२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा पुन मतदानको माग गर्दै उजुरी

ताप्लेजुङमा करिव ५५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार प्रत्यक्षतर्फ ८८ हजार २ सय ८५ मतदाता रहेकोमा यहाँ ४८ हजार ६ सय ७९ मत खसेको छ।

दुगर्म क्षेत्रका मतदान केन्द्रहरुमा खसेको मतको पूर्ण विवरणलाई अन्तिम रुप दिने प्रयास भइरहेकोले तथ्याङ्मा केहि थपघट हुने स्थिति देखिएको छ। यता ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीस्थित दुर्गा माध्यमिक विद्यालय फुलवारी मतदान स्थल बाहेक ताप्लेजुङका अन्य सबै मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान कार्य सम्पन्न भएको छ।

अपरान्ह तिर सत्तागठबन्धन र एमाले कार्यकर्ताबीच भएको झडपपछि विवादका कारण अवरुद्ध भएको फुलवारी मतदानस्थलमा थप मतदान प्रकृया नभई अबरुद्ध हुनु अगाडि खसेको मतलाई मुचुल्का उठाई मतपेटिका ल्याउने तयारी गरिएको छ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस निर्मला योङ्याले त्यहाँको अवस्थाको बारेमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयासंग परार्मश गरेपछि तीन प्रमुख राजनीतिक दलको सहमतिमा अबरुद्ध हुनु अगाडि खसेको मतपेटिकालाई मुचुल्का उठाएर ल्याउने सहमति बनेको बताईन्।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मुख्य निर्वाचन अधिकृत योङयाले प्रमुख निर्वाचन आयुक्तसंग गरेको परार्मश तथा स्थानीय प्रमुख तीन राजनीतिक दलका प्रतिनिधिको सहमतिमा अबरुद्ध हुनु अगाडि खसेको मतलाई आधार मान्ने गरी त्यहाँको मतपेटिका उठाइएको जानकारी दिए।

दुर्गा मावि फुलवारी मतदानस्थलमा रहेका तीन मतदान केन्द्रमा २ हजार ४ सय ९ मत रहेकोमा ९ सय ३७ मत (३८.८९ प्रतिशत) खसेको थियो।

सबैभन्दा बढी मतदान मेरिङदेनको लिङतेपमा 

ताप्लेजुङमा सबैभन्दा बढी मतदान मेरिङदेनको लिङतेपमा खसेको छ। जिल्ला निर्वाचन अधिकारी खनालका अनुसार १ हजार १ सय ९० मतदाता रहेकोमा १ हजार २० अर्थात् ८५.७१ प्रतिशत मतदान भएको छ। यता ४ हजार २ सय मिटर उचाईमा रहको ताप्लेजुङको दुर्गम क्षेत्र याङमामा १२ मत खसेको छ। त्यहाँ ६१ मतदाता थिए। यस्तै २ सय ८४ मतदाता रहेको ओलाङचुङगोलामा ९७ मत खसेको छ। १ सय ६९ जना मतदाता रहेको घुन्सामा ६० मत खसेको छ। ६७ मतदाता रहेको ग्याब्ला मतदान केन्द्रमा २२ मत खसेको छ।

एमालेद्धारा लिङतेपमा पुन मतदानको माग गर्दै उजुरी

नेकपा एमाले ताप्लेजुङले लिङतेपको लक्ष्मी मावि मतदानस्थलमा पुनःमतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ। एमाले जिल्ला सचिवालय सदस्य तारानाथ घिमिरेले निर्वाचनको निश्पक्षता नभएकोले पुनःमतदानको माग सहित उजुरी दर्ता गरेको बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी प्राप्त भएको पुष्टी गरेको छ।

प्रकाशित: ४ मंसिर २०७९ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App