नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले कर्णालीका जनताले उपचार नपाइरहँदा सामान्य बिरामी भएका मन्त्रीलाई लाखौं खर्च गरेर काठमाडौं ल्याइएको भन्दै आलोचना गरेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने भन्दै प्रश्न गरेकी हुन्। उनले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेको टिप्पणी गरिन्।
‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। मन्त्रीलाई लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ,' उनले भनिन्, ‘मन्त्री काठमाडौं ल्याउन ३०/३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन।’
छाक टार्न कठिन भएका नागरिकलाई सरकारले एक सिलिन्डर ग्यास समेत दिन नसकेको आरोप लगाउँदै उनले राज्यको समानतामा प्रश्न उठाइन्।
‘यो कस्तो सुशासन हो? मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ’, उनले भनिन्, ‘मन्त्रीका लागि हेलिकप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो समानता राज्य? के यही हो जनताको सरकार?’
प्रकाशित: २ भाद्र २०८३ ११:५९ मंगलबार



-600x400.jpg)

