२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले आधुनिकीकरण र पश्चिमीकरणका नाममा मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन नहुने बताए।

उनले भने, “आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान र पुर्खाबाट प्राप्त संस्कार बिर्सन हुँदैन। ललितपुरको कला, संस्कृति, वास्तुकला, भूगोल र ऐतिहासिक संरचनाले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। पुर्खाहरूले जोगाएर राखेको सम्पदा र परम्पराका कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको हो। ”

उनले पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही ठाउँमा अनशन बसेको स्मरण गरे।

गृहमन्त्री गुरुङले नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनले परिवार र संस्कारले ज्येष्ठ नागरिक तथा अग्रजलाई सम्मान गर्न सिकाएको बताए। बाल्यकालमा घरमा नेवारी भाषा बोलेकाे सम्झिँदै उनले अहिले भाषा बोल्न बिर्सिए पनि आफ्नो सांस्कृतिक पहिचान र पारिवारिक संस्कारप्रति गर्व रहेको बताए। नेवार समुदायले कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा गरेको प्रयास प्रशंसनीय रहेको उनले बताए।

गृहमन्त्री गुरुङले नेपाली सांस्कृतिक अभ्यासलाई सबै जातजाति र समुदायले आआफ्नो ठाउँबाट संरक्षण गर्नुपर्ने बताए। उनले जतिसुकै आधुनिक वा पश्चिमी जीवनशैली अपनाए पनि आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कार बिर्सन नहुने बताए।

अग्रज पुस्ताले नयाँ पुस्तालाई संस्कार सिकाएजस्तै अहिलेको पुस्ताले पनि भावी पुस्तालाई केही न केही सांस्कृतिक विरासत हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।

तिहार र दीपावलीको परम्परागत उत्सव मनाउने वातावरण क्रमशः साँघुरिँदै गएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थाका कारण सांस्कृतिक गतिविधि सीमित हुन नहुने बताए।

तिहारका अवसरमा घरघरमा गएर देउसी–भैलो खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा कमजोर हुँदै गएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

उनले सुरक्षा प्रदान गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै चाैबीसै घण्टा सांस्कृतिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सक्ने निर्णय गरिएको स्पष्ट पारे।

उनले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै देश र समाजका लागि अझ राम्रो काम गर्न सक्ने अवसर तथा अग्रजहरूको आशीर्वाद प्राप्त होस् भनी कामनासमेत गरे।

प्रकाशित: २४ कार्तिक २०८३ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App