१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

देउवाले किन भने 'म हिन्दु हुँ' ?

सक्रिय राजनीतिबाट अलग भएको आकलन गरिएका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूलाई हिन्दु धर्मको पक्षमा उभ्याएका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै देउवा सत्ता राजनीतिबाट पाखा लागेका थिए। उनले पुसमा भएको विशेष महाधिवेशनबाट पार्टीको सत्ता पनि गुमाए। यी दुवै घटनापछि निष्क्रिय देखिएका देउवाले फेरि आफूलाई सक्रिय राजनीतिमा उभ्याउने संकेत  देखाएका छन्।

पार्टी आधिकारिकता विवादलाई लिएर सर्वोच्च अदालतले सुनाएको फैसला पुनरवलोकनका लागि देउवा र उनी पक्षले दिएको निवेदनमा अदालतबाट निस्सा प्राप्त भएको छ। विशेष महाधिवेशनबाट पार्टी सत्ता गुमाएका देउवा साढे पाँच महिना विदेश बसेर बिहीबार स्वदेश फर्किएका थिए। पार्टी सत्ता गुमेपछि देउवासहितको पक्ष असन्तुष्ट छ। असन्तुष्ट पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अस्वीकार गर्दै आएको छ।

असन्तुष्ट पक्षले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गरेको छ। बिपी पुत्र शशांक कोइराला र नोना पुत्र शेखर कोइरालालाई मञ्चमा दायाँबायाँ राखेर सम्मेलनको उद्घाटन र समापन देउवाले गरेका थिए। यसबाट देउवा अझै सक्रिय राजनीति गर्न चाहन्छन् भन्ने देखिएको छ। राष्ट्रिय भेलाका नाममा सुरु भएको कार्यक्रमलाई बिचमै राष्ट्रिय सम्मेलनमा परिणत  गरिएको थियो।

देउवाले आइतबार सम्मेलन समापन गर्दै आफू हिन्दु हुँ भएको बताए। ‘म हिन्दु हुँ, आफूले मान्ने धर्मबारे बोल्न पाउनु मेरो अधिकार हो’ भन्दै देउवाले अरू धर्मप्रति पनि सम्मान रहेको बताए। उनले आफू हिन्दु धर्म संस्कारअनुसार नै बिहे, व्रतबन्ध, मन्दिरमा सामेल हुने गरेको बताए। ‘मैले हिन्दु धर्म मान्न पाउनुपर्छ, मानेको छु, अरूले पनि आफूले मानिआएको धर्म मान्न पाउनुपर्छ। नेपाललाई हिन्दु राष्ट्र बनाउने कि नबनाउने भन्ने विषय नेपाली जनताको हो,’ देउवाले भने।

राजावादी र कांग्रेसकै एक पक्षबाट नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग भइरहेका बेला देउवाको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अर्का नेता डा. शेखर कोइरालाले शुक्रबार सम्मेलन उद्घाटनमा कांग्रेसको समग्र एकतामा जोड दिँदै मुलुकका अन्य शक्तिहरूबिचको एकताको कुरा पनि उठाएका थिए। यसबाट कांग्रेस परम्परागत शक्तिहरूसँग सहकार्यको हात बढाउन तयार रहेका विश्लेषण गर्न थालिएको छ।

सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउनेसहितका पाँच वटा प्रस्ताव पास गरेको छ। यसअघिसम्म नेपाल धार्मिक स्वतन्त्रता भएको देश हो भन्दै आएका देउवा पक्षका नेताले सम्मेलनमार्फत धर्मबारे थप व्याख्या गरेका छन्।

पारित प्रस्तावमा भनिएको छ, ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै चलिआएका हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिबद्धता गरिन्छ।’

धर्मको विषयमा निर्णय सुनाउँदा मञ्चमा नेताद्वय प्रकाशशरण महत र विमलेन्द्र निधिबिच विवाद भएको थियो। देउवाले हस्तक्षेप गरी विवाद सुल्झाएका थिए। स्रोतका अनुसार महतले तयार गरेको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने वाक्य राखिएको थियो। तर उक्त वाक्यप्रति निधिले असहमति राखेका थिए। ‘धार्मिक स्वतन्त्रता’ मात्रै गर्नुपर्ने निधिको अडान थियो। यही विषयमा विवाद बढ्दा निर्णय लेखिएको कागज मञ्चमै तानातान भएको थियो।

सम्मेलनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयअनुसार १५औं महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ। यससम्बन्धमा निर्णयमा लेखिएको छ, ‘१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा १५औं महाधिवेशन सम्पन्न गरिनेछ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्छ।’

त्यस्तै सम्मेलनले अहिले देश अप्ठेरोमा परेको ठहर गर्दै राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्र सुदृढीकरणमा क्रियाशील रहने प्रतिबद्धता पास गरेको छ। ‘२०३३ सालमा महामानव बिपी कोइराला देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राखी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देश फर्कनुभएको थियो’, निर्णयमा लेखिएको छ, ‘आज पनि देश अप्ठेरो स्थितिमा छ। वर्तमान संविधानमा जनअपेक्षाबमोजिम आवश्यक संशोधन गर्न संविधानमा भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिइने छ।’

सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटेर परिमार्जनसहित पारित प्रस्तावहरूलाई लिपिबद्ध गर्ने जिम्मेवारी एनपी साउद संयोजक रहेको समितिलाई दिइएको छ। समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य छन्। समितिको सहयोगीका रुपमा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल छन्।  

प्रकाशित: १ भाद्र २०८३ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App