१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दीमा निर्वाचनका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगे

म्याग्दी जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ। प्रतिनिधिसभामा एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा मङ्सिर ४ गते हुन लागेको निर्वाचनका लागि तोकिएको मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सदरमुकाम बेनीमा दुई मतदान केन्द्र सहित जिल्लाका सबै ८२ वटा मतदानस्थलमा निर्वाचनका लागि खटिएका कर्मचारी पुगेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताए। ‘आज बेलुकीसम्म सबै मतदान केन्द्रमा टोली पुगिसकेको छ,‘सर्वदलिय बैठक समेत भइसकेको छ, भोली विहानैदेखि मतदानस्थल निर्माणको काम हुन्छ’ पौडेलले भने।

जिल्लाभित्रका सबै मतदान केन्द्रमा आयोजित सर्वदलिय बैठकमा कुनै किसिमको समस्या नभएको बताइएको छ। म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गूर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा मतदान अधिकृत अर्जुन सुबेदी सहितको २० जना कर्मचारी पुगेको छ भने धवलागिरि–४, मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा समेत गिरीप्रसाद छन्त्यालको नेतृत्वमा १९ जना कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गुर्जा र मुदीको बगर जिल्लाको सबैभन्दा विकटका मतदान केन्द्र भएकाले मतपेटिका ढुवानीमा समेत हेलिकप्टरको माग गरिएको छ। म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९ सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ। ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन्।

मतदान केन्द्रमा स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबरम्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६३ प्रकारका निर्वाचन सामग्री प्रयाप्त रहेको गूर्जाका मतदान अधिकृत अमृत सुबेदीले बताए। प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन्। मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन्।

प्रकाशित: २ मंसिर २०७९ १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App