२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उषा राई मृत्यु प्रकरण: पोष्टमार्टम र प्रहरी अनुसन्धानमा बाधा

ईलाका प्रहरी कार्यालयअघि घेराउ र नाराबाजी गर्दै महिलाहरु। तस्बिर: रोहित राई

कुटपिटबाट घाइते भएको एक महिनापछि मृत्यु भएकी उषा राईलाई न्याय दिलाउने भन्दै आन्दोलन चर्किदा घटनाको अनुसन्धानमा नै प्रहरीलाई बाधा पुगेको छ।

विभिन्न व्यक्ति, महिला अधिकारकर्मीको नाममा पुगेका महिलाहरुको समूहले मृतकको परिवारजनलाई पोष्टमार्टममा सहमत नहुन निरन्तर दबाब दिएपछि २ दिनदेखि मृतकको पोष्टमार्टम भएको छैन। पोष्टमार्टममा ढिलाई हुँदा मृत्युको खास कारण खुल्न नसक्ने र वलियो प्रमाण पनि नष्ट हुने भन्दै प्रहरी भने चिन्तित छ। 

दुई दिनयता प्रहरीले पोष्टमार्टममा सहमति जनाउन मृतक परिवारजनलाई आग्रह गरिरहे पनि परिवारजनले सहमति जनाएको छैन। घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसके पनि मृतकलाई न्याय दिलाउन भन्दै आन्दोलनमा उत्रिएका महिलाहरुले संलग्न सबैलाई पक्राउ गर्नुपर्ने सर्त राखेर पोष्टमार्टम हुन दिएका छैनन्।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घटनाबारे बुझ्न र छलफल गर्न दिनहुँ मानिसहरु समूह समूह बनाएर आइरहेका छन्। उनीहरु सबैलाई लाशमा राजनीति नगर्न आग्रह गर्दै फर्काइरहेको उनले बताए। 

‘जो जो आउनु भएको छ, सबैलाई लाशमाथि राजनीति नगर्न भनिरहेको छु। प्रहरीलाई विश्वास गर्न र पोष्टमार्टम चाडै गरौं भन्दा पनि मानिरहनुभएको छैन,’डिएसपी श्रेष्ठले भने,‘जति ढिलाई भयो, त्यति प्रमाण नष्ट हुने चिन्ता छ।’

शुक्रबार मृतक उषालाई न्यायको माग गर्दै महिलाहरुको समूहले ईलाका प्रहरी कार्यालय धरान घेराउ र नाराबाजी गरेको थियो। घण्टौंसम्म डिएसपी श्रेष्ठले आन्दोलनमा उत्रिएका महिला अगुवाहरुसँग छलफल गरेर बस्नुपरेको थियो। फेरि आन्दोलन गर्ने महिलाहरुको समूह मुख्य आरोपी उर्मिला राईको घरमा तालाबन्दी गर्ने भन्दै धरान १३ जनजागृति टोल पुगेपछि प्रहरीले त्यसक्षेत्रमा पनि सर्तकता अपनाउनुपरेको थियो। आन्दोलन गर्ने समूहले कुटपिट गर्ने महिलाहरुको घर घरमा पुगेर घेराउ गर्ने, जनजागृति आमा समुहको अध्यक्षको घरमा घेराउ गर्ने गरेपछि स्थिति तनावपुर्ण बनेको थियो।

अनुसन्धानमा जुट्नुपर्ने प्रहरी आन्दोलनको कारण अप्रिय घटना हुन नदिन दिनभरि ब्यस्त हुनुपर्यो। यो कारणले आफु घटनाका प्रत्यक्षदर्शीहरुको वयान लिन जान पनि नपाएको डिएसपी श्रेष्ठले बताए। ‘काम गर्न नै पाइएन। प्रत्यक्षदर्शीहरुलाई भेट्न जाने तयारी थियो, तर प्रहरी कार्यालयमा उहाँहरु आउनुभयो, फेरि म जान लागेको ठाउँमा पनि उहाँहरु गएपछि समस्या भयो,’उनले भने,‘यसरी त अनुसन्धानमा बाधा पुग्छ।’

मृतकका काका तथा धनकुटाको शहिद भुमी गाउँपालिका वडा १ का वडाअध्यक्ष रमेश राईले शुक्रबार विहान पोष्टमार्टम गर्ने र दिउँसो अन्त्येष्टी गर्ने भनेर गाउँबाट झण्डै सय जना आफन्त, गाउँलेहरु आएको जानकारी दिए। तर, अधिकारकर्मी भन्दै आएका महिलाहरुको धेरै थरिको कुरा आएकोले पोष्टमार्टम पनि हुन नसकेको र लाशमा राजनीति होला कि भन्ने चिन्ता आफूलाई पनि लागेको बताए। मृतक उषा राईको माइती र घर शहिदभुमी गाउँपालिका हो। उनी धरान १३ मा डेरा गरि बस्र्दै आएकी थिइन्। 

‘अधिकारकर्मी भन्दै धेरै जना आउनुभएको छ। आन्दोलन पनि चर्कियो। फेरि भौतिक र मानवीय क्षति नहोस् भनेर म पनि चिन्तित छु,’उनले भने,‘प्रमाण नष्ट हुन नदिन पोष्टमार्टम गर्नुपर्छ भनेर सल्लाह दिएको छु, भोली शनिबार बिहानसम्म निर्णय हुन्छ।’

आफ्नो श्रीमान गोविन्दसँग नजिकिएको आशंकामा उर्मिला राईले केही आफन्त र महिलाहरु लिएर गत कार्तिक ३ गते उषा राईलाई मरणासन्न हुने गरि कुटपिट गरेका थिए। त्यसबेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन्। मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन्। उनको श्रीमानको करिब २ वर्षअघि नै मृत्यु भइसकेको थियो। उनले कपडा सिलाएर घर खर्च जुटाइरहेको थिइन्। शुरुमा उनी मुख्य आरोपी उर्मिलाकै घरमा डेरामा बस्थिन्। करिब ५ महिना अघि मात्र उनी धरान १३ सुर्य मार्गमा डेरा सरेकी थिइन्। उनलाई कुटपिट भएपछि उपचारको लागि वीपी प्रतिष्ठान लगिएको थियो। उपचार पश्चात डिस्चार्ज भएकी उषासँग कुटपिट गर्ने पक्षले कार्तिक ८ गते उपचार खर्च दिएर मिलापत्रसमेत गरेको थियो।

गत साता उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि वीपी प्रतिष्ठान भर्ना गरिएको थियो। आइसियुमा उपचारको क्रममा नै उनको मृत्यु भएपछि परिवारजनले उर्मिला राईसहित कुटपिटमा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएको छ। मुख्य आरोपी उर्मिला पक्राउ परेकी छिन् भने शुक्रबार उनलाई १० दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १६ मंसिर २०७९ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App