२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले विधान अनुसार वरिष्ठ नेताको भुमिका के हो ?

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ। ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) मा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरिएको उल्लेख छ। 

एमालेले पार्टीको विधानमा वरिष्ठ नेताको व्यवस्था थप गर्दै अध्यक्षपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिन पाउने व्यवस्था गरेको छ। 

त्यस्तै, वरिष्ठ नेताले अध्यक्षलाई सहयोग गर्ने, पार्टीलाई सही र समयोचित निर्णय गर्न योगदान गर्ने तथा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने व्यवस्था विधानमा थपिएको छ। केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यसमेत वरिष्ठ नेताले गर्नुपर्नेछ। 

भण्डारीले विगतमा पार्टीका विभिन्न तह हुँदै केन्द्रीय कमिटीको उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेको तथा प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र विभिन्न मन्त्रालयको मन्त्रीका रूपमा काम गरेको गरेकी थिइन्। 

भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय आगामी विधान महाधिवेशनबाट अनुमोदनका लागि प्रस्तुत गरिने एमालेले जनाएको छ। यसका लागि एमालेले विधानको धारा १०५ अन्तर्गतको बाधा अड्काउ फुकाउने अधिकार तथा दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर निर्णय गर्न पाउने विधानको अधिकार प्रयोग गरेको जनाएको छ।  

प्रकाशित: २० आश्विन २०८३ १६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App