२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

सुरुङभित्र निसासिएका १० दिन

सञ्जय र कविरको उद्धार, बेपत्ताका परिवार आशावादी

रसुवादेखि नुवाकोटसम्म १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा तिनै आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा उद्धारका लागि दबाब छ। लगातार १० दिनको प्रयासपछि एउटा आयोजनाबाट भने दुई जनाको जीवितै उद्धार गरिएको छ।

सुरुङभित्र मान्छे फसेको आशंकामा भदौ ११ देखि नै उद्धारको काम सुरु गरेको नेपाली सेनासहितको टोली बाढी गएको १० दिनपछि त्रिशूली थ्री ‘ए’बाट शुक्रबार बिहान सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गर्न सफल भएको हो। उद्धारपछि दुवैलाई उपचारका लागि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ।

मेकानिकल फोरम्यानका रूपमा कार्यरत साह र सुपरभाइजर महर्जनको उद्धारले सुरुङमा फसेकाहरूको अन्यको खोजीका लागि मनोबलन अन्य सुरुङभित्र मान्छे भेटिएको छैन। १० दिनपछि सबै अवरोध हटाएर राति २ बजे त्रिशूली थ्री ‘ए’को सुरुङभित्र पस्न सफल सुरक्षाकर्मीले आवाज दिँदा जवाफ आएको थियो। त्रिशूली थ्री ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि विपद् व्यवस्थापन गणका प्रमुख सेनानीसहित ७५ जनाको टोली खटिएको छ। उनीहरूसँगै सशस्त्र प्रहरी बलका १८ जना विपद् उद्धार टोली पनि परिचालन गरिएको थियो।

सुरुङको मुख लेदो र पानीले भरिएपछि भित्र छिर्नै कठिन भएको थियो। सुरुङको भाग एक सय मिटरसम्म गहिरोमा पुरिएको देखिएपछि त्यसलाई हटाउने उपकरण लैजानै कठिन भएको अवस्थामा १० दिनपछि दुई जनालाई जीवितै उद्धार गर्न सक्नु चमत्कार नै भएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनासँगै उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका डिएसपी अमृत थापाका अनुसार उद्धार टोली भित्र पुग्दा महर्जन र साह आँखा खोलेर हेर्न सक्ने अवस्थामै थिए। उनीहरू सुरुङको अगाडि भागतिरै भेटिएका हुन्। बाहिर पहाड नै आएर पुरिएकाले भित्र जाने बाटो बनाउनै कठिन भएको थियो।

त्रिशूली थ्री ‘ए’ भित्र सात तलाको भवन छ। त्यसमध्ये सुरुङभन्दा तल रहेको पाँच तला पूर्ण रूपमा पुरिएको छ। माथि रहेको छैटौं र सातौं तलासम्म उद्धार टोली पुगेको थियो, जुन आयोजनाको अन्तिम बिन्दु हो। तल रहेको पाँच तला रूख र ढुंगाले पुरिएकाले जान सक्ने अवस्था नरहेको र भित्र अन्य मान्छे हुन सक्ने सम्भावना पनि नरहेको उद्धारमा खटिएकाहरूको बुझाइ छ। पाँचौं तलामा पुग्दा अब मान्छे बाँकी रहेको कुनै संकेत नमिलेको उद्धारमा खटिएका एक अधिकृतले बताए।

सुरुङभित्रको उद्धारका लागि कहिले केके भयो?

बाढी गएको पहिलो दिन नै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली सुरुङमा फसेकाहरूको उद्धार गर्न रेकीका लागि पुगेका थिए तर सबै लेदो र खोलाले पुरिएर आयोजनाको मुख नै नदेखिएपछि पहिला उक्त अवरोध हटाउनुपर्ने निष्कर्षमा टोली पुगेको थियो।

१२ गतेबाट मात्रै विद्युत् आयोजनाका सुरुङभित्र जान माथिबाट छोपिएको लेदो र ढुंगा हटाउने काम सुरु भएको थियो। सेनासहितको संयुक्त टोलीले १२ गते मात्रै सुरुङको बाहिरी भाग खोज्ने काम गरेको हो। भदौ १३ गते पनि मुख्य प्रवेशद्वार पत्ता लगाउन रातभर काम गरे पनि वर्षाका कारण रोकियो।

१४ गते बिहान करिब २ बजेपछि भने कामलाई निरन्तरता दिइएको थियो। त्रिशूली थ्री ‘ए’मा १४ गते क्राउन हेड फेला परे पनि सुरुङभित्र पानी भरिएकाले कम्प्रेसरबाट अक्सिजन पठाउने तयारी गर्‍यो। सुरुआतमा भित्र लैजाने सानो एक्साभेटर खोजिरहेको उद्धार टोलीले १६ गते पानी फाल्ने र तीन वटा एक्साभेटर प्रयोग गरेर पछाडितर्फबाट पनि १५ मिटरको वैकल्पिक बाटो बनाएको थियो। भित्र प्रवेशका लागि ढुंगा फुटाउन कठिन भएको उद्धारमा खटिएका नेपाली सेनाका एक अधिकृतले बताए।

उता त्रिशूली ‘बी’मा पनि भित्र मान्छे फसेको भन्ने जानकारीका आधारमा १४ गते मात्रै उद्धार टोली पठाइएको थियो। लेदोको दलदल र आवश्यक एस्काभेटर ल्याउन र हेलिकोप्टर ल्यान्ड गर्न पनि नसकिएका कारण समयमा काम गर्न सम्भव नभएको दाबी सरकारको छ।

चिलिमे हाइड्रोका लागि नेपाली सेनासहित भारतीय सेनाको टोली परिचालन गरेर पहिलो दिन एक सय मिटर भित्र पुगे पनि पुरै टालिएको देखिएपछि फर्किएको थियो। १४ गते नै चीन र भारतबाट आएको संयुक्त टोलीले हाकुबेंसी, चिलिमे, लाङटाङ हाइड्रोभित्र फसेकाहरूको उद्धार थालेको थियो।

भदौ १५ गते त्रिशूली थ्री ‘ए’भित्र लेदो र ढुंगा भरिएपछि विस्फोट गराउनुपर्ने निष्कर्षमा टोली पुगेको थियो। १५ गते बिहान करिब १ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो। सँगै दुई वटा एक्साभेटरबाट करिब १० मिटरसम्म तल लगेर प्वाल बनाउने र सुरुङभित्रको पानी, हिलो, लेदो सफा गर्ने काम भएको थियो।

१५ गते नै भारतबाट आएको उद्धार टोली चिलिमेको सुरुङभित्र करिब एक सय मिटरभित्र प्रवेश गर्दा भित्रको भाग पुरिएकाले जान सकेन। त्यहीँबाट दुई वटा शव संकलन भएको हो। चिलिमे हाइड्रोमा नेपाली सेनासँगै भारतीय सेनाको संयुक्त टोली खोजी गरिरहेको भए पनि निरन्तर खोलाको कटानले भित्र प्रवेश गर्ने बाटोनै कठिन हुन थालेको उद्धारमा खटिएका एक अधिकृतले बताए।

१५ गते नै माथिल्लो त्रिशूली १ को सुरुङ भित्र करिब ३ सय मिटर भित्र प्रवेश गरेको थियो भने हाल सम्म त्यहाँ कुनै मानवीय संकेत फेला पार्न सकेको छैन। माथिल्लो त्रिशूली १ मा नेपाली सेनासँगै चिनियाँ र कोरियन टोली संयुक्त रूपमा परिचालन गरिएको छ।

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त टोली सुरुङभित्र करिब दुई सय मिटर प्रवेश गरेर सानो प्वाल बनाएर खोजी गरिरहेका छन्। सुरुङ भित्र बिहीबार मात्रै २ वटा शव फेला परेको थियो तर जीवितै मान्छे भएनभएको यकिन गर्न सकिएको छैन। ‘त्रिशूली थ्री ‘बी’मा ८९ जना सेना, तीन जना गैरसैनिक विज्ञ र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय, निवास पहिचान गरेर त्यहाँ पुग्न एक्साभेटर प्रयोग गरिरहेको छ। त्यस्तै भित्र जाने बाटो बनाउन थ्री ‘बिमा सुरुङ धेरै भएकाले पहिलो सुरुङबाट ४२६ मिटर सम्म प्रवेश गरेका भने लेदो पन्छाउन सानो एक्साभेटर प्रयोग भइरहे पनि भित्र मान्छे कति छन भन्ने यकिन छैन।

शुक्रबार त्रिशूली थ्री ‘ए’बाट दुई जनाको जीवितै उद्धार गर्न सक्नु ठुलो उपलब्धि भए पनि अन्य आयोजना भित्र जानकै लागि कठिन भइरहेको छ। अहिले नेपाली सेनाले सुरुङ उद्धारका लागि फास्ट ट्र्याकमा परिचालन भएका प्राविधिक महासेनानीसहितको टोली पनि रसुवा नै पठाएको छ।

सशस्त्र प्रहरी बलले पनि सेना संगै रसुवागढीमा २५, त्रिशूली थ्रि बी र त्रिशूली थ्रिएमा आफनो विषेश उद्धार टोली परिचालन गरेको छ। सरकारले अहिलेसम्म भोटेकोसी बाढीमा कति मानवीय क्षति भयो भन्ने यकिन तथ्यांक दिन सकेको छैन। जलविद्युत् आयोजनाहरूमा कति फसेका हुन् भन्ने पनि कुनै जानकारी छैन। उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले शुक्रबार दुई जनाको जीवितै उद्धार र आयोजनाको अन्तिम बिन्दुसम्म पुगेर फर्किएपछि भित्र अब कोही नभएको निष्कर्षसहित अर्को निर्णय नहुँदासम्म काम स्थगित गरेको छ। त्रिशूली थ्री ‘बी’, चिलिमे, रसुवागढी, माथिल्लो त्रिशूली–१ मा खोजी भइरहेको छ।

प्रकाशित: २० भाद्र २०८३ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App