२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

काम गर्ने तरिका बदल्छौं, कांग्रेस छाडेकालाई फर्काउँछौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले काम गर्ने तरिका बदल्दै कांग्रेस छाडेका समर्थक र शुभचिन्तकलाई पुनः पार्टीमा फर्काउने बताएका छन्। 

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ संस्कार र कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले महाधिवेशनमा व्यक्त विचारलाई समेटेर केन्द्रीय समितिको पहिलो बैठकबाट पार्टीको कार्ययोजना बनाइने बताए। 

‘हामीले काम गर्ने तरिका बदल्नेछौँ । काम गर्ने तरिका बदलेर सबैभन्दा पहिला हामीसँग रहेका साथीहरूको भरोसा अझै माथि उठाउनेछौँ,’ उनले भने, ‘वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभएका तर केही वर्षअघिदेखि हामीले गरेका काम चित्त नबुझाएर छोडेर जानुभएका लाखौँ मानिसलाई हामी फर्काउँछौँ।’ 

थापाले कांग्रेसको कार्यालय, घर र परिवारमा फर्किन सक्ने वातावरण बनाउने संकल्पसहित आफूहरूले यात्रा प्रारम्भ गरेको बताए। कांग्रेसको गौरवशाली इतिहास भए पनि त्यसैको भरमा राजनीति नगर्ने उनको भनाइ छ। 

‘हामी इतिहासको ब्याज खान आएका होइनौँ । इतिहासलाई रटेर पनि बस्दैनौँ । हामी नयाँ इतिहास आफैँ रच्छौँ,’ उनले भने। 

उनले युवा, किसान, उद्यमी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको भरोसा जित्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्दै किसानले आफ्नो विषय उठाउने पार्टीका रूपमा कांग्रेसलाई चिन्ने, उद्यमीले गुमेको अवसर पुनः प्राप्त गराउने पार्टीका रूपमा बुझ्नुपर्ने बताए। 

कांग्रेस सभापति थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनमा पार्टी दृढ रहने बताए। उनले पार्टीसँग आबद्ध कुनै व्यक्तिले गैरकानुनी काम गरे त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारे। 

‘कुनै व्यक्तिले गलत काम गर्छ, कुनै व्यक्तिले गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ । पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने। 

प्रकाशित: २४ आश्विन २०८३ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App