राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै बुधबार राष्ट्रपति पौडेलले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत सुविधाभन्दा जनताको सेवलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक जिम्मेवारीलाई अधिकार नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे। जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
पौडेलले प्रशासकीय भवन आधुनिक हुँदैमा मात्र सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै प्रशासनिक कार्यशैली पनि प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताए। सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा, अभिलेख व्यवस्थापन र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
उनले प्रशासकीय भवनलाई नागरिकले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारका रूपमा व्याख्या गरे। भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने उनको भनाइ थियो।
यसैगरी, राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।
प्रकाशित: १८ कार्तिक २०८३ ११:३६ बुधबार





