नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले ऐतिहासिक शक्ति प्रदर्शन गर्ने बताएका छन्।
उनले उक्त दिन आयोजना हुने र्याली अभूतपूर्व र राजधानीले यसअघि कहिल्यै नदेखेको जस्तो विशाल हुने दाबी गरे।
सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको पक्षमा उर्लिएको जनलहरलाई प्रदर्शन गर्न उक्त र्याली आयोजना गर्न लागिएको बताए।
एमालेले अन्य पार्टी परित्याग गरेका नेता-कार्यकर्तालाई पार्टीमा फर्काउन र नयाँ प्रवेशीहरूलाई स्वागत गर्न सोमबारदेखि राष्ट्रिय रूपमा ‘घर फर्क अभियान’ सुरु गरेको हो।
यही अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको बढ्दो लोकप्रियता र सांगठनिक शक्तिलाई प्रमाणित गर्न विशाल र्याली आवश्यक रहेकोमा जोड दिए।
उनले भने, ‘हामी मंसिर २७ गते काठमाडौंमा एउटा विशाल र्यालीको आयोजना गर्दैछौँ। त्यो र्याली काठमाडौंले आजसम्म नदेखेको र्याली हुनेछ। एमालेको पक्षमा उर्लिएको जनलहर हामी त्यो दिन प्रदर्शन गरेर देखाउनेछौं।’
एमाले देशको सबैभन्दा ठूलो र लोकप्रिय शक्ति भएको जिकिर गर्दै जनतामा फैलाइएका भ्रमहरूलाई चिर्न र पार्टीको एजेन्डालाई स्पष्ट पार्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने ओलीको भनाइ थियो।
उनले थपे, ‘घर फर्क अभियान’ कसैलाई फकाएर वा लोभ देखाएर पार्टीमा ल्याउने अभियान होइन, यो देश बनाउने महान् अभियानमा सामेल हुन गरिएको आह्वान हो। एमालेको नीति र विचारबाट मात्रै देशको समृद्धि सम्भव छ भन्ने कुरा बुझेर जनता स्वतःस्फूर्त रूपमा पार्टीमा आउँदैछन् र यसको विशाल रूप हामी मंसिर २७ मा देखाउनेछौँ।’
प्रकाशित: २४ कार्तिक २०८२ १८:४३ सोमबार





