उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा बोल्दै मन्त्री साहले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकता रहेकाले सरकार त्यसप्रति सचेत रहेको बताए।
सरकारको भूमिका सहजीकरण, नियमन र नीति निर्माण गर्ने तथा निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नवप्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री साहले सरकार र निजी क्षेत्र मिलेर समस्या समाधान गर्नुपर्ने बताए।
उनले कानुन बाधक भए सुधार गर्ने, प्रक्रिया बाधक भए सरल बनाउने, समन्वयको कमी भए समन्वय र सहकार्य गर्ने तथा भ्रष्टाचार वा अनावश्यक हस्तक्षेपमा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता जनाए।
डिजिटल अर्थतन्त्र, ई–कमर्स, आधुनिक आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र निजी क्षेत्रको बदलिँदो भूमिकालाई सम्बोधन गर्ने गरी कानुन तथा प्रक्रियालाई सरल, पारदर्शी, प्रविधिमैत्री र लगानीमैत्री बनाइने मन्त्री साहले बताए।
औद्योगिक उत्पादकत्वमा असर परेकाले बिदा पुनरावलोकन गर्न माग बैठकमा उद्योगी व्यवसायीले सार्वजनिक तथा साप्ताहिक बिदाका कारण औद्योगिक उत्पादकत्वमा असर परेको भन्दै बिदासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न समितिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सार्वजनिक बिदाको सङ्ख्या तथा साताको दुई दिने बिदालाई औद्योगिक उत्पादनको प्रकृतिसँग तादात्म्य मिल्ने गरी पुनर्विचार गर्न आग्रह गरे।
मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनिलकुमार शाहले बैंक बिदा कटौती गर्न तथा साप्ताहिक बिदाका कारण उद्योग व्यवसायमा परेको असर सम्बोधन गर्न माग गरे। उनले उधारो कारोबारसम्बन्धी कानुन तत्काल ल्याउन तथा सीमामा हुने अनधिकृत व्यापार नियन्त्रण गर्न आग्रह गरे।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले साप्ताहिक बिदाका कारण उद्योगी व्यवसायी मारमा परेको बताए। शिक्षा, स्वास्थ्य तथा उद्योग व्यवसायमा साप्ताहिक बिदाले उत्पादकत्वमा असर पारेको उनको भनाइ थियो।
बैठकमा औद्योगिक ग्राम, दोहोरो कर, उद्योग तथा व्यवसाय दर्ता र नवीकरणका लागि एकद्वार प्रणाली, खुला सीमाबाट हुने चोरी पैठारी नियन्त्रण, सुक्खा बन्दरगाह तथा उद्योग सञ्चालनका लागि विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउनेलगायत विषय उठेका छन्।
प्रकाशित: १९ आश्विन २०८३ १७:०१ सोमबार





