३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

शून्य समयः बाढीपहिरोदेखि स्वास्थ्य, शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा आफ्ना धारण राख्दै सांसदहरूले वर्षायाम सुरु भएकाले बाढीपहिरो, डुबान रोकथाम गर्नुपर्ने, स्वास्थ्य शिक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।  

बैठकमा सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीनालाले घेरिएको हुनाले हरेक वर्ष सदरमुकाम डुबान भएर करोडौँ क्षति गरेकाले त्यसलाई समयमै रोकथामका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए।  

सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या र सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै राज्यले कमजोर र दलितपीडित नागरिकलाई सुरक्षा नदिएको बताइन्।  

सांसद रामविनोद यादवले धनुषा क्षेत्र नं २ मा कमला नदीको कटान र डुबानबाट पीडित हुँदै आएको, शिक्षा र स्वास्थ्यको कमी भएकोप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद रिगला यादवले सरकारले तयारीबिना सुकुम्बासी बस्ती उठाउने काम गरेकाप्रति ध्यानाकर्षण गराउँदै सुकुम्बासीलाई उचित बासको ग्यारेन्टी गर्न माग गरे।  

सांसद रिमा विश्वकर्माले सिन्धुलीले २२ वर्षीय श्रीकृष्ण विश्वकर्माको खुर्कोट इलाका प्रहरी हिरासतमा मृत्यु भएको घटनाको मंगलबार १८ दिन बितिसक्दा पनि न्याय नपाएको र यस्ता हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्या भन्न नमिल्नेप्रति सरकारको ध्यानाकर्षण गराइन्।  

सांसद रुपेस रञ्जितले भक्तपुरले खोप्व विश्वविद्यालयको निर्माण र वीर अस्पतालको निर्माणका प्रतीक्षामा बसेको र भक्तपुरमा मापदण्डविपरीत बनाएको इँटाभट्टाहरूलाई तत्काल बन्द गर्न उद्योग र वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए।  

 सांसद रुविना आचार्यले आगामी आर्थिक वर्षमा देशमा आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने र वर्षायामका कारण बाढीपहिरो, डुबानका कारण हुने खतराबाट बचाउन पहिला नै ध्यान दिनुपर्नेमा जोड दिइन्। सांसद रेखाकुमारी यादवले सुकुम्बासीहरूको बिनातयारी बस्ती उठाउने भन्दापनि राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्। सांसद विदुषी राणाले सरकारले उद्योग, उत्पादनलाई प्राथमिकतामा राख्नका लागि ढुवानीको उचित व्यवस्थापन गर्न सडक मार्गको राम्रो व्यवस्थापन गर्नुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराइन्।  

सांसद बिना गुरुङले पोखरास्थित फेवातालको संरक्षण गर्दै लालपुर्जा भएका व्यक्तिहरूलाई मुआब्जा दिन र वरपर वर्षौँदेखि माछा व्यवसाय गर्ने जलारी समुदायलाई उचित व्यवस्थापन गर्न माग गरिन्।  

प्रकाशित: २९ वैशाख २०८३ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App