यहाँ एउटा मात्रै मेसिन चालु अवस्थामा छ, यसले गर्दा सबै बिरामीको हप्तामा दुई पटक गर्नुपर्नेमा हप्तामा एक पटक पनि मुस्किलले त्यो पनि दुई घण्टा मात्रै गर्न बाध्य छन्।’

विरंग हेल्थ केयरले डायलाइसिसमा प्रयोग हुने सामाग्री कुनै बेला बिरामी आफैलाई महँगोमा तिरेर किन्न लगाउने गरेको पनि स्वास्थ्यकर्मी बताउँछन्। अस्पतालको डायलाइसिस विभाग संकटमा पर्दा त्यसको प्रत्यक्ष असर मिर्गौला पीडित बिरामीले खेप्नु परेको उनीहरूको भनाई छ।

अस्पतालमा नियमित डायलाइसिस गराउन नपाउँदा गत साउन देखी हालसम्म ३३ जना मिर्गौला पीडित बिरामीको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ। हाल ३३ जना मिर्गौला पीडित बिरामी अस्पतालको सम्पर्कमा रहेका छन्। स्वास्थ्यकर्मीका अनुसार यी मध्ये हेपाटाइटिस सी र नेगेटिभ बिरामी हुन्।

विरंग हेल्थ केयर प्रा.लिका कोहलपुरस्थित स्टेसन म्यानेजर शिशिर शाहले भने आर्थिक समस्याले गर्दा चलाउनै नसक्ने अवस्था आएपछि डायलाइसिस सेवा बन्द हुन पुगेको तर्क गर्छन्।

‘हामीले २०७८ साउन महिनादेखी भुक्तानी पाएका छैनौँ, अस्पतालले सम्झौता अनुसार करिब २ करोड रुपैयाँ हामीलाई दिनुपर्ने देखिन्छ,’ उनले भने ‘अहिलेसम्म उधारो गरेर काम चलाएकै थियौँ, त्यो पनि सम्भव नभएपछि सेवा बन्द गर्नु परेको हो।’

विरंग हेल्थ केयरले कोहलपुरसहित मेची अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल र गण्डकी अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ। आर्थिक संकटका कारण बिग्रेका डायलाइसिस मेसिन मर्मत गर्न समेत नसकिएको र अहिले ३ वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको शाहले सुनाए। ‘हाम्रो क्षमताले जति भ्याउँछ, त्यति बिरामीको मात्र डायलाइसिस गर्न सक्छौँ भनेर पालो दिएका हुन्छौं,’ उनले थपे ‘डायलाइसिस गराउन हामी कहाँ पालो नपाएर बाहिर गएका धेरै बिरामीको मृत्यु भएको छ।’ शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशमबहादुर राना बन्द भएको डायलाइसिस सेवा पुनः सुचारु गराउने विषयमा अस्पताल प्रशासन संवेदनशील रहेको तर्क गर्छन्। ‘सेवा सुचारु गराउने विषयमा हामी छलफलमै छौं,’ उनले भने।

प्रकाशित: २२ मंसिर २०७९ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App